मधेस


छोरीलाई पढाए बालविवाह रोक्न सकिन्छ : मुख्यमन्त्री सिंह

छोरीलाई पढाए बालविवाह रोक्न सकिन्छ : मुख्यमन्त्री सिंह

नेपालखबर
माघ ३०, २०८१ बुधबार १६:१७, जनकपुर

मधेस प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरिबीको रेखामुनि रहेका बहुसङ्ख्यक जनतामा छोरीको विवाह गरेर बोझ हटाउने मानसिकताका कारण बालविवाहले प्रश्रय पाइरहेको बताएका छन्।

आज जनकपुरधामस्थित मुख्यमन्त्री निवास पुगेका बालविवाहमुक्त नेपालका लागि काम गरिररहेका ‘जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल’, बेस नेपालका प्रतिनिधि र बालबालिकासँग मुख्यमन्त्री सिंहले शिक्षामा पहुँच र शिक्षा प्राप्तिबाट बालविवाह रोक्न सकिने धारणा राखे। उनले छोरीलाई शिक्षा दिएर बालविवाह रोकथान गर्न सकिने बताए।

बालिका शिक्षित हुँदा दाइजो बढी दिनुपर्ने भएकाले बालविवाह गर्नुपर्ने गलत भाष्य स्थापित नगर्न मुख्यमन्त्री सिंहले सबै अभिभावकसँग आग्रह गरे। गरिबीका कारण शिक्षामा बालिकाको सहभागिता कम भएको भन्दै उनले शिक्षा र चेतनाबाट मात्र बालविवाह उन्मूलन हुने प्रस्ट परे। उनले विपन्नतासँग लडिरहेका अभिभावकले विद्यालय शिक्षा पूरा नगर्दै छोरीको विवाह गर्ने विद्यमान मानसिकतालाई निरुत्साहित गर्न सरकारका साथै सरोकार भएका सङ्घसंस्थाले आवश्यक समन्वय गर्नुपर्नेमा जोड दिए।

मुख्यमन्त्री सिंहले पछिल्ला समयमा देखापरेका विकृति तथा विसङ्गति निर्मूल गरी छोरी शिक्षाका लागि अभिभावकमा संवेदनशीलता बढाउन बालिकाहरूले घरभित्र पनि असल मत निर्माणमा अग्रसरता लिनुपर्ने उल्लेख गरे।

उनले पछिल्लो समय सामुदायिक विद्यालयमा बालिकाको सङ्ख्यात्मक उपस्थिति उल्लेख्य रहेको, उच्चशिक्षा प्राप्त गरी चिकित्सा, इञ्जिनियरिङलगायत पेसामा महिलाले अब्बल प्रदर्शन गरिरहेको स्थितिले उत्साह सिर्जना गरिरहेको धारणा राखे।

शिक्षाका माध्यमबाट छोरीहरू विभिन्न सरकारी तथा गैरसरकारी निकायका उच्च पदमा पुगिसकेका बताउँदै मुख्यमन्त्री सिंहले समान अवसरमा सहभागिता गराई सबै क्षेत्रमा प्रतिनिधित्व सुनिश्चित गराउन बालिकालाई शिक्षामा पहुँच विस्तार गर्नुपर्नेमा जोड दिए। उनले उमेर नपुगी र शिक्षा प्राप्ति नसकिँदासम्म छोरीको विवाह नगर्न सचेतना जागरणमा दातृ निकाय, गैरसरकारी संस्थालगायत सरोकार भएका सबै थप सक्रिय हुनुपर्ने आवश्यकता औँल्याए।

मुख्यमन्त्री सिंहले मधेस प्रदेशमा सरकारी सेवातर्फ ५० प्रतिशत महिला आरक्षण रहेको जनाउँदै छोरीलाई शिक्षा आर्जन गरी प्रतिस्पर्धात्मक बाटोबाट अवसर प्राप्त गर्न प्रदेशमा सहज रहेको उल्लेख गरे। सो अवसरमा मुख्यमन्त्री सिंहले बालविवाहविरुद्धको प्रतिबद्धतापत्रमा समेत हस्ताक्षर गरे।

प्रतिबद्धतापत्रमा बालविवाह सामाजिक समस्या र कानुनी अपराध भएकाले हरतरहले बालविवाह समाप्त गर्ने उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad