सर्लाहीको हरिवनमा घारेको मह काढ्ने क्रममा छतबाट लडेर एक युवकको मृत्यु भएको छ।
गएराति हरिवन ८ स्थित इन्दु शंकर चिनी उद्योग परिसरमा घारेको मह काढ्ने क्रममा लडेर हरिवनकै वडा नम्बर ११ का करिब ४० वर्षीय झनक कार्कीको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय (हरिवन) का प्रहरी निरीक्षक मुकेश ताम्राकारका अनुसार कार्की राति करिब १० बजे मह काढ्न घारेको गोलामा पुगेका थिए। मह काढ्ने क्रममा उनलाई घारेले टोक्न थालेपछि उनी करिब ५० फिट माथिबाट तल खसेका थिए।
गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि तत्कालै हरिवनस्थित नमुना अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि भरतपुर लैजाने क्रममा निजगढ पुग्दा उनको मृत्यु भएको इन्सपेक्टर ताम्राकारले जानकारी दिए।
कार्की इन्दु शंकर चिनी उद्योगका कर्मचारीसमेत हुन्। केही वर्षदेखि उनी उद्योगको सुरक्षा गार्ड थिए। कार्कीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल (मलंगवा) लगिएको छ।
Shares
प्रतिक्रिया