ad ad

मधेस


आक्रमण हुने डरले वडाध्यक्षले सरकारी भवनमा वडा कार्यालय सार्न मानेनन्

आक्रमण हुने डरले वडाध्यक्षले सरकारी भवनमा वडा कार्यालय सार्न मानेनन्

नेपालखबर
माघ २८, २०७९ शनिबार ७:१७, सर्लाही

सर्लाहीको गोडैता नगरपालिका–७ का वडाध्यक्षले आफ्नो ज्यान खतरामा भएको भन्दै सरकारी भवनमा कार्यालय सञ्चालन गर्न मानेका छैनन्। 

वडा कार्यालयका लागि सरकारी भवन बनिसक्दासमेत वडाध्यक्ष विनेशकुमार दासले वडा कार्यालय आफ्नो निजी घरमा सञ्चालन गर्न नछाडेपछि स्थानीयले विरोध गरेका छन्।

दुई दिनअघि स्थानीयले जिल्ला प्रशासन कार्यालय (मलंगवा) पुगेर वडा कार्यालय सरकारी भवनबाट सञ्चालन गरिनुपर्ने माग गर्दै ज्ञापनपत्रसमेत बुझाएका छन्। 

गोडैता नगरपालिकाका मेयर देवेन्द्रकुमार यादवले सरकारी भवनमा वडा कार्यालय सञ्चालन गर्न वडाध्यक्ष दासले नमानेको बताए।

‘मैले वडा कार्यालय आफ्नै भवनमा सञ्चालन गर्नूस् भन्दा पनि उहाँ (वडाध्यक्ष दास) ले मान्नुभएको छैन,’ मेयर यादवले नेपालखबरसँग भने, ‘ सरकारी भवन भित्री गाउँमा छ। त्यहाँ मेरा विरोधी धेरै छन्, मैले वडा कार्यालय त्यो एकान्त ठाउँमा सारेँ भनेँ मेरो ज्यानमाथि नै खतरा हुन्छ भन्ने जवाफ दासबाट आउने गरेको छ।’ 

स्थानीय जुगल दास, विनय झा र चम्पकको अखिलेश भन्ने व्यक्तिले आफूलाई मार्ने धम्की दिइरहेकाले वडा कार्यालय एकान्त ठाउँमा सञ्चालन गर्न नसकिने वडाध्यक्ष दासले बताउने गरेका छन्। 

वडाध्यक्ष दास लोसपाबाट विजयी भएका हुन्। उनलाई मार्ने धम्की दिने व्यक्तिहरु एमाले र कांग्रेसका कार्यकर्ता भएको मेयर यादवले बताए। 

‘जुगल दासले त केही दिनअघि घरमै गएर उहाँलाई कुटपिटसमेत गरेछन्,’ मेयर यादवले भने, ‘यस्तो अवस्थामा मैले पनि उहाँलाई वडा कार्यालय आफ्नै भवनमा सञ्चालन गर्नूस् भनेर दबाब दिन सकेको छैन।’ 

वडाध्यक्षले गोडैता बजारस्थित आफ्नै घरमा वडा कार्यालय सञ्चालन गरिरहेका छन्। अघिल्लो कार्यकालमा पनि दास नै त्यहाँको वडाध्यक्ष थिए। गएको वैशाखमा दोस्रो कार्यकालको लागि विजयी भएपछि पनि उनले वडा कार्यालय आफ्नै घरमा सञ्चालन गरिरहेका हुन्। 

वडा कार्यालय आफ्नै निजी घरमा सञ्चालन गरे पनि त्यसको भाडा भने वडाध्यक्ष दासले नलिएको दाबी मेयर यादवले गरे।

‘विगतमा हामीले चारवटा वडा कार्यालय भाडा तिरेर निजी घरमा चलाइका थियौँ। तर, यो कार्यकालमा तीनवटा वडा कार्यालय आफ्नै भवनमा चल्न थालिसकेका छन्,’ मेयर यादवले भने, ‘अब चौकीदार र कम्पाउन्ड वालको व्यवस्था गरेर ७ नम्बर वडा कार्यालय पनि आफ्नै भवनबाट सञ्चालन गर्ने व्यवस्था हामी मिलाउने छौँ।’  

स्थानीयले भने निजी स्वार्थका कारण वडाध्यक्ष दासले आफ्नो घरबाट वडा कार्यालय सार्न नमानेको बताएका छन्। 

‘गोडैता बजारमा उनको व्यापार छ। उनले आफ्नै घरमा हार्डवेयर र किराना पसल सञ्चालन गरेका छन्,’ एक स्थानीयले भने, ‘वडा कार्यालय गाउँमा सार्‍यो भने व्यापार चल्दैन भनेर उनले विभिन्न बाहना गरिरहेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .