सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख अर्थात् उपमेयर मीराकुमारी यादवले पदभार ग्रहण समारोहबाटै पक्राउ परेका वडा नम्बर १ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहको प्रकरणबारे अनभिज्ञता प्रकट गरेकी छन्।
यही मंसिर १६ मा सम्पन्न स्थानीय तहको उपनिर्वाचनबाट डाक्नेश्वरी नगरपालिका-१ को वडाध्यक्षमा विजयी साहलाई बिहीबार पदभार ग्रहण गरेलगत्तै प्रहरीले पक्राउ गरेको हो। उनलाई हत्या मुद्दामा पक्राउ गरिएको बताइएको छ।
यस विषयमा अहिले पत्रकार सम्मेलन गरेर मात्र विस्तृत जानकारी गराइने सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रमुख, एसपी एसपी ढकेन्द्र खतिवडाले बताएका छन्।
उपमेयर यादवले पनि साहको मुद्दाबारे आफूलाई जानकारी नभएको र बुझ्ने प्रयासमा रहेको बताइन्।
‘हिजो पदभार ग्रहण थियो उहाँको, पदभार ग्रहण समारोहमा म पनि थिएँ तर म फर्किसकेपछि प्रहरीले उहाँ (वडाध्यक्ष साह) लाई पक्राउ गरेर लगेछ’, उपमेयर यादवले शुक्रबार बिहान नेपालखबरसँग भनिन्, ‘म हिँडिसेकपछि सम्मान कार्यक्रम भइरहेको थियो, त्यही बेला उहाँलाई प्रहरीले पक्राउ गरेछ।’
उनले थपिन्, ‘बिहीबार वडा नम्बर १ को कविलासा मधुवनी स्कुलमा पदभार ग्रहण कार्यक्रम थियो, त्यो सकेर जनताका लागि सम्मान कार्यक्रम पनि थियो, कार्यक्रम सकेपछि हामी हिँड्यो, कार्यक्रम सकिनेत्तिकै प्रहरीले उहाँलाई पक्रेछ, मैले प्रत्यक्ष देख्न भने पाइनँ।’
किन पक्राउ गरेछ?
नेपालखबरको जिज्ञासामा उपमेयर यादवले भनिन्, ‘खोइ मलाई पनि थाहा छैन, म बुझ्ने प्रयासमा छु।’
भर्खरै सम्पन्न उपननिर्वाचनमा डाक्नेश्वरी नगरपालिका वडा नं १ मा जनता समाजवादी पार्टी, नेपालबाट उम्मेदवार बनेका धीरेन्द्रकुमार साह ६ सय ५२ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भुलियादेवी थरुनीले ५ सय ८७ मत प्राप्त गरेकी थिइन्।
Shares

प्रतिक्रिया