ad ad

लुम्बिनी


प्रदेश सभाको कार्यकाल सकिनै लाग्दा लुम्बिनीका विषयगत समितिले पाए नेतृत्व

प्रदेश सभाको कार्यकाल सकिनै लाग्दा लुम्बिनीका विषयगत समितिले पाए नेतृत्व

सुदीप भण्डारी
साउन १२, २०७९ बिहिबार १७:२९, बुटवल

लुम्बिनी प्रदेशसभा अन्तर्गतका विषयगत समितिले नेतृत्व पाएका छन्।

४ वटा विषयगत समितिहरु एक वर्ष भन्दा बढी समयदेखि नेतृत्वविहीन थिए। राजनीतिक खिचातानीका कारण समितिहरुले नेतृत्व पाउन सकेका थिएनन्। 

प्रदेश सभाको सार्वजनिक लेखा समितिमा एमालेका विष्णु पन्थी, अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा राष्ट्रिय जनमोर्चाकी तारा जिसी, कृषि, वन तथा वातावरण समितिको सभापतिमा एमालेकी जाल्पा भुसाल र सामाजिक विकास समिति सभापतिमा एमालेकै बाबुराम गौतम चयन भएका छन्।

बुधबार प्रदेशसभामा समितिको नेतृत्वका लागि एकल उम्मेदारी परेपछि उनीहरु निर्विरोध भएका थिए। बिहीबार सम्बन्धित समितिको छुट्टाछुट्टै बैठक बसेर सभापतिको नाम अनुमोदन भएको हो। 

गत वर्ष साउन २८ मा सरकार परिवर्तन हुनुअघि कांग्रेसका डिल्ली चौधरी लेखा समिति सभापति थिए। कुलप्रसाद केसी मुख्यमन्त्री बनेपछि चौधरी मन्त्री बनेका थिए। त्यसपछि यो समिति नेतृत्वविहीन बनेको थियो। 

बाँकी तीन समिति झण्डै डेढ वर्षदेखि नेतृत्वविहीन थिए। त्यसबेला नेतृत्व सम्हालेकाहरु अहिले सांसद पदमा छैनन्।

कृषि, वन तथा वातावरण समितिका सभापति विजयबहादुर यादव २०७८ वैशाखमा शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री बनेपछि सो समिति नेतृत्वविहीन थियो। जसपाले कारबाही गरेपछि यादव पदमुक्त भएका थिए। 

सामाजिक विकास समितिका सभापति रहेका दृगनारायण पाण्डेले नयाँ सरकार गठनमा सहयोग गर्न सांसद पदबाट राजीनामा दिएका थिए। 

अर्थ, उद्योग पर्यटन समितिका सभापति दधिराम न्यौपाने माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेपछि उनी सांसद पदबाट बर्खास्त भए। 

लामो समय नेतृत्वविहीन रहेका समितिले प्रदेश सभाको कार्यकाल सकिन केही महिना मात्र बाँकी हुँदा नेतृत्व पाएका हुन्।

लुम्बिनी प्रदेश सभाको दसौँ अधिवेशन अन्त भएको छ। चुनावअघि अधिवेशन हुने सम्भावना कम छ। चुनाव घोषणा भएपछि सबैको ध्यान चुनावतिर हुने हुँदा सांसद तथा समितिका सभापतिको भूमिका पनि गौण हुन्छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .