ad ad

मधेस


बीपीसँगै स्वदेश फर्किए, घरलाई वृद्धाश्रम बनाए

२५ वर्षदेखि वृद्धवृद्धाको सेवामा बाउ–छोरी
बीपीसँगै स्वदेश फर्किए, घरलाई वृद्धाश्रम बनाए

वासुदेव शरण कोइराला र उनले स्थापना गरेको वृद्ध सेवाश्रम। तस्बिर : जनार्दन पोखरेल/नेपालखबर


जनार्दन पोखरेल
साउन २०, २०७९ शुक्रबार ९:१५, सर्लाही

साउन ११ गते सर्लाहीको लालबन्दी–२ स्थित पद्म भुवनेश्वरी नमुना वृद्ध सेवाश्रममा पुग्दा साँझको ५ बज्नै लागेको थियो। कम्पाउन्डभित्रको खुला ठाउँमा खाना खाने तयारी हुँदै थियो। चौरमा टेबुलसँगै मिलाएर राखिएका बेन्च र कुर्सी केही बेरमै भरिए। 

जीवनको उत्तरार्द्धमा पुगेका ५० जनाभन्दा धेरै वृद्धवृद्धा खानाको प्रतीक्षा गर्दै थिए। उनीहरूकै समूहमा साँझको खाना खाने तयारीमा थिए– वृद्ध सेवाश्रमका संस्थापक अध्यक्ष वासुदेव शरण कोइराला र उनकी पत्नी मञ्जु। 

पद्म भुवनेश्वरी वृद्ध सेवाश्रमका आश्रितहरू खाना खाँदै।

धन–सम्पत्ति केही नभएका, आफन्त गुमाएका, सन्तान नभएका, बुढेसकालमा सन्तानले बेवास्ता गरेपछि सडकमा पुगेका, पति–पत्नीको निधनपछि एकल भएकाहरूको सामूहिक बसोबास छ– पद्म भुवनेश्वरी वृद्ध सेवाश्रममा।

निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध हतियार उठाएका बीपी कोइराला ०३३ सालमा राजासँग मेलमिलापको नीति लिएर स्वदेश फर्किए।

त्यतिबेला बीपीसँगै बनारसबाट केबी गुरुङ, वासुदेव शरण कोइरालाहरू पनि नेपाल आए। जन्मिएको डेढ महिनामै बुवा गुमाएका वासुदेव शरण ‘अराष्ट्रिय तत्व’को आरोपमा जेल परेकै बेला आमा बितिन्। उनले आमाको काजकिरियासमेत गर्न पाएनन्। 

सानैदेखि बुढापाकाहरूसँग उनको संगत भयो। उनीहरूको दुःख, पीडा नजिकैबाट देखे। त्यसले पनि उनमा असहाय, दुःखी–पीडित वृद्धवृद्धाका लागि केही गरौँ भन्ने भावना विकास भयो। सक्रिय राजनीतिमा रहँदा संयुक्त राष्ट्रसंघले वृद्ध वर्षको एउटा कार्यक्रममा उनी पनि सहभागी भएका थिए। 

संयुक्त राष्ट्रसंघले १ अक्टोबरलाई वृद्ध वर्षका रूपमा मनाउँछ। यसले पनि उनमा ज्येष्ठ नागरिकप्रति चासो बढ्यो। वृद्धवृद्धाको सेवा गर्ने उद्देश्यले  ०५५ सालमा उनले वृद्ध सेवाश्रम स्थापना गरे। 

आफू बसिरहेको दुईतले पक्की घर र सोही घर रहेको ८ कठ्ठा जग्गा संस्थालाई दिएर २५ वर्षअघि उनले आफ्ना आमा–बुवा (पद्म र भुवनेश्वरी) को नाममा पद्म भुवनेश्वरी वृद्ध सेवाश्रम स्थापना गरेका हुन्। 

तीन कार्यकाल जिल्ला सभापति भएर सर्लाहीमा नेपाली कांग्रेसको नेतृत्व गरेका कोइरालाले ७० वर्ष सक्रिय राजनीतिमा बिताए। कांग्रेसको भ्रातृ संस्था नेपाल किसान संघको केन्द्रीय अध्यक्ष भए। कांग्रेसको केन्द्रीय स्तरका विभिन्न विभागीय समितिमा रहेर काम गरे।

२००८ सालमा बीपी कोइराला गृहमन्त्री भएका बेला उनले कांग्रेसको पूर्णकालीन सदस्य बन्ने निर्णय गरेका थिए। उनले बीपी र गिरिजाप्रसाद कोइरालाहरूसँग पनि संगत गरे। 

वि.सं. २००४ मा तीनधारा पाठशालाका विद्यार्थीले सुरु गरेको जयतु संस्कृतम् आन्दोलनमा संलग्न कोइराला हाल वृद्ध सेवाश्रमका संरक्षक छन्। अध्यक्षको जिम्मेवारी छोरी भवानी कोइरालालाई दिएका छन्। 

९० वर्षको उमेरमा पनि उनी संस्था सञ्चालनको विषयमा चिन्तन–मनन गर्छन्। दिनभर आफ्नै उमेरका वृद्धवृद्धासँग गफिन्छन्। जीवनका भोगाइ सुन्छन्, सुनाउँछन्। उनीहरूसँगै बिहान– बेलुकाको खाना खान्छन्। असहाय वृद्धवृद्धाको आँसु पुछ्ने प्रयास गर्छन्। 

‘सर्व धर्म, सम भाव’ उनको सिद्धान्त हो। उनको यो अभियानमा २४ वर्षदेखि साथ दिइरहेकी छन्– छोरी भवानी कोइरालाले।  

खाना वितरण गर्दै अध्यक्ष भवानी काेइराला

‘बुवाले ०५५ सालमा यो आश्रम स्थापना गर्नुभयो। एक वर्षपछि म यहाँ जोडिन आइपुगेँ’, अध्यक्ष कोइरालाले नेपालखबरसँग भनिन्, ‘मैले मेरो जीवन यहीँ समर्पित गर्ने निर्णय गरेकी छु। अहिले कतै गएर एक दिन बिताउनुपर्यो भने पनि मलाई आतेस लाग्छ। यहाँ बस्ने आमा–बुवाको औषधि, उपचार, खानपिन के भयो होला, कसैलाई गाह्रोसारो पो भइरहेको छ कि भन्ने हुन्छ। उहाँहरूकै मायाले सताउँछ। बाहिर गएर बस्नै सक्दिनँ।’

एकै हातले ६५ जनालाई दागबत्ती
यो २५ वर्षमा आश्रममा आश्रित ६५ जनाको मृत्यु भइसकेको छ। आश्रममा एकै महिना ९ जनालेसमेत ज्यान गुमाएको तथ्यांक छ। ती सबैको दाहसंस्कार भवानीले नै गरेकी हुन। 

‘यहाँ ज्यान गुमाउने ६५ जना आमा–बुवालाई उहाँहरूको छोराछोरीजस्तै बनेर मैले नै दागबत्ती दिएँ’, उनले भनिन्,  ‘यस बीचमा हामीले ७० जनाभन्दा धेरै वृद्धवृद्धालाई आफन्तको जिम्मा लगायौँ। अहिले पनि सेवाश्रममा ५० जनाजति आमा–बुवा हुनुहुन्छ। दुःखमा परेकाहरूको सेवा गर्दा जुन आनन्द प्राप्त हुन्छ, त्यति आनन्द अन्य कुनै पनि कामबाट प्राप्त हुँदैन।’

संस्थामा हाल ३२ जना महिला, १७ जना पुरुष र दुई जना बालबालिका छन्। जाँगर र सीप भएका वृद्ध आमाहरू बत्ती कातेर पनि दिन बिताउँछन्। कतिपयले भान्साको काममा पनि सघाउँछन्। अध्यक्ष भवानी हरदम उनीहरूलाई हाँसीखुसी राख्ने प्रयास गर्छिन्। उनीहरूको खानपिन, औषधि उपचार, सरसफाइमा ध्यान दिन्छिन्। 

संस्था व्यवस्थित रूपमा सञ्चालन भइरहेको छ। त्यही भएर सरकारले पद्म भुवनेश्वरी वृद्ध सेवाश्रमलाई विगतमा मध्यमाञ्चल क्षेत्रकै नमुना वृद्ध सेवाश्रम भनेर पनि घोषणा गर्यो। 

गेटसहितको कम्पाउन्ड वालभित्र वृद्धाश्रम छ। अफिस, भान्सा र अन्य सरसफाइको काममा दैनिक ६ जना खटिन्छन्। परिसरमा चौतारो र मन्दिरहरू छन्। तीनवटा भवनमध्ये दुईवटामा महिला र एउटामा पुरुष सुत्ने/बस्ने गर्छन्। गत आर्थिक वर्षमा मधेस प्रदेश सरकारले अनुदान दिएको ५० लाख रुपैयाँमा आश्रम परिसरभित्र १७ कोठे सुविधायुक्त नयाँ भवन निर्माण भइरहेको छ।

वृद्ध सेवाश्रमका लागि बन्दै गरेको भवन।

आश्रममा भजन, किर्तन गर्ने, टीभी हेर्ने, आराम गर्ने छुट्टाछुट्टै कोठा छन्। भान्साघर छुट्टै छ। सुत्नका लागि एउटा कोठामा दुईदेखि तीनवटासम्म बेड छन्। आश्रम परिसरमै गाईगोठ पनि छ। जहाँ तीनवटा गाई छन्। तीनवटै गाई ब्याउने छन्। अहिले आश्रितलाई दूध, दही किनेर ख्वाउने गरिएको अध्यक्ष कोइरालाले जानकारी दिइन्। 

आश्रममा हाल सर्लाहीसहित महोत्तरी, रौतहट, गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लाबाट शरण खोज्दै आएका ५० जना वृद्धवृद्धा छन्। आश्रितमध्ये केहीमा मानसिक समस्या पनि छ। मानसिक समस्या भएकाहरू आश्रमभित्र आफ्नै सुरमा देखिन्छन्। मानसिक समस्या भएपछि सडकमा पुगेका उनीहरू विभिन्न माध्यमबाट आश्रममा आइपुगेका हुन्। आश्रममा उनीहरूको पनि अरूसरह भरणपोषण, औषधोपचार र संरक्षण भइरहेको छ।

२१ वर्षदेखि आश्रममा
गोरखाकी राधा गौतम ९० वर्षकी भइन्। उनी २१ वर्षदेखि आश्रममा बसिरहेकी छन्। आश्रमको सबैभन्दा पुरानो सदस्य उनै हुन्। यो उमेरमा पनि उनको स्वास्थ्य र स्मरण शक्ति राम्रो छ।

 ‘गोरखाको चौतारा मञ्जान भन्ने ठाउँमा हाम्रो घर थियो। त्यो घरमा अहिले मेरा आफन्त कोही छैनन्। कोही बिते, कोही बेपत्ता छन् बाबु,’ नेपालखबरकर्मीसँग उनले भनिन्। 

गाउँमै पति बितेपछि उनी काठमाडौं गइन्। राप्रपा अध्यक्ष कमल थापाकी बहिनी रितु थापाको घरमा १५ वर्ष भात पकाउने काम गरिन्। तर, उनले बुढेसकालमा त्यहाँ आश्रय पाइनन्। १५ वर्षसम्म सेवा गरेको घर छाडेर उनी ०५८ सालमा त्यहाँबाट हिँडिन्। विभिन्न माध्यमबाट आश्रममा आइपुगिन्।

उनको कोखबाट तीनजना छोराछोरीको जन्म भयो। तर, ९–१० वर्षको उमेरमा उनीहरू काठमाडौंबाटै ‘बेपत्ता’ भएको उनी बताउँछिन्। आफ्ना सन्तान कहाँ पुगे, कस्तो अवस्थामा छन्, उनलाई थाहा छैन। अध्यक्ष भवानी कोइरालाकै पहलमा उनले चार वर्षअघि सर्लाहीबाट नागरिकता लिइन्। अहिले महिनैपिच्छे वृद्ध भत्ता आउँछ। त्यो भत्ता उनका लागि बुढेसकालको अर्को सहारा बनेको छ। 
सर्लाही अत्रौलीका रामबहादुर स्याङतान यहाँ बस्न थालेको १५ महिना भयो।

‘छोराछोरी भएनन्। पाँच वर्षअघि श्रीमतीको पनि मृत्यु भयो,’ ७० वर्ष पुग्नै लागेका स्याङतानले जीवनको दुःख बिसाउँदै भने, ‘पत्नीको मृत्युपछि झन् एक्लो भएँ, कतै जाउँ भने आफन्त कोही थिएनन्। ऐलानी जमिनमा बनाएको झुपडीमा एक्लै बस्थेँ। बनिबुतो गरेर छाक टार्थें। वडाध्यक्षले ‘तपाईं एक्लो मान्छे के दुःख गर्नुहुन्छ’ भनेर यहाँ ल्याएर राखिदिनुभयो। अहिले निकै राम्रो छ।’ 

उनी गत स्थानीय चुनावमा भोट दिन गाउँ गएका थिए। भोट दिएर उनी सोहिदिन आश्रम फर्किए। अहिले उनलाई आश्रम नै प्यारो लाग्न थालेको छ। आश्रममा बस्ने आफूजस्तै दिनदुःखीहरू अहिले उनका आफन्त भएका छन्। ‘यहाँ एक्लो महसुस हुँदैन। आफूजस्तै दुःख पाएकाहरूसँग दुःखसुखका गफ गर्न पाइन्छ, दिन बितेको पत्तो हुँदैन’, स्याङतानले भने। 

आउने फागुनमा उनी ७० वर्ष पुग्दै छन्। ७० वर्ष पुगेपछि सरकारले दिने सामाजिक सुरक्षा भत्ता पाइने आशमा छन्।  ‘भत्ता पाउन थालेपछि आफूलाई मन परेको लाउन खान पाइन्छ’, खुसी हुँदै उनले भने। 

आश्रममा एकजना यस्ता बिरामी (पुरुष) छन्, उनी चौबीसैघण्टा एउटा पोको काखमा च्यापेर बस्छन्। थोत्रा कपडाले भरिएको त्यो पोको काखमा राख्न नपाउँदा उनी छटपटाउँछन्। केही वर्षअघि उनलाई सडकबाट पोकोसँगै उठाएर आश्रममा ल्याइएको थियो। उनीजस्तै आश्रमा कतिपय यस्ता आश्रित छन्, जसको मानसिक अवस्था ठीक छैन। उनीहरू आफ्नै सुरमा विभिन्न क्रियाकलाप गरिरहेका हुन्छन्। 

केही वर्षअघि आश्रममा आइपुगेका सर्लाही राजघाटका हर्कबहादुर हायू एकछिन पनि खालीहात बस्दैनन्। गाईलाई खोले–पानी गर्नेदेखि आश्रमभित्र सरसफाइमा उनी ध्यान दिन्छन्। उमेरमा आफ्नो घरमा गरेको जस्तै मिहिनेत उनी अहिले आश्रममा गरिरहेका छन्। 

सर्लाही हरिवनकी ८९ वर्षीया देवका पौडेल घरमा पति भए पनि १६ महिनादेखि आश्रममा बसिरहेकी छन्। उनका छोरा भएनन्। भएकी एउटी छोरी ओखलढुंगामा छिन्।

‘मेरा पति र सौतापट्टिका छोराहरू छन्। बुढा र छोराहरूले राम्रो नगरेपछि म १६ महिनादेखि आश्रममा बस्दै आएकी छु’, उनले भनिन्, ‘अहिले यही आश्रम मलाई आफ्नै घर जस्तो लाग्न थालेको छ।’ 

सर्लाही लाबन्दीकी कालिकादेवी ७१ वर्षकी भइन्। उनका पति छैनन्। तीन भाइ छोरा हुँदाहुँदै उनी एक साताअघि मात्रै आश्रममा आइपुगेकी छन्। ‘दुई भाइ छोरा काठमाडौंमा जागिरे छन्, एउटा जनकपुरमा बस्छ,’ उनले भनिन्,  ‘छोरा बुहारीले राम्रो नगरेपछि म पनि यहाँ आएकी हुँ।’ मधेस प्रदेशकी सांसद बेची लुंगेलीको सिफारिसमा उनले आश्रममा शरण पाएकी छन्।

‘देवघाट र पशुपतिमा प्राण जाओस्’ 
आश्रममा दुई जना बालबालिका छन्। सडकमै जन्मिएका उनीहरू पनि आमासहित आश्रममा आइपुगेका छन्। कतिपय असहाय गृह मन्त्रालय, सीडीओ र जनप्रतिनिधिहरूको सिफारिसमा पनि आश्रममा आइपुगेका छन्। 

‘आश्रममा केही दिनअघि मात्रै दुई जना आमाहरू बित्नुभयो। उहाँहरू बितेको केही दिनमै थप दुई जना आमा आश्रममा आइपुग्नुभएको छ’, अध्यक्ष कोइरालाले भनिन्,  ‘यहाँ आइपुगेका कतिपयलाई पछि आफन्तले आएर पनि लैजाने गरेका छन्। हामीले अहिलेसम्म ७० जना भन्दा धेरैलाई आफन्तको जिम्मा लगाएका छौँ।’

आश्रममा केही दिन बसेपछि कतिपय स्वेच्छाले त्यहाँबाट निस्केर जान्छन्। त्यसरी गएका कतिपय पुनः फर्किएर आश्रममै आइपुगेका घटना पनि छन्। 

आश्रममा बसेका कतिपय छोराबुहारीको इज्जत जान्छ भनेर पनि आफ्नो वास्तविक परिचय खुलाउन चाहँदैनन्। कतिपय आफन्त लिन आउँदा लुकेर बस्छन्। ‘आफन्त भएका कतिपयलाई हामीले सम्झाईबुझाई गरेर पनि घर पठाएका छौँ’, कोइरालाले भनिन्।

आश्रममा बस्दै आएका कतिपय आश्रित आफ्नो प्राण पशुपति वा देवघाटमा जाओस् भन्ने इच्छा व्यक्त गर्छन्। आफ्नो दाहसंस्कार पवित्र स्थलमा लगेर गरिदिन आग्रह गर्नेको इच्छा संस्थाले पूरा गरिरहेको पनि छ। 

‘कतिपयले ‘मर्ने बेलामा मलाई पशुपति अथवा देवघाट लगिदिनूस् है भन्ने आग्रह गर्नुहुन्छ’, कोइरालले भनिन्,  ‘त्यसरी आग्रह गर्नेलाई अन्तिम अवस्थामा पशुपति अथवा देवघाटमा लगेर पनि राख्ने गरेका छौँ। केही दिनअघि मात्रै मैले एकजना आमालाई पशुपतिमा दागबत्ती दिएर आएँ।’

अक्षयकोषमा १५ लाख 
अध्यक्ष कोइरालाका अनुसार आश्रमको नियमति आम्दानीको स्रोत छैन। वर्षमा २५ लाख जति खर्च हुन्छ। कोरोना महामारीका बेला आश्रममा आर्थिक संकटसमेत भयो। अहिले आश्रमको अक्षयकोषमा १५ लाख रुपैयाँ जम्मा भएको छ। स्थानीय तह, विभिन्न सरकारी निकायले दिने अनुदान र मनकारी दाताहरूले बेलाबेला गर्ने सहयोगले आश्रम चलेको छ।

अचेल आश्रमलाई बुझेकाहरूले आफ्नो जन्मदिन र आफन्तको तिथिश्राद्ध आश्रममा आएर मनाउँछन्। संस्थामा आएर आश्रितलाई खानाको प्रबन्ध गरिदिन्छन्। त्यसले पनि संस्था सञ्चालनमा सहयोग पुगेको छ। 

विगतमा आश्रितलाई दिनको दुईपटक मात्रै खाना दिइन्थ्यो। अहिले भने चारपटक खाने व्यवस्था गरिएको छ। 

‘बिहान ओछ्यानमै चिया बिस्कुट पुग्छ। ९ बजे खाना तयार हुन्छ। खानामा दूध या दही अनिवार्य गरेका छौँ,’ अध्यक्ष कोइरालाले भनिन्, ‘दिउँसो २ बजे चिया, खाजा र फलफूल हुन्छ। साँझ घाम डुब्नुअघि नै बेलुकाको खाना खाने चलन छ। खानामा रोटी अथवा भात हुन्छ। व्यक्तिको इच्छाअनुसार खाना दिने गरेका छौँ।’

कोरोना महामारी सुरु हुनुभन्दा अघिसम्म आश्रममा साताको एकपटक वृद्धवृद्धाको स्वास्थ्य जाँच गर्ने व्यवस्था गरिएको थियो। अहिले नियमित स्वास्थ्य जाँचको क्रम टुटे पनि कोही बिरामी भए तुरुन्तै अस्पताल लाने गरिएको अध्यक्ष कोइरालाले बताइन्। आश्रममा दीर्घरोगी पनि छन्। उनीहरूलाई नियमित औषधि उपचारको व्यवस्थासमेत संस्थाले गरिरहेको छ। 

संस्थालाई मामाघर–माइतीघर बनाउने इच्छा
संस्थाको मुख्य उद्देश्य दुःख पाएका, कोही नभएर अलपत्र परेका वृद्धवृद्धाको संरक्षण र भरणपोषण गर्नु भएको आश्रममका संस्थापक अध्यक्ष वासुदेव शरण कोइराला बताउँछन्। 

‘मान्छे जन्मिएपछि उसले राष्ट्रका लागि केही न केही काम गरेको हुन्छ। कसैले कर्मचारी भएर, कसैले किसान भएर, कसैले राजनीतिज्ञ भएर, कसैले पत्रकार भएर राष्ट्रको सेवा गर्छन्’, कोइरालाले भने,  ‘कोदालो खन्ने, खोला किनारमा बसेर गिट्टी फुटाउने मजदुरले पनि राष्ट्रकै सेवा गरेको हुन्छ। श्रम गर्न अल्छी मान्नेले पनि सन्तान जन्माइदिएर देशका लागि योगदान गर्छन्। उनीहरूले मर्ने बेलामा चिन्ता र कुण्ठारहित ढंगले मर्न पाउनुपर्छ भनेर हामीले यो अभियान सुरु गरेका हौँ।’

सुरुमा अनाथ वृद्धवृद्धालाई मात्रै राख्ने भनेर आश्रम सञ्चालन गरिएको भए पनि पछि अन्य उमेर समूहका अनाथलाई पनि राख्नुपर्ने बाध्यता सिर्जना भएको उनले सुनाए। 

‘अहिले यहाँ अनाथ बालबालिकासँगै उनीहरूका आमा पनि छन्। बुवाको पत्तो नभएका त्यस्ता बालबालिकाहरूलाई अब हामीले पठनपाठनको व्यवस्था गर्नुपर्ने दायित्व थपिएको छ’, कोइरालाले भने, ‘पछि उनीहरूका लागि यो मामा घर, माइतीघर बन्न सकोस्। उनीहरु जहाँ पुगे पनि पछि सम्झिएर हाम्रो मामाघर–माइतीघर भन्दै यहाँ आउन सकुन्।’ 

उनी आश्रमलाई कम्युनिस्टहरू चलाउने ‘कम्युन’ को संज्ञा दिन्छन्। ‘पहिला कम्युनिस्टहरूले यस्ता संस्था सञ्चालन गर्थे। तर, अहिले त न कम्युनिस्ट कम्युनिस्टजस्ता रहे, न त कांग्रेस नै कांग्रसजस्ता देखिन्छन्।’ 

७० वर्षसम्म कांग्रेसको सक्रिय राजनीति गरेका कोइराला देशमा व्यवस्था परिवर्तन भए पनि गरिब निमुखाहरूको अवस्था परिवर्तन हुन नसकेकोमा खिन्न छन्। 

‘बाउले अंश नदिँदा छोराले मुद्दा लडेर अंश लिन सक्छ। तर छोराछोरीले पालेनन् भनेर बुवाआमाले मुद्दा लड्ने कुनै ठाउँ छैन। उनीहरु शरण खोज्दै वृद्ध सेवाश्रममा पुग्नुपर्छे बाध्यता छ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .