ad ad

मधेस


कुटिएपछि कार्यालय आउनै छाडे बटेश्वरका प्रमुख प्रशासकीय अधिकृत

​ बर्दिबासबाटै अघोषित कार्यालय सञ्चालन
कुटिएपछि कार्यालय आउनै छाडे बटेश्वरका प्रमुख प्रशासकीय अधिकृत

शैलेन्द्र महतो
साउन १३, २०७९ शुक्रबार १७:२७, जनकपुरधाम

प्रमुख प्रशासकीय अधिकृत कुटिएपछि धनुषाको बटेश्वर गाउँपालिका कार्यालयको अवस्था अस्तव्यस्त बनेको छ।

गालीगलौज गरेको आरोपमा कार्यालयकै कर्मचारीहरूबाट कुटिएपछि प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी १५ दिनदेखि कार्यालय आएका छैनन्।

निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारीसमेत कसैलाई नतोक्दा कार्यालयको नियमित कार्यसम्पादन प्रभावित बनेको छ।

गत असार २९ गते कार्यालयमा गालीगलौज गरेको भन्दै करारका केही कर्मचारीले प्रशासकीय अधिकृत जोशीमाथि हातपात गरेका थिए। सोही दिन भोलिपल्ट कुटपिट विषयमा कार्यालयमा छलफल गर्ने सहमति गरेर गएका जोशी हालसम्म कार्यालय फर्केका छैनन्।

कार्यालयमा भएको घटनादेखि प्रशासकीय अधिकृत जोशी कार्यालय नआएको र निमित्त पनि कसैलाई न तोकेको नवनिर्वाचित गाउँपालिका अध्यक्ष रामआशिष महतोले बताए।

उनका अनुसार सो बेलादेखि जोशी सम्पर्कविहीन बनेका छन्। कार्यालयको समान्य कामकाज प्रशासन तर्फकी अधिकृत सुलेखा महतोको तोकले हुने गरेको प्रमुख महतोको भनाइ छ।

जोशीले आफूलाई कुटपिट गर्ने कर्मचारीमाथि कारबाहीको लागि समेत कतै उजुरबाजुर गरेका छैनन्। उनी आफ्नो सरुवा गराउन गएको स्रोतको भनाइ छ।

उनले आफू सामान्य प्रशासन मन्त्रालयमा हाजिर भएको बताउँदै थप केही भन्न मानेनन्।

कुटपिट प्रकरणपछि कार्यालय किन आउन छोड्नु भो, घटनापछि कुटपिट गर्नेविरुद्ध कारबाहीको लागि किन अघि बढ्नु भएन भन्ने नेपालखबरको जिज्ञासामा उनले भने ‘म सामान्य प्रशासन मन्त्रालयमा हाजिर भएको छु। पछि कुरा गरौंला।’

एक वर्षअघि कार्यकालमा आएदेखि उनले तत्कालीन गाउँपालिका प्रमुख डम्बरबहादुर राउत क्षेत्रीलाई समेत प्रभावमा लिएर विभिन्न शीर्षकमा व्यापक अनियमितता गरेको आरोप छ।

उनले कार्यालयको थुप्रै कागजात बर्दिबासको डेरामा राखेको कार्यालय स्रोतले जनाएको छ।

केही दिन अघिमात्र जोशीले कार्यालयमा कहिले नआउने करारका इन्जिनियर शौरभ कुशवाहालाई एकैपटक तीन महिनाको हस्ताक्षर गरेर तलब खुवाएको खुलासा भएको थियो।

कुटपिट गर्नेविरुद्ध अघि बढे आफूले गरेको अनियमितताको भण्डाफोर हुने डरले जोशी सरुवाको प्रकृयामा लागेको बुझिएको छ।

जसले एकैदिन ३ महिनाको हाजिर गराई तलबभत्ता खुवाए

बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कर्मचारीबाटै कुटपिट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .