ad ad

लुम्बिनी


लुम्बिनी प्रदेश सभा : डिल्लीराज र देवकरणमध्ये कसले गर्लान् पहिलो बैठकको अध्यक्षता?

लुम्बिनी प्रदेश सभा : डिल्लीराज र देवकरणमध्ये कसले गर्लान् पहिलो बैठकको अध्यक्षता?

सुदीप भण्डारी
पुस १, २०७९ शुक्रबार १७:५, बुटवल

प्रतिनिधि सभामा ८० वर्ष पुगेका केही सांसद छन्। ७० कटेर ८० नजिक पुगेकाहरु प्रधानमन्त्रीको दौडमा समेत छन्।

तर, लुम्बिनी प्रदेश सभामा वृद्ध सांसदहरुको संख्या तुलनात्मक रुपमा कम छ। प्रदेश सभामा निर्वाचित ८७ सांसद मध्ये सबैजना ७० वर्ष मुनिकै छन्। वृद्ध अवस्था गणना गरिने ६० पार भएका सांसद पनि जम्मा ११ जना मात्र छन्। 

निर्वाचन आयोगले हालै प्रकाशित गरेको लुम्बिनी प्रदेशसभाको समानुपातिकबाट निर्वाचित ३५ सांसद मध्ये इन्द्रकुमारी गहतराज (६८) र मिनाकुमारी श्रेष्ठ (६५) मात्र ६० कटेकी सांसद हुन्। गहतराज एमाले र श्रेष्ठ राप्रपाबाट सांसद भएका हुन्। 

प्रत्यक्षतर्फ भने प्रदेश सभामा ६० वर्षमाथिका ९ जना निर्वाचित भएका छन्। नेकपा एमालेबाट गुल्मी १ क बाट विजयी चिन्तामणि पाण्डे (६५), गुल्मीकै २ क का डिल्लीराज भुसाल (६९), रुपन्देही २ क का लिला गिरि (६७), रुपन्देही २ ख का भोजप्रसाद श्रेष्ठ (६६), प्युठान क का तुल्सीराम शर्मा (६५) रहेका छन्। 

नेपाली कांग्रेसबाट ६० पार भएका सांसदहरुमा रुपन्देही १ ख का अब्दुल रज्जाक (६३), कपिलबस्तु २ ख का सुधाकर पाण्डे (६७), बाँके ३ ख का बादशाह कुर्मी (६४), नवलपरासी पश्चिम १ ख का देवकरण कलवार (६९) रहेका छन्। बाँकी दलका सांसद यो उमेर समूहमा छैनन्। 

लुम्बिनी प्रदेश सभामा गुल्मी २ क का डिल्लीराज भुसाल र नवलपरासी पश्चिम १ ख का देवकरण कलवार सबैभन्दा ज्येष्ठ सदस्य हुन्। भुसाल एमालेबाट र कलवार कांग्रेसबाट निर्वाचित सांसद हुन्। दुवैको उमेर ६९ वर्ष रहेको निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजामा उल्लेख छ। 

डिल्लीराज यसअघि २०७४ को स्थानीय चुनावमा गुल्मीको रेसुङ्गा नगरपालिकाको प्रमुख भएका थिए। कलवावर २०७० सालमा संविधान सभा सदस्य भएका हुन्।  

यी दुइ मध्ये महिनाले जो जेठो छ उनैले प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ लिएर सांसदहरुलाई सपथ गराउँछन्। अनि सभामुखको चयन नहुँदासम्म प्रदेश सभा बैठकको अध्यक्षता गर्ने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .