मधेस


सिरहामा १८ करोडको रासायनिक मल बिक्री

सिरहामा १८ करोडको रासायनिक मल बिक्री

नेपालखबर
साउन ४, २०७९ बुधबार ९:५२, जनकपुरधाम

सिरहाको लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा रु १८ करोड ३२ लाख मूल्य बराबरको रासायनिक मल बिक्री गरेको छ। सो अवधिमा रु १० करोड ५१ लाखको डीएपी र रु सात करोड ८१ लाखको युरिया बिक्री गरिएको हो। 

आव २०७८/७९ मा ६ हजार ५०० मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डीएपी मल बिक्री गर्ने लक्ष्य रहेकामा चार हजार ९५४ मेट्रिक टन युरिया र दुई हजार ३५५ मेट्रिक टन डिएपी मात्र आपूर्ति भएको कार्यालय प्रमुख दीपराज पौडेलले जानकारी दिए। गत आवमा युरिया चार हजार ९५४ मेट्रिक टन र डिएपी दुई हजार ३४८ मेट्रिक टन बिक्री भएको प्रमुख पौडेलले बताए। 

यसअघि आव २०७७/७८ मा कृषि सामग्री कम्पनी लहानले रु १९ करोड ६५ लाख ६३ हजारको रासायनिक मल बिक्री गरेको थियो। अघिल्लो आवको भन्दा आव २०७८/७९ मा लक्ष्यभन्दा कम मल आपूर्ति भएको थियो। यसरी बर्सेनि रासायनिक मलको माग बढ्दै गए पनि आपूर्ति घट्दै गएकाले समस्या भइरहेको प्रमुख पौडेलको भनाइ छ।

प्रमुख पौडेलका अनुसार सिरहामा साउनमा मात्र ३० हजार बोरा युरिया मल आवश्यक भएकामा हाल एक बोरा पनि युरिया मौज्दात छैन। डीएपी मल ६ मेट्रिक टन मात्र मौज्दात छ। 

मल नहुँदा दैनिक किसान रित्तो हात फर्किन बाध्य रहेको प्रमुख पौडेलले बताए। कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट मल आउने आश्वासन पाएको र आएलगत्तै कोटा निर्धारण गरी स्थानीय तहमा रहेका सहकारी संस्थाका डिलरमार्फत किसानलाई मल वितरण गरिने कार्यालयले जनाएको छ। 

बाली सघनता र खेतीयोग्य क्षेत्रफलका आधारमा स्थानीय तहलाई मलखाद्यको कोटा निर्धारण गरी स्थानीय तहको सिफारिसका आधारमा सहकारी संस्थाका डिलरलाई मलखाद्य वितरण गर्दै आएको प्रमुख पौडल बताउँछन्। 

सिरहामा कृषि सामग्री कम्पनी लहान र साल्टट्रेडिङले गाउँ–गाउँमा सहकारीमार्फत र सहकारी नभएको गाउँमा स्थानीय तहको सिफारिसमा मलखाद्य बिक्रीवितरण गर्दै आएको छ। धान रोपाइँ गर्ने बेला भएकाले युरिया र डीएपी मलको माग बढे पनि अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, ढुवानी आपूर्तिको समस्या, मलको अनियन्त्रित प्रयोग र भारतीय सीमानाकामा भएको कडाइलगायतका कारण सिरहामा युरिया र डीएपी मलको आभाव हुने गरेको प्रमुख पौडलले बताए। 

डीएपी र युरिया मलको माग बढेकाले आपूर्तिका लागि केन्द्रमा पटक–पटक पत्राचार गरे पनि बर्सेनि घट्दै गएकाले समस्यामा परेको प्रमुख पौडेलको भनाइ छ। यसरी डीएपी र युरिया मलको आपूर्ति कम भएपछि किसानलाई मलको समस्या भइरहेको नेपाल कृषक महासङ्घ मधेस प्रदेशका अध्यक्ष मुक्ति यादवले बताए। मागअनुसार मलको आपूर्ति नहुँदा बर्सेनि किसान मलका लागि भौतारिने गेका छन्।

कूल ६० हजार ७५७ हेक्टर खेतीयोग्य जग्गामध्ये सिरहामा यस वर्ष करिब ५५ प्रतिशत जग्गामा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र महासेठले बताए। 

यस वर्ष समयमा वर्षा नभएकाले एकातिर धान रोपाइँ कम भएको र अर्कातिर सहज रूपमा मल उपलब्ध नहुँदा किसान मारमा परेको उनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad