जिताइदिए : पहिले वडामा जिताए, अनि सांसदमा जिताए।
जित्ने सम्भावना अत्यन्त कम हुँदा पनि जिताइदिए।
सांसदमा जित्न सजिलो थिएन : विपक्षीको धेरै भोट थियो, उसको पार्टीको सङ्गठन पनि राम्रो थियो। त्यसमाथि आफ्नै पार्टीबाट लोकप्रिय सहकर्मी बागी उम्मेदवार थियो। त्यसले राम्रै भोट काट्ने सम्भावना टड्कारो थियो।
खाइनखाई रातदिन नभनेर उनीहरू खटे। तर हाम्रो लोकतन्त्रमा खटेर मात्र कहाँ चुनाव जितिन्छ ? जो गर्नु पर्ने खर्च पनि उनीहरूले नै गरेका थिए।
जितपछि आयोजना गरिएको सभामा उनीहरूमध्ये धेरैले भनेका थिए– 'तिम्रो राजनीतिक सफलताको यात्रा यहीँ टुङ्गिदैन। यसपटक हाम्रो पार्टी सरकारमा गयो भने तिम्रो मन्त्री पद पनि पक्का भयो।'
हरिहर हिजोसम्म के थियो र! उसले आफू मन्त्री हुने कुरा कहिल्यै पनि सोचेको थिएन।
तर पासा यसरी पल्टियो : हरिहर मन्त्री पनि भयो।
मन्त्री भएपछि पनि उनीहरूको साथसहयोग छुटेन। कुनै जटिल केसमा के गर्ने, के नगर्ने भन्ने कुराको परामर्श उनीहरू नै दिन्थे, हरिहरले सही गरिदिए पुग्थ्यो। सही गरी दिएपछि जो आउँथ्यो, हरिहरको भागमा पनि आउँथ्यो।
उनीहरूले उठान गरेका कतिपय फाइलमा मन्त्रालयका कर्मचारीको फरक राय हुन्थ्यो। उनीहरू नै भन्थे- 'मिल्नेलाई मिलाऔँ, निमोठिनेको रायलाई- 'गोली मारो।'
उनीहरू जत्तिको हरिहरको आफ्नो को थियो र! आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न पनि हरिहरले उनीहरूलाई आफूसँग नजिक राख्न आवश्यक हुन्थ्यो। हरिहर हस्तक्षेप गरेरै पनि उनीहरूको मुख हेरेर फाइलमा निर्णय गरिदिन्थ्यो।
शत्रु लागेछन्।
हरिहरमाथि झोसपोल भएछ।
अब आफू वरिपरि भीडभाड घटेको अनुभव गर्दै थियो– हरिहर!
अभियोग पुष्टि भएर अदालतबाट जेलचलानको पुर्जी बुझेपछि हरिहरले पछाडि फर्किएर हेर्यो, पहिलोपटक उसले देख्यो : ऊ एक्लो रहेछ।
Shares

प्रतिक्रिया