महोत्तरीको बर्दिबासमा अवस्थित एक भवनमा सोमबार दिउँसो आगलागी हुँदा झण्डै एक करोड रुपैयाँ बराबरको क्षति भएको छ।
बर्दिबास बजारमा अवस्थित सिद्धार्थ बैंकको शाखा कार्यालय रहेको भवनमा आगलागी भएको हो।
तीनतले भवनको सबैभन्दा माथिल्लो तलामा सञ्चालित ‘३६५ फिटनेस जीम सेन्टर’ मा आगलागी हुँदा ९० लाख रुपैयाँ भन्दा धेरैको क्षति भएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी रवि रावलले जानकारी दिए।
‘समयमै आगलागी नियन्त्रणमा लिएका कारण सिद्धार्थ बैँकमा भने कुनै क्षति हुन पाएन,’ रावलले भने।
स्थानीय महमत थारुको तीनतले भवनको माथिल्लो तला भाडामा लिएर स्थानीय अभिषेक झाले जीमखाना सञ्चालन गर्दै आएका थिए। जिमखानामा विद्युत् सर्ट हुँदा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
भवनको दोस्रो तलामा सिद्धार्थ बैंक र पहिलो तलामा फेन्सी पसलहरु सञ्चालनमा थिए। सिद्धार्थ बैंक रहेको भवनसँगै जोडिएका दायाँबायाँका अन्य दुई भवनमा नेपाल एसबीआई बैंक र कामना सेवा विकास बैंक सञ्चालनमा थिए।
ठूलो आगलागी भएपनि समयमै नियन्त्रणमा लिन सकेकाले तीनवटै बैंक भने सुरक्षित भएका डीएसपी रावलले बताए।
बर्दिबास र गौशाला नगरपालिका तथा नेपाली सेनाको बाहिनीका गरी तीनवटा बारुणयन्त्रको सहायतामा एक घण्टापछि आगलागी नियन्त्रणमा लिइएको थियो।
Shares

प्रतिक्रिया