डेढ दशकदेखि कविता, आख्यान, गैरआख्यान, काव्य, फिल्म र नाटकको समीक्षा लेखिरहेका लेखक/समीक्षक गुरुङ सुशान्तको निबन्धात्मक गैरआख्यान किताब ‘इतर समीक्षा’ को बिहीबार लोकार्पण गरिएको छ।
१८ औं गणतन्त्र दिवस पारेर राजधानीको प्रज्ञा प्रतिष्ठानमा किताब लोकार्पण गरिएको हो। कार्यक्रममा वक्ताहरू खगेन्द्र संग्रौला, कुमार नगरकोटी, नवीन सुब्बा, उज्ज्वल प्रसाई र डा.दोभान राईले किताबमाथि टिप्पणी र समीक्षा गरेका थिए।
कवि शकुन्तला जोशीले सञ्चालन गरेको कार्यक्रममा आख्यानकार कुमार नगरकोटीले जीवन–जगत्का दुःख, खुसी र सपना दर्शाउने दुईवटा कविता वाचन गरेका थिए। कविता वाचनपछि नगरकोटीले गैरआख्यान, आख्यान, नाटक र काव्यमाथि लेखिएको समीक्षा–किताब ‘इतर समीक्षा’ लाई सदीक्षा र शुभकामना दिए।
लेखक खगेन्द्र संग्रौलाले ‘इतर समीक्षा’ समीक्षाको नयाँ आविष्कार भएको बताए। ‘केही समीक्षकले समीक्षा/समालोचनाको बीउ जोगाए पनि त्यो अत्यन्तै कमजोर छ,’ संग्रौलाले भने, ‘लेख्ने कोही नभएका बेला प्रभावकारी/गुणस्तरीय समीक्षा लेख्ने दुस्साहस गर्नु नै यो किताबको महत्वपूर्ण र सुन्दर पक्ष हो।’
‘दलन’, ‘नुमाफुङ’, ‘गाउँ आएको बाटो’ लगायत टेलिफिल्म÷फिल्मका निर्देशक नवीन सुब्बाले ‘इतर समीक्षा’ ले नेपाली ज्ञान निर्माणको क्षेत्रमा विगत एक दशकको नेपाली चित्र र चरित्र देखाएको बताए।
‘पुस्तकमै फिल्म समीक्षा पनि सुरु गरेकोमा लेखक गुरुङ सुशान्त धन्यवादका पात्र भएका छन्,’ उनले भने, ‘सिनेमालाई बौद्धिक वृत्तले हेर्ने दृष्टिकोण अझै परिवर्तन हुन सकेको छैन, तर कोसिस यो किताबले पक्कै गरेको छ।’ सुब्बाले नेपाली समीक्षा लेखनले अभिव्यक्तिको भाषा निर्माण गर्न नसकेका बेला ‘इतर समीक्षा’ एक उपलब्धि भएको पनि बताए।
समाजशास्त्री एवम् कम्प्युटर वैज्ञानिक दोभान राईले ‘इतर समीक्षा’ मा अधिकांश समीक्षा पहिचानको दृष्टिकोणबाट लेखिएको बताइन्। ‘यो किताबले नेपाली समाजको समीक्षा–लेखनको सग्लो तस्वीर देखाएको छ’, उनले भनिन्।
नेपाली साहित्यको अध्ययन–अनुसन्धानका लागि ‘इतर समीक्षा’ अनिवार्य पढ्नुपर्ने किताब भएको बताउँदै लेखक/विश्लेषक उज्जवल प्रसाईंले भने, ‘यो किताब नेपाली साहित्यमा समीक्षा विधाको दस्तावेज भएर रहने छ । किताबले गुणस्तरीय समीक्षाको अभाव पनि पूर्ति गरेको छ र यो सानो सर्वेक्षणका रुपमा प्रकाशित भएको छ।’
‘इतर समीक्षा’ का लेखक गुरुङ सुशान्तले आफू पुस्तक पढ्ने लोभले समीक्षक बन्न पुगेको सुनाए। ६५ वटा समीक्षा संग्रहीत ‘इतर समीक्षा’ मा कवि विनोदविक्रम केसीको लामो निबन्धात्मक भूमिका समेटिएको छ। इन्डिगो इन्कले प्रकाशन गरेको यस किताबको मूल्य ६४९ रुपैयाँ रहेको छ।
Shares

प्रतिक्रिया