पुस चौथो हप्ता वर्षा सुरु भयो। हुन त साइप्रसको जाडो मौसममा छिनमै पानी पर्छ, केही बेरमै घाम लाग्छ। कहिले बादल मडारिन्छ त कहिले तीव्र गतिको हावा चल्छ, अनि समुद्र उर्लिन्छ।
मध्य रातिदेखि सिमसिम पानी परिरहेको थियो। ह्वात्तै चिसो बढेको थियो। आधा बिहान भइसक्दा पनि मलाई उठ्न जाँगर चलेन। नउठी सुख पनि थिएन, किनकि काममा जानु थियो। बल्लतल्ल आँखा खोलेर मोबाइल हेर्दा ९ पो बजिसकेको रहेछ। रेस्टुरेन्ट पुग्नै आधा घण्टा लाग्छ। १० बजे हाजिर हुनुपर्ने। जाडोमा ननुहाए पनि भयो। तर, शौचालय जाँदा, दाँत माझ्दा, मुख धोएर तयार हुँदा साढे ९ बजिसक्छ।
मेरो डेरा दोस्रो तलामा छ। झ्यालबाट दक्षिणतिर समुद्र देखिन्छ। उत्तरमा अग्ला पहाड। अनि त्यसमा रहेको बस्ती हेर्दा नेपालकै विकसित कुनै गाउँ जस्तो लाग्छ। लालीगुराँस फुल्दैन। काफल पाक्दैन। तर, ढुकुर बास्छ। परेवा घुरघुर गर्छ। सल्लाको बोटमा सानै भए पनि सिम्टा फल्छ। ट्रोडस लेकमा हिउँ पर्छ। भाषा फरक, धर्म संस्कृति अलग, मानिसका स्वभाव भिन्न छन्। तर, पनि पहाडी भौगोलिक बनावटले नेपालकै झल्को दिन्छ। चहर्याउने परदेशीको घाउमा मलम पाएजस्तो प्रतीत हुन्छ।
म कामतिर लागेँ। पाफस सहरबीचमा बसपार्क छ। एक नजर त्यता फ्याँक्दा मंगोलियन अनुहारमा पर्यो। ती युवतीले खरानी रङको हुडी लगाएकी थिइन्। अलिक हडबडाएजस्तो देखेँ। साइप्रसमा नयाँ हुन् कि? नेपाली दिल न हो, पग्लिहाल्यो। फिलिपिनी पनि हुन सक्थिन्।
‘आर यु नेपाली?’
‘एस, बट ह्वाइ?’ युवती अलिक झर्किन्।
‘नमस्ते, म पनि नेपाली हुँ’, मैले हात जोडेर भनेँ।
‘तपाईंलाई फेसबुक आईडी चाहियो कि मोबाइल नम्बर? या टिकटकमा फलो गर्ने हो कि?’ उनी अचम्मगरि रिसाइन्।
‘होइन, यो के भन्नुभो? मैले बुझिनँ।’ बिलखबन्दमा परेँ। रेस्टुरेन्ट पुग्न ढिला हुने भयले मोबाइलमा समय हेरेँ।
‘साइप्रसमा नयाँ केटी देख्नै नहुने रहेछ नेपाली केटाहरूलाई। यसो बोलेजस्तो गरेर फोन नम्बर मागिहाल्नुपर्ने। अनि हप्ता दिनपछि घुम्न जाम् भनिहाल्ने। कत्रो दुःख गरेर आइएको छ। समस्या बुझ्नु छैन।’
यसै त चिसो सिरेटोले हिर्काएको गाला त्यसमाथि क्रोध थपिएपछि रगत चुहिएलाजस्तो रातो भयो। उनको अनौठो शैलीले मलाई थकथकी लाग्यो- बेकारमा बोलेँ। दयालु मन पिरोलियो।
‘तपाईंको छटपटी देख्दा अप्ठ्यारो पर्यो कि भनेर सोध्न आ’को थेँ। तर यति कुरोचैँ याद राख्नुस्, सबै व्यक्तिलाई एउटै तराजुमा राखेर तौलनु हुन्न। आवरण एकैनासको देखिए पनि वास्तवमा त्यसको गुण फरक हुन्छ। मबाट गल्ती भए माफ पाम्।’
मेरो ओँठ कक्रक्क सुक्यो। झनक्क रिस पनि उठ्यो। आँखा झुकाएर रेस्टुरेन्टको बाटो लागेँ।
‘सुन्नुस् न।’
‘हजुर भन्नुस्।’ हुन त उनको व्यवहारले केही सुन्न मन थिएन। तर, पनि खोइ किन हो, रोकिएँ।
‘सरी।’ बल्ल उनले नम्र बोलिन्।
‘घोचेर होइन, सोचेर बोल्ने व्यक्ति कहिल्यै पछुताउनुपर्दैन।’ मैले क्षमा दिएँ।
यसपछि अँध्यारो मुख लाउँदै उनले भनिन्, ‘मान्छेको मन सधैँ एकनास नहुँदो रहेछ। हाँसिरहेको जिन्दगीमा कुन बेला रुनुपर्छ पत्तो नहुने!’
‘साइप्रसको मौसमजस्तै बनाउनुपर्छ मानिसको दुःख पनि अस्थिर। घाम लागिरहेकै बखत बादलले ढाकेर पानी पारिदिन्छ। तुरुन्त हावाले हुत्याएर छ्याङ्ग आकाश खुलाई दिन्छ’, मैले ठट्यौली शैलीमा भनेँ।
‘हजुरको घर कता?’ उनी हाँस्न खोजिन्।
‘प्युठान। नाम प्रतीक हो। अनि तपाईंको?’ मैले पनि परिचय मागेँ।
‘मेरो घर दाङ। नाम सविता। आज तपाईंको बिदा होइन?’
‘रेस्टुरेन्टमा काम गर्ने प्रायः दाइभाइको सन्डेको छुट्टी मिल्दैन। सायद तपाईं डोमेस्टिक वर्कर होला’, मैले ज्याकेटको खल्तीबाट हात निकालेर मोलेँ।
पाफसबाट विभिन्न सहर जाने बस चल्न थाल्यो। फाट्टफुट्ट यात्रु पनि छिर्न लागे। मुसलधारे वर्षा भयो। ओहो! रेस्टुरेन्ट कसरी पुग्ने? चिन्ता लाग्यो।
‘छिमेकी दिदीलाई भेट्न लिमासोल जाँदै छु। मैले काम गर्ने घर यहाँदेखि नजिकै छ। ऊ त्यहाँ पानी परिरहेको डाँडा पल्तिर हो,’ उनले भनिन्।
उनले औँलाएतिर हेरेँ- कालो बादलमुन्तिर हरियो पहाडलाई सेतो कुहिरोले ढाकेको थियो।
‘घरका मान्छे कस्ता छन्? कुनै घर मालिक निकै कचकचे हुन्छन् भन्ने सुनेको थिएँ।’
आफ्नो नाडीको घडी हेर्दै उनले जवाफ दिइन्, ‘साह्रै नराम्रा त छैनन्। तर, मालिकअघि डर लागिहाल्छ। मेरो काम भनेको घर सफा राख्नु हो। त्यो इमान्दारीताका साथ गर्छु। भनेकै तलब समयमै मिलिरहेको छ। महिनाको एउटा बिदा हो। खानाका लागि पनि त्यति गाह्रो छैन। आफैँले नेपाली भान्सामा जस्तो पकाउन सकिन्छ।’
मैले भनेँ, ‘मान्छे होइन काम प्यारो हो। हामीले त्यो कर्तव्य पूरा गर्नैपर्छ, नत्र घरदेखि निकाल्दिन पनि सक्छन्। ऋण काढेर विदेश आ’को तिरिनसक्दै फर्कियौँ भने समुदायमा कसरी मुख देखाउने? फेरि आफन्तले समस्या पनि बुझिदिन्नन्। परदेशीलाई गाह्रो छ।’
‘तपाईं होटलमा हो?’
‘हजुर।’
‘सुविधाजनक होला?’
‘तपाईंको बस लाग्नेबेला भो’, जवाफ नदिईकन मैले सचेत गराएँ।
‘काममा हिँडेको मान्छेलाई अलमल्याएँ नि’, उनले मुहार उज्यालो पारिन्।
अब भने मलाई ढिला भएकामा पछुतो लागेन।
‘होइन, मेरो पाँच/सात मिनेट ढिला हुँदा फरक पर्दैन। तर, तपाईंको बस छुट्यो भने फेरि एक घण्टा कुर्नुपर्छ’, मुस्कुराउँदै मैले भनिदिएँ।
‘हजुर आ’को कति भो नि?’ उनले जुत्ता टकटकाइन्।
‘नौ महिना भयो।’ तर मेरो ध्यान लिमासोल जाने बसतिरै थियो।
‘मेरो त एक वर्ष पुग्यो।’ उनी खुल्दै गइन्।
‘यही बस हो, आउनुस्।’ बसमै चढाउने मनसायले बोलाएँ।
गोरो वर्ण र खैरो कपाल पालेका अग्ला मानिसको पछाडि सविता लाइनमा उभिन्।
मचाहिँ किन खडा भइरहेको थिएँ कुन्नि!
चार युरो भाडाका लागि २० दिँदा चालकले फिर्ता दिने खुद्रा नभएको बताउँदै अर्को बसमा आउन भन्यो।
सविता टिठलाग्दो अनुहार बनाएर फर्किन्।
सरकारी चालक हुन्। नेपालजस्तो यात्रुलाई तानेर बसाल्ने खलासी हुँदैनन्। तर, मानवीय संवेदना न्यून हुन्छ। मिल्ने साथी सँगै बसेर खाए पनि बिल आआफ्ना तिर्छन्। मुखले ठिक्क पार्छन्। मनले दिक्क मान्छन्। यहाँका मान्छेमा सहयोगी भावना पनि देखावटी हुन्छ।
मैले ५ युरो सहयोग गरेँ। मलाई मोबाइल नम्बर दिएर उनी बसमा चढिन्।
रेस्टुरेन्ट पुग्दा सधैँभन्दा अलिक ढिला भयो। म जापानिज सुसी बनाउँछु, जुन साइप्रसमा निकै लोकप्रिय छ। नौ सयदेखि २ हजार, २५ सय युरोसम्म तलब नेपाली सेफले पाइरहेका छन्।
यसअघि म दिल्लीमा राम्रै रेस्टुरेन्टमा काम गर्थें। तर, उचित दाम नपाएपछि मेरो रोजाइमा पनि साइप्रस परेको हो। एजेन्टलाई साढे ९ लाख तिरेर आएको मैले पछिल्लो महिनामा मात्रै ऋण चुक्ता गरेँ।
हिजो साँझ रेस्टुरेन्टमा व्यस्त भएको हुँदा म बिहानैदेखि तयारीमा जुटेँ। सालमन माछाको काँडा फालेँ। टुना माछा काटेँ। काँक्रो छिलेँ। एभोकाडो मिलाएँ। गाजर र कुरिलो उमालेँ। जापानिज भात पकाएँ। सम्झना भने सविताकै थियो।
सवितालाई तत्कालै कल गर्न सकिनँ। जसरी उनी प्रस्तुत भएकी थिइन्, मलाई केही न केही डर लागेको थियो। उनको नम्बर पाउन त्यो अभिनय गरेको त होइन। तर, उनले भनेको यथार्थ पनि हो। सहकर्मी मात्रै होइन, चिनेका साथीजतिले युवतीसँग प्रेम, नशा, शारीरिक सम्बन्ध अनि धोका दिएको मलाई थाहा छ। यसभित्र दुवैको स्वार्थ मिलेको हुन सक्छ। युवती शान्त रहन्छन् भने युवक छाती फुलाएर सुनाउँदै हिँड्छ- फलानी केटीसित मोज गरियो। प्रेमिकासितको नितान्त व्यक्तिगत कुरो खोलेर उनलाई बदनाम गर्नेले के साँचो प्रेम गर्दो हो र!
कालो बादलले दिनभरि आकाश छाडेन। वर्षा कहिले भारी त कहिले मत्थर भइरह्यो। सविताले देखाएको गाउँको डाँडोतिर कुहिरो लागिरह्यो।हावाको वेगले समुद्रमा छाल आइरह्यो। मेरो मन तरङ्गित भइरह्यो।
***
ह्वाट्सएपमार्फत् नमस्ते, के छ खबर, सञ्चै हुनुहुन्छ भन्ने छोटाछोटा म्यासेज केही दिनसम्म लेखिरहेँ। जहिले सविताको गुनासो रहन्थ्यो- पाँच युरो चाँडै फिर्ता गर्न पाए बल्ल आत्मसन्तोष मिल्थ्यो।
मैले बारम्बार इन्कार गर्दा पनि उनी मान्दिन थिइन्। यसरी नै हाम्रो संवाद तन्किरह्यो। परिवारबारे सोधपुछ भयो। उनको सम्बन्ध विच्छेद भएको रहेछ। दिलदेखि नै माया जागेर आयो। एउटा छोरो रहेछ। पूर्वपतिले छोरालाई खासै ध्यान नदिँदो रहेछ। निर्भीक नारी सवितालाई उच्च कोटीमा राखेँ।
पहिलोपल्ट भिडिओ कलमा बोल्यौँ।
‘जातले दलित हुँ। यो भनिरहँदा मलाई कुनै दुःख छैन। अछुत भनेर बोल्न छाड्नु हुन्छ भने पनि मेरो केही गुनासो रहने छैन। म अविवाहित हुँ। सायद एकअर्कालाई बुझ्न नसक्दा बिहे नभएको हुन सक्छ। भविष्यमा सम्बन्ध तोडिनु छ भने नजोडिएकै जाती हुन्छ,’ मैले भनेँ।
उनले पछुताउँदै जवाफ दिइन्, ‘मेरो जीवनमा आजसम्म भेटिएका पुरुषभन्दा तपाईं भिन्न लाग्नुभो। त्यो दिन त्यसरी नझर्किनुपर्ने रहेछ।’
‘तपाईंले एउटी मिल्ने साथी गुमाउनुभा’को थ्यो। त्यो अवस्थामा म पनि त्यसै गर्थें हुँला।’
‘म आउँदा ट्रान्जिट कतारमा थियो। त्यो बहिनीसित त्यहीँ चिनजान भो। फेसबुकमा साथी बन्यौँ। साइप्रस पुगेपछि आ–आफ्ना काम गर्ने घरतिर लाग्यौँ। पछि नम्बर साट्यौँ। दुःखसुखको कुरा गर्थ्यौं। एकदिन प्रेम प्रस्ताव आएको सुनाइन्। केटाले होटलमै काम गर्दो रहेछ। विचार गरेर मात्रै निर्णय लिने जानकारी गराएकी थिएँ। बेइमानी केटाले आफू अविवाहित भनेर ढाँटेको रहेछ। जब बहिनीले थाहा पाइन् तब अति ढिलो भइसकेको थियो। उनले मनपछि तन सुम्पिएकी रहिछन्। धोका पाएको भन्दै निकै रोइन्। सबथोक बिर्सिएर अगाडि बढ्ने ढाडस दिएँ। तर, बहिनीले गलत बाटो अपनाइन्। आत्महत्या समस्याको निराकरण होइन।’
‘साइप्रसवासी नेपालीहरूको बेहोरा निकै खेदजनक छ। मलाई पुरुष पक्ष मुख्य दोषी लाग्छ। किनकि उनीहरूको नजरमा युवती मात्र मनोरञ्जनको पात्र हुन्। युज एन्ड थ्रो मानसिकताले ग्रसित छन्।’ मैले सहकर्मीलाई सम्झिएँ।
‘तुलनात्मक हिसाबले होला तर युवतीहरूको व्यवहार पनि अपाच्य छ। हामीबाट केही ग्रिन सिग्नल नआउँदै युवा नजिकिँदैन भन्ने ठान्छु।’
‘फकाउने, फुर्क्याउने र धोका दिने पुरुष पक्षबाटै आरम्भ हुन्छ।’
‘अनि हामी किन उनका बहकाउमा आउँछौँ?’
‘माफ गर्नु होला यो अलिक अश्लील वाक्य छ।’
‘सकिनेजति भन्नुस्।’
‘महिलाको शरीर पाउन पुरुषले मायाको जाल फिजाउँछ। महिला प्रेममा परेपछि मात्रै पुरुषलाई शरीर सुम्पन्छन्। यहाँ सोच नै मिल्दैन भने सम्बन्ध कसरी अगाडि बढ्न सक्छ?’
‘प्रायः पुरुषले के भन्दा रहेछन् भने- हाम्रो सम्बन्ध शारीरक मात्रै हो। कोही महिला सहमत पनि हुँदा रहेछन्। अनि आरोप पुरुषलाई मात्रै कसरी दिन सकिन्छ? स्वार्थ दुवैको मिलेन र?’
‘प्रेमबिनाको शारीरिक सम्बन्धमाथि मलाई विश्वास छैन। अन्तः त्यसले मानसिक पीडा र शारीरिक यातना नै दिन्छ।’ मोबाइल स्क्रिनमा आफूलाई गम्भीर देखेँ।
‘संसारमा मात्रै होइन, साइप्रसमै नेपालीहरूमा यस्तो देखियो। महिला र पुरुषभन्दा पनि व्यक्तिको व्यवहारमाथि छाडिदिम्। स्वार्थका निम्ति सामीप्य बढाउँछन् नत्र टाढिन्छन्। यहाँको उच्छृङ्खलता तपाईं र मैले मात्रै रोक्न सम्भव छैन। परदेशमा कसरी प्रस्तुत हुने स्वविवेक प्रयोग गर्नुपर्छ। भविष्यमा साइप्रस काण्ड भनेर सामाजिक सञ्जालमा भाइरल पोस्ट हेर्न नपरोस्। अर्की चेलीले फेरि ज्यान नगुमाउन्।’ सविता चिन्तित भइन्।
‘परिचयले संवादको दैलो खोलेपछि उसको विचार बुझिन्छ। सोचाइले मेल खायो भने प्रेम विपरीत लिंगी हो या समलिंगीसँग पनि हुन्छ। महिला र पुरुषबीच प्रेमको अर्थ यो होइन कि शारीरिक सम्पर्क अनिवार्य हुन्छ। म पनि पितृसत्तात्मक संरचनामा हुर्किएको हुँदा त्यसका अवशेष पक्कै छन्। नारी झुकेको हेर्न मन पराउने अनि पुरुषले दुई/तीन वटीसम्म बिहे स्वीकार्ने समुदायले दिएको संस्कार मेरो मनमस्तिष्कमा अवस्थित छन्। तर, आफूलाई बदल्न हरदम लागिपरेको छु। गलतलाई चिर्न सही बाटो अपनाउनु पर्छ।’
‘तपाईंको यही सोचले मलाई नजिक ल्यायो।’
‘साइप्रसमा अधिकांश नेपाली युवाको युवतीप्रति हेर्ने दृष्टिकोण र गर्ने व्यवहार निकृष्ट छ। सहकर्मीलाई नियाल्छु। साथीलाई सुन्छु। मोबाइल नम्बरबाट सुरु भा’को सम्बन्ध शारीरिक सम्पर्कपछि समाप्त हुन्छ। तपाईंकी बहिनीले त साँचो प्रेम गरेकी थिइन्। साइप्रसमा मात्रै होइन, जीवनभर सँगै जिउने कल्पेकी थिइन्। केटाले यौन प्यास मेटाउन मायाको अभिनय गरेको थाहा पाएपछि उनले देह त्यागिन्। सविताजी मलाई यत्ति थाहा छ, जहाँ माया हुन्छ त्यहाँ अन्य वस्तुको मोह रहँदैन। जहाँ शारीरिक आकर्षण हुन्छ, त्यहाँ प्रेम हुँदैन।’
‘हुन त अन्य देशदेखि पनि नराम्रा समाचार सम्प्रेषण हुन्छन्। तर, साइप्रसमा जुन बेथिति देख्छु त्यसले मन कटक्क खान्छ। सन्डेको दिन निकोसिया, पाफस, लिमासोल सहरका पार्कमा हेर्नुस्। गाउने, नाच्ने, रमाउने र गफिएर घरपरिवारको याद भुलाउनेसम्म त ठिक हो। तर, नशाले लठ्ठिएकाहरू त्यहीँ भेटिन्छन्। मूर्खहरू झगडा गर्छन्। धूर्तहरूले फोन नम्बर माग्छन्। यौन पिपासुहरूले कुदृष्टि लगाउँछन्।’ यत्ति भनेर चिढिएकी सविताले छुट्टिने अनुमति मागिन्।
***
चैत महिनाको पहिलो हप्ता। साइप्रसमा वर्षा रोकिएसँगै तापमान वृद्धि भयो। विभिन्न देशदेखि पर्यटकको आगमन सुरु भयो। निर्मल आकाशको बिम्बले निलो देखिएको समुन्द्रमाथि सेता पर्यटकीय जहाज तैरिन लागे। कुहिरोले छोडेको पहाड मुसुस्क हाँसेझैँ लाग्थ्यो। तीन महिनाका लागि बन्द गरिएका होटल, रेस्टुरेन्ट, बजार पनि खोलिएसँगै चहलपहल बढ्यो।
सविता र मेरो म्यासेन्जरमा दिनहुँ सम्पर्क हुन थालेपछि एकअर्कालाई अझ गहिरिएर चिन्ने मौका मिल्यो। आफ्नै मान्छेजस्तो लाग्न थाल्यो। एक दिन भौतिक रूपमै भेट्ने योजना बनायौँ।
कालो चस्मा तर शृङ्गारहीन हँसिलो मुहार। कम्मर छुन आँटेको फुक्का केश। सानो कालो झोला। सेतो सर्ट। निलो जिन्स प्यान्ट। सेतो जुत्तामा सजिएकी सविता बसबाट ओर्लिन्। म उनकै प्रतीक्षामा पाफस बस पार्कनिर थिएँ।
गफिँदै पैदल बजारभित्र पस्यौँ। नेपाली रेूटुरेन्टमा दालभात, तरकारी, अचार र मासुको परिकार खाएपछि समुन्द्री किनारतिर हिँड्यौँ। यो मानवीय स्वभाव पनि हो, फोनमा जति खुलेर बात गर्थ्यौं त्यति तत्कालै भौतिक उपस्थितिमा अप्ठ्यारो लाग्यो।
‘कस्तो लाग्दै छ?’ मैले समुद्रतिर दृष्टि फ्याँकेँ।
‘यति धेरै मानिसबीच नेपाली पनि होलान्। हामीलाई देख्नेजतिले प्रेमी-प्रेमिका ठान्लान्। जुन विकृतिबारे बोल्छौँ, आज परिस्थितिले उही ठाउँमा उभ्याइदियो कि जस्तो लाग्छ।’ सविताले चस्मा खोलेर भनिन्।
‘पुर्ख्यौली उखान छ नि, वनको बाघले थाहा छैन तर मनकोले चैँ खान्छ। के महिला र पुरुष आत्मीय मित्र बन्न सक्दैनन् र?’
‘अवश्य सक्छन् तर समाजको नजरले दोस्ती होइन दोषी देख्छ।’
‘समुदाय आफू जस्तो हुन्छ अरूलाई पनि त्यस्तै सोच्छ।’
‘यो कहाँ जान्छ होला?’ उनले गाढा रातो रङको कन्टेनर बोकेको पानी जहाजतिर सिकाइन्।
‘मालवाहक हो। सायद ग्रिस अथवा तेस्रो मुलुकदेखि केही सामान ल्यायो होला।’ मैले अनुमान लगाएँ।
‘जीवन पनि त यस्तै रहेछ, जति दुःखको भारी बोके पनि डुब्न नसकिने।’ उनले हत्केलाको मद्दतले अनुहारमा परेको घाम छेकिन्।
‘सागरजस्तै पनि हुन्छ, जिन्दगीको गहिराइ नाप्न सकिन्न।’
‘फूललाई थाहा हुँदैन झर्नुपर्छ। र, फुलिरहन्छ। बगरलाई पनि थाहा हुँदैन बगेको पानी फर्कंदैन। र, पनि पर्खिरहन्छ। जीवन पनि यस्तै हो, निश्चित छैन। तर, पनि सुख अनि खुसी जीवन खोज्दै बितिजान्छ।’ उनी ओइलाएको फूलजस्तो भइन्।
‘निराशा होइन, आशाका दीप सधैँ जलाइरहनु पर्छ।’
‘अतीतमा जे भोगेँ त्यसको असर दिल र दिमागमा छाप बसेको छ। र, त ऊ त्यो चराजस्तो उड्न सक्दिनँ।’ उनले किनारमाथि उडिरहेको पक्षी देखाइन्।
‘भोगाइ नै जीवन जिउनुको सिकाइ हो। पोल्छ भन्ने चेत नपाउँदासम्म बच्चा पनि आगो समीप गइरहन्छ। ठेस लागेपछि मात्रै सम्हालेर हिँडिँन्छ। विगत पक्कै चहर्याउँछ, तर सधैँ चोट बोकेर पनि बाँच्न सकिन्न। दुख्ने घाउ नकोट्याएकै बेस हुन्छ।’ हामी ढुंगामाथि बस्यौँ। उता डुंगामा चढेर एक हुल पर्यटक रमाउँदै घुम्न गए।
‘आफ्नो भविष्य अन्धकार देख्दै छु।’ उनले लामो सास फेरिन्।
‘कसरी?’
‘अविवाहितले मसित बिहे गर्न मान्ने छैन। असल पुरुषसँग स्वास्नीले सम्बन्ध विच्छेद गर्दिनन्। स्वास्नी मरेकालाई आफ्ना नाता पर्ने भदैनी, सालीसँग लगन जुराइदिन्छन्। मेरो भागमा त्यही खराब पुरुष नपर्ने हुन्। त्यसैले बिहे गर्ने सोचमा छैन। तर, छोराले मैले भनेजस्तो बुहारी नभित्र्याउला। उनीहरूले छोडे भने अन्तमा म एक्लै हुन्छु। बिरामी पर्दा तातो पानी पुर्याइदिने आफन्त नहोलान्।’ छालले सागर छल्किएझैँ उनका आँखा रसाए।
‘आत्मसम्मानका लागि आत्मनिर्भर बनिरहनुभा’को छ। नत्र तपाईंजस्तै नारी सम्बन्ध जोगाउनकै निम्ति अहिले पनि लोग्नेको दमन सहेर सँगै बस्नुभा’को छ। बुढेसकालमा लोग्ने अथवा स्वानी एक्लै नै हुने हो, साथसाथै प्राण कसैको जान्न। जहाँ तपाईंलाई समान अधिकार मिल्ला त्यहाँ पुनः वैवाहिक सम्बन्ध गाँस्न सक्नु हुनेछ। नभए यसरी स्वतन्त्र जिउन पाइराख्नुभा’को छ। कुनै बेला अभाव हुन्छ होला तर दबाब पनि त छैन।’ मैले सम्झाएँ।
‘हामी बोल्न थालेको तीन महिनाजति भो। खै किन हो कुन्नि तपाईंका हरेक वाक्य मन पर्छन्।’
‘महिला आत्मनिर्भर बनेको मलाई गर्व लाग्छ। किनकि नकमाउने नारी राजाकै श्रीमती भए पनि शोषित हुन्छिन्। खानदानको इज्जतका लागि मुख खोल्न सक्दिनन्, यो तीतो सत्य हो। तपाईंका प्वाँख छैनन्, तर बन्धनमुक्त हुनुहुन्छ। खुट्टाको साङ्लोभन्दा भयावह चेतनाको दाम्लो हुन्छ।’
‘तपाईंजस्तै सोच भा’को पुरुष पाए भने बल्ल बिहे गर्छु, नत्र यस्तै ठीक छु। बरु मेरा लागि खोजिदिनुस् न।’ उनको मुस्कानले म पनि प्रसन्न भएँ।
‘प्रयास पूर्ण रहने छ। तर, भेटिनँ भने मलाई स्वीकार्नुहुन्छ?’ जिस्किएँ।
‘छोरासहित स्याहार्ने हिम्मत छ?’ उनले खित्का छाडेको मलाई साह्रै मन पर्यो।
‘मेरो आँटलाई मान्नै पर्छ है।’ म पनि हाँसेँ।
‘कल्पना गर्दा सपना देखिन्छ तर त्यो विपनामा पूरा हुन्न।’ समुद्रको गहिराइ हेर्दै उनी उदास भइन्।
‘दुई प्रेमी वैवाहिक बन्धनमा बाँधिएर मात्रै सफल हुने म ठान्दिनँ। प्रेम गर्ने जोडी त पक्षीजस्तो स्वतन्त्र हुन्छन्। जहाँ शारीरिक आकर्षण होइन, माया मात्रै हुन्छ।’ यत्तिकैमा मेरो मोबाइल बज्यो।
साथीले जे सुनाए त्यसले जिउ थरथरी भयो। निकोसिया सहरमा अर्की नेपाली युवतीले आत्महत्या गरिछन्। परिचय, प्रेम, शारीरिक सम्बन्ध, धोका अनि मृत्यु नै हो कि? सविता र म अवाक् भयौँ। हाम्रा मनमस्तिष्कमा पनि उपशंकाहरू सलबलाए। छुटिँदा कसिलो अँगालोमा बेरियौँ। अनायास आँसु बग्यो।
मध्यरातमा उनले म्यासेन्जरमा लेखिन्- आइ लव यु प्रतीक।
अलमल्ल परेँ। हुन्छ भनम् कि हुँदैन? विगतको संघर्षपछि सविताले अँगालेको मुक्तिको मार्गमा कदम चाल्ने रहर मलाई पनि थियो।
‘साइप्रसको प्रेम लार्नाका एयपोर्टसम्म हुन्छ।’ यहाँ यस्तै भनिन्छ। तर, म यो भाष्य बदल्न चाहन्छु। जीवनभर सविताको प्रेमी बनेर बाँच्ने इच्छा छ। छटपटी भयो। ओछ्यानबाट उठेर घटघटी पानी पिएँ। झ्याल खोलेर शान्त समुन्द्र नियालेँ। तर, मेरो छातीभित्र उछाल आइरह्यो।
मैले पनि जवाफ फर्काएँ- आइ लव यु टु।
क्रमशः
Shares

प्रतिक्रिया