लुम्बिनी


पछिल्लो समय जहाँ गएँ त्यहीँ जिन्दावादको नारा लागेको छ : अध्यक्ष प्रचण्ड

पछिल्लो समय जहाँ गएँ त्यहीँ जिन्दावादको नारा लागेको छ : अध्यक्ष प्रचण्ड

नेपालखबर
मंसिर २९, २०८१ शनिबार १८:१४, बुटवल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र नै हो भनेर जनताले मनमनै फैसला गरिसकेको बताएका छन्।

रुपन्देहीको तिलोत्तमामा आज (शनिबार) आयोजित माओवादी केन्द्रसँग राष्ट्रिय जनमुक्ति पार्टी समाहित तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्।

अध्यक्ष प्रचण्डले भने, 'पछिल्लो समय जहाँ गए त्यहीँ पार्टी नेतृत्वप्रति जिन्दावादको नारा लागेको छ। नेपाली जनताको यो भरोसालाई अलिकति पनि तोड्न दिने छैन। प्रतिक्रियावादी जालिझेलिहरूले राष्ट्रलाई बन्धक बनाउने नेपाली जनतालाई भ्रष्टाचार जाँतोमा पिस्ने जुन काम गरेका छन्, हामी समाजवादी नयाँ आन्दोलनमार्फत त्यसको प्रतिवाद गर्नेछौं। भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनले को सिद्धिँदै छ, को रिभाइभ भएर आउँदै छ भन्ने देखाइसकेको छ। को शक्तिशाली बन्दै छ र कोप्रति जनताको घृणा देखिएको भन्ने संकेत देखिएको छ।'

माओवादी केन्द्रको नेतृत्वमा बनेका सरकारले गरेका काम र अगाडि बढाएका योजनालाई जनताले सकारात्मक ढंगले बुझ्दै गएका कारण जनताले माया गर्न थालेको उनले बताए।आफू सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान, सामाजिक न्याय, राष्ट्रको हितमा छिमेकी र अन्य राष्ट्रहरूसँग राम्रो सम्बन्ध कायम गर्दै दूरगामीरूपमा राज्यलाई फाइदा हुने गरी चीन र भारतसँग सहमति र सम्झौता गरेको उनको जिकिर थियो।

अध्यक्ष प्रचण्डले भने, 'म सरकारमा रहँदा भ्रष्टाचारीहरूलाई कारबाही अगाडि बढाएँ। धेरै राजनतिक नेताहरू, ठूलाठूला कर्मचारी, भूमाफियाहरूलाई कारबाही गरी राज्यको सम्पत्ति जनताको हातमा ल्याउने काम गरेँ। भ्रष्टाचारीहरूविरुद्धको कारबाही अगाडि बढाउँदा म प्रचण्ड नै अगाडि देखिएँ। त्यसलाई पनि नछोड्न भनेर सुशासनको अभियान चालियो। मिटरब्याज पीडितहरूको समस्या समाधान गर्न ऐन ल्याएर नै समाधान गर्न मिहनेत गरियो। त्यसैगरी विदेशमा रहेका नागरिकलाई सामाजिक सुरक्षा कोषमा ल्याउने काम गरियो। अर्थतन्त्रको सुधारका लागि पहल सरकारबाट लिइयो।' 

अध्यक्ष प्रचण्डले थपे, 'जनताले मनमनै फैसला गरिसकेको छ। जनतालाई माया गर्ने पार्टी माओवादीले नै हो, परिर्वतनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र र नेता प्रचण्ड नै हो भन्ने जनतालाई परेको छ।' 

'कार्यक्रमा राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव राम परियारसहित जनमुक्ति पार्टीका नेता-कार्यकर्ताको टोली माओवादी केन्द्रमा समाहित भएको थियो। साथै, कांग्रेस-एमाले परित्याग गरी कांग्रेस-एमालेका नेता कार्यकतासमेत माओवादी केन्द्रमा प्रवेश गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad