मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले आफ्नो जीवनको परवाह नगरी बिसौँ वर्षदेखिका बेथिति अन्त्यका लागि आफूले अभियान सञ्चालन गरेको बताएका छन्।
शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले बेथिति अन्त्यका लागि विगतका संघीयमन्त्री वा प्रदेशका मुख्यमन्त्रीहरूले पनि कुनै काम नगरेको आरोप लगाए। उनले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा भएका बेथिति अन्त्यका लागि अभियान सञ्चालन गर्दा विभिन्न ठाउँबाट भड्काउने प्रयास गरेको भन्दै आफूले आँट गरेर अगाडि बढेको दाबी गरे।
मधेसका केही स्थानमा एकैदिन भएको २१ वटा अस्पताल अनुगमनमा २० वटा बिनादर्ता सञ्चालन गरिएको पाइएकाले उक्त अस्पताल तत्काल बन्द गरिएको उनको भनाइ छ।
मुख्यमन्त्री सिंहले ‘भने चपुर, नवलपुर र हरिवनमा २१ वटा अस्पतालको अनुगमन गर्दा २० वटा बिनादर्ताको थियो जुन त्यही दिन बन्द गयौँ र एउटा मात्र सञ्चालन भयो। अब यो २० जना त मेरो पछाडि खनिएर लाग्छ। तर उनीहरूले जे जे भन्नु छ भनोस्’
उनले विगतका सरकारले पनि विभिन्न धम्कीका कारण काम गर्न नसकेको हुनसक्ने भन्दै आफूले बेथिति अन्त्यका लागि ज्यानको बाजी लगाएर भएपनि अभियान जारी राख्ने बताए।
उनले भने, ‘सार्वजनिक रुपमा काम गर्दै जाँदा प्रश्नको कुरै आउँदैन। यो सार्वजनिक जनहितको कुरा हो। यसमा धेरै प्रेसर आउँछ, यो नगरी दिनुहोस् त्यो नगरी दिनुस् भनेर तर यो बेथिति आज न भोलि कसैले त अगाडि बढ्नैपर्छ। हामीले आँट गरेर अगाडि बढेका छौँ। काम गर्दै जाँदा विभिन्न किसिमका तत्वहरू कुरा निकाल्छ। मलाई डिमोनलाइज्ड गर्न खोज्छ, यो बाटोबाट भट्काउन खोज्छ विभिन्न किसिमका थ्रेटहरू हुन्छ। तथापि त्यसलाई यसलाई छोड्यो भने भोलिका दिनमा अर्कै कुरा निस्किन्छ। त्यसैले यो निरन्तर जारी रहन्छ।’
मुख्यमन्त्री सिंहले मधेस प्रदेशका आठै वटा जिल्लामा नक्कली डाक्टरले मान्छेको ज्यानसँग प्रत्यक्ष खेलवाड गरेको भेटिएको बताए। बिना मापदण्ड खोलिएका अस्पतालहरूमा डाक्टरको एनएमसी नम्बर समेत नक्कली भेटिएको उनको भनाइ छ। उनले एम्बुलेन्स चालक तथा अनमी र अहेब पढेका व्यक्तिहरूले समेत अस्पताल सञ्चालन गरेको भेटिएको बताए।
उनले भने, ‘यस्तो सम्म भयो कि एम्बुलेन्सका चालकहरू मिलेर पनि अस्पताल खोलेका छन्। अनमि र अहेब पढेको छ जागिर कतै पाएन, दुई चार जना मिलेर अस्पताल खोलेका छन् दुई चारवटा कोठा भाडामा लिएर। खोज्दै जाँदा यस्तो पनि भेटियो कि डाक्टरको एनएमसी नम्बर राखेको हुन्छ तर त्यो फेक डाक्टर हुन्छ, अर्कैको एनएमसी नम्बर युज गरेको हुन्छ।’
मुख्यमन्त्री सिंहले एसइई नजिक आइसकेकाले त्यसमा भएका बेथिति अन्त्यका लागि आफूले अभियान सञ्चालन गरी रहेको बताए।
उनले मधेशका आठ वटै जिल्लाका शिक्षा अधिकारीलाई एसईई परीक्षामा कतै चिट भेटिए केन्द्राध्यक्षलाई निलम्बन गर्नेसम्मको तयारी गरेको बताए।
Shares

प्रतिक्रिया