ad ad

मधेस


संसदीय दलमा नेताहरूको दौडधुप, कसको सम्भावना बलियो?

संसदीय दलमा नेताहरूको दौडधुप, कसको सम्भावना बलियो?

जयन्त ठाकुर
मंसिर २७, २०७९ मंगलबार १४:८, जनकपुरधाम

निर्वाचन परिणाम आएसँगै केन्द्रदेखि प्रदेशसम्म दलहरू संसदीय दलको नेता छान्ने कसरतमा छन्। दलको नेता छानेपछि नयाँ सरकार बनाउने कसरत पनि अघि बढ्नेछ। 

संघ र अन्य प्रदेशमा जस्तै मधेशमा पनि संसदीय दलको नेता बन्ने दौडधुप तीव्र हुन थालेको छ। 

सरकारको नेतृत्व लिनेगरी पार्टीबाट संसदीय दलको नेता बन्न नेकपा एमाले, नेपाली कांग्रेस र जनमत पार्टीका नेताहरूले लविङ सुरु गरेका छन्। 

मधेश प्रदेशमा २३ सिट जितेर पहिलो बनेको एमाले, २२ सिटसहित दोस्रो बनेको नेपाली कांग्रेस, १६ सिट जितेर तेस्रो बनेको जसपा र १३ सिट जितेर चौथो बनेको जनमत पार्टीभित्र संसदीय दलको नेता बन्ने दौडधुप बढेको हो। 

एमाले संसदीय दलको नेता बन्न रामचन्द्र मण्डल र शारदा देवी थापाबीच प्रतिस्पर्धा छ। दुवै नेता आफ्नो पक्षमा माहोल बनाउन र नेतृत्व रिझाउने प्रयासमा छन्। 

मण्डलले तत्कालीन नेकपा विभाजित हुँदा एमाले रोजेका थिए। नेकपा विभाजनअघि उनी माओवादी केन्द्र खेमामा थिए।

एमाले रोजेकै कारण उनलाई माओवादी केन्द्रले कारबाही गरेको थियो। कारबाहीपछि उनले प्रदेशसभा सदस्य पदसमेत गुमाउनु पारेको थियो। 

उनी लगातार दोस्रो पटक मधेश प्रदेशको प्रदेशसभामा पुगेका हुन्। ‘पार्टी विभाजित हुँदा एमाले रोजेको, व्यक्तित्व र राजनीतिक लगानीलाई आधार मानेर नेतृत्व पंक्तिले आफूलाई नै संसदीय दलको नेता बन्न ग्रिन सिग्नल दिने विश्वास छ,’ मण्डलले नेपालखबरसँग भने। 

उता, शारदादेवी थापा पनि लगातार दोस्रो पटक मधेश प्रदेशको प्रदेशसभामा पुगेकी नेतृ हुन्।

नेपालखबरसँग कुरा गर्दै उनले एमालेमा लामो समयदेखिको योगदानलाई आधार मान्दा आफू संसदीय दलको नेतामा उपयुक्त रहेको दावी गरिन्।

संसदीय दलको नेता बन्न दुवै नेताहरुको आन्तरिक लविङ तीव्र छ। तर, एमाले स्रोत भने सचिव रघुवीर महासेठसँगको सम्बन्ध सुमधुर नभएकाले मण्डललाई दलको नेता बन्न असहज भएको बताउँछ।

‘संसदीय दलको नेतामा प्रवल सम्भावना रामचन्द्रजीको हो,’ एमालेका एक नेता भन्छन्, ‘तर, यो पटक थापालाई संसदीय दलको नेता बनाउने मुडमा महासेठ हुनुहुन्छ।’

उता, मधेश प्रदेशको दोस्रो ठूलो दल नेपाली कांग्रेसमा झनै धेरै आकांक्षीहरूको भीड छ। कयौं नेताहरूको दौडधुप भए पनि मधेश प्रदेशका सभापति कृष्ण यादव र पूर्वमन्त्री रामसरोज यादव बलियो दाबेदार रहेको कांग्रेस नेताहरु बताउँछन्। 

रामसरोज यादव कांग्रेस मधेश प्रदेशको निवर्तमान संसदीय दलका नेतासमेत हुन्। यी दुई नेताका साथै मधेश प्रदेशको पूर्व महिला बालबालिका युवा तथा खेलकुद मन्त्री समेत रहेका वीरेन्द्र सिंह र नेपाली कांग्रेस पर्साका सभापति रहेका जनार्दन क्षेत्री पनि संसदीय दलका नेताका आकांक्षी हुन्। उनीहरु चारजना नै संस्थापन पक्षका हुन्।

४ मध्ये कृष्ण र रामसरोजमध्ये १ जनालाई दलको नेता बनाउनेगरी छलफल अघि बढेको मधेश प्रदेशका कांग्रेस नेताहरू बताउँछन्।

पहिला पनि दलको नेता रहिसकेकाले फेरि पनि दलको नेताको आकाक्षी हुनु स्वभाविक रहेको रामसरोजको तर्क छ।

उनी दलको नेता भएर यसअघि झण्डै एकवर्ष जसपाका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हालिसकेका छन्।

उता, पार्टीको मधेश प्रदेश सभापति आफू रहेकाले आफ्नो दावी स्वतः हुने कृष्णको तर्क छ। कृष्णले नेपालखबरसँग भने, ‘यो प्रदेशको सभापतिको हैसियतले म दलको नेताको स्वाभाविक आकंक्षी हुँ। तर पनि संगठन भित्र छलफल गरेर सहमतिमै यस विषयमा निर्णय गर्नेछौं।’  

कांग्रेसभित्र मधेश प्रदेशमा संस्थापन पक्षकै बाहुल्यता छ। प्रत्यक्ष निर्वाचित १३ जना प्रदेशसभा सदस्यमध्ये ४ जना मात्रै संस्थापन इतर पक्षका छन्।

यता १६ सिटसहित मधेश प्रदेशको प्रदेशसभामा तेस्रो ठूलो शक्ति बनेको जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा मुख्ययमन्त्री लालबाबु राउत मात्रै एक्लो दाबेदार छन्।

१३ सिट सहित चौथो ठूलो शक्ति बनेको जनमत पार्टीमा भने सतिश सिंह र त्रिभुवन साहबीच संसदीय दलको नेता बन्नका लागि प्रतिस्पर्धा छ।

यी दुई नेतामध्ये सिंहको दाबेदारी मजवुत रहेको जनमतका एक नेता बताउँछन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को संसदीय दलको नेता जितेन्द्र सोनल रहने लगभग निश्चित छ। सोनल लोसपा मधेश प्रदेशको निवर्तमान संसदीय दलका नेता पनि हुन्।

उता, मधेशमा कमजोर मानिएको नेकपा माओवादी केन्द्रमासमेत प्रदेश गृहमन्त्री भरत साह दलको नेता बन्ने माओवादी केन्द्रका एक नेता दाबी गर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .