लिम्बुवान अध्ययन केन्द्रले एक करोड रुपैयाँको प्राज्ञिक कोष निर्माण गर्ने भएको छ। केन्द्रद्वारा सञ्चालित ‘विष्णुदत्त–सरस्वती आङहाङ प्राज्ञिक कोष’लाई विस्तार गरी १ करोड पुर्याउन लागिएको हो।
२०७० सालमा स्थापना भएको यस केन्द्रले ताप्लेजुङ थातथलो भई क्यानडामा रहेका विष्णुदत्त आङबुहाङ परिवारको सहकार्यमा २०७३ सालमा ५० लाख रुपैयाँको ‘विष्णुदत्त–सरस्वती आङबुहाङ प्राज्ञिक कोष’ स्थापना गरेको थियो।
सोही कोषलाई आङबुहाङ परिवारबाटै ५० लाख थप गरी १ करोड रुपैयाँ पुर्याउन लागिएको केन्द्रका अध्यक्ष भगिराज इङनामले जानकारी दिए।
केन्द्रले लिम्बुवानका आदिवासी ज्ञान, सीप र इतिहास तथा सांस्कृतिक, सामाजिक, भाषिक, आर्थिक, शैक्षिक एवम् मौखिक परम्परा र मुन्धुम लगायतका विविध पक्षमा बहस, अध्ययन, अनुसन्धान तथा प्रकाशनको कार्य गर्दै आएको छ।
साथै, ‘विष्णुदत्त–सरस्वती आङबुहाङ प्राज्ञिक कोष’बाट बर्सेनि महिला र पुरुष गरी दुई जना अध्येतालाई अनुसन्धानवृत्ति र विद्वतवृत्ति प्रदान गर्दै आएको छ। यसका अलावा, द्विवार्षिक रूपमा एक कृतिलाई प्राज्ञिक पुरस्कार पनि प्रदान गर्ने गरेको छ।
यसै क्रममा २०८०-८१ को पुरस्कार स्व. कृष्णविक्रम नेम्बाङको कृति ‘लिम्बू इतिहास : तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध’लाई दिइने भएको छ। १ लाख रुपैयाँ र प्रमाणपत्र रहेको यो पुरस्कार नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला र कोषदाताको संयुक्त बाहुलीबाट स्व. नेम्बाङको परिवारलाई प्रदान गरिने केन्द्रका अध्यक्ष इङनामले बताए।
पुरस्कार वितरण समारोह ललितपुरको तिखेदेवलस्थित सयल बाटिकामा भोलि (१० जेठ) हुनेछ। सोही दिन प्राज्ञिक कोषको थप रकम पनि घोषणा हुने कार्यक्रम रहेको कन्द्रले जनाएको छ।
Shares

प्रतिक्रिया