लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत मंगलबार बसेको सातौँ बैठकमा आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि औपचारिक छलफल सुरु भएको छ। प्रदेश प्रमुखबाट प्रस्तुत नीति तथा कार्यक्रममाथिको धन्यवाद प्रस्ताव सर्वसम्मतिले पारित भएपछि सभाले छलफल प्रक्रिया अघि बढाएको हो।
बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभा नियमावली, २०७९ को नियम ३९ को उपनियम (१) बमोजिम वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। त्यसपछि दलीय प्रतिनिधित्वका आधारमा प्रदेश सभा सदस्यहरूले नीति तथा कार्यक्रममाथि धारणा राख्न सुरु गरेका हुन्।
छलफलमा प्रदेश सभा सदस्य अर्जुनकुमार के.सी., निलम पासवान, भण्डारीलाल अहिर, भगवती अधिकारी, मिनाकुमारी श्रेष्ठ तथा विष्णु प्रसाद पन्थी ले भाग लिँदै विकास प्राथमिकता, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सुशासन तथा पूर्वाधार विकासका विषयमा सरकारको नीति तथा कार्यक्रमबारे सकारात्मक धारणा राखेका थिए।
बैठकमा नीति तथा कार्यक्रममाथि कुनै संशोधन प्रस्ताव दर्ता नभएको जानकारी सभामुख तुलाराम घर्तीमगरले गराए। प्रदेश सभाले नीति तथा कार्यक्रममाथिको छलफल आगामी बैठकमा पनि निरन्तरता दिने निर्णय गरेको छ।
बैठकको प्रारम्भमा समसामयिक विषयमा शून्य समयमा ११ जना प्रदेश सभा सदस्यहरूले आफ्ना धारणा राखेका थिए। प्रदेश सभाको अर्को बैठक जेठ १३ गते बुधबार दिउँसो १ बजे बस्ने तय गरिएको छ।
Shares

प्रतिक्रिया