कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदा सूचीमा समावेश गर्न मनोनयन दस्तावेज तयारी तीव्र पारिएको छ। तिलौराकोट कपिलवस्तुको प्राचीन राजधानी र गौतम बुद्धले २९ वर्ष बिताएको ठाउँ हो।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्त्व विभाग, लुम्बिनी विकास कोषले राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरुको कार्यशाला गरी तिलौराकोटलाई विश्वसम्पदा सूचीमा समेट्न दस्तावेज तयार पार्न लागिएको हो।
शनिबार र आइतबार अन्तर्राष्ट्रिय विज्ञ डा. डंकन मार्सल (अस्ट्रेलिया) प्रा.डा. रविन कनिङहम (बेलायत), प्रा. डा. युकियो निसिमुरा (जापान) सहित नेपालका तर्फबाट विज्ञहरु काई वाइजे, प्रा.डा. राजेश राई, डा. इनु प्रधान, सृष्टिना श्रेष्ठ, राजेन्द्र सुवाल, यनी जोशीको सहभागितामा मनोनयन दस्तावेजका लागि विधागत विषयमा गहन छलफल गरिएको छ। मनोनयन दस्तावेजमा पुरातत्त्व विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य र पुरातत्त्वविद् वसन्त बिडारीले विज्ञहरुले निकालेको निष्कर्षमा सुझाव दिएका थिए।
लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईको संयोजकत्वमा विश्वसम्पदा सूचीमा राख्न मनोनयन दस्तावेजलाई अन्तिम रुप दिन विज्ञहरुसँग छलफल अगाडि बढाइएको छ।
आइतबार विज्ञहरुको कार्यशालामा सरोकारवाला सरकारी निकायका प्रतिनिधि र सरोकारवालाहरुसँग पनि छलफल गरिएको छ। छलफलमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेशकुमार त्रिपाठी) ले तिलौराकोटलाई विश्वसम्पदा सूचीमा जतिसक्दो चाँडो सूचीकृत गराउने गरी मनोनयन दस्तावेजलाई अन्तिम रुप दिन विज्ञहरुलाई आग्रह गरे। उनले तिलौराकोट विश्वसम्पदा सूचीमा सूचीकृत हुँदा कपिलवस्तुको ऐतिहासिक र पुरातात्त्विक महत्त्व विश्वले थाहा पाउने बताए।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेले तिलौराकोटलाई विश्वसम्पदाका रुपमा चिनाउन आवश्यक रहेकाले विज्ञहरुलाई जतिसक्दो चाँडो प्रक्रिया अगाडि बढाउन आग्रह गरे।
पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले विज्ञहरुबाट मनोनयनका लागि महत्त्वपूर्ण सुझावहरु आएको जानकारी दिँदै सीमाक्षेत्रका बारेमा प्रदेश सरकार, स्थानीय सरकार एंव स्थानीयहरुको समेत सहयोग आवश्यक हुने बताए।
संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सहसचिव डा. सुरेश श्रेष्ठले तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रमाण जुटाउने काम भइरहेको बताए। उनले सन् १९९६ मै तिलौराकोट सम्भाव्य विश्वसम्पदा सूचीमा रहेकाले सन् २०२४ सम्ममा सूचीकृत गर्ने र त्यसका लागि सबैको सहयोग आवश्यक पर्ने बताए।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले सम्पदामा सूचीकृतका लागि कोषका तर्फबाट विदेशी विज्ञ मनोनयन गरिसकेको उल्लेख गर्दै स्थानीय रुपमा वातावरण अनुकूल बनाउने काममा स्थानीय सरकारको सहयोग हुनुपर्ने बताए।
कार्यशालमा तिलौराकोटलाई विश्वसम्पदा सूचीमा समावेश गर्न कार्यतालिका, विषयसूची, तिलौराकोटका विशेषता र अद्वितीय अनुपम विश्वव्यापी महत्त्वका बारेमा छलफल गरिएको कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए।
प्रतिक्रिया