बजारमा तरकारी सस्तो छ
मिटर ब्याजको ऋणले खेती गर्ने किसान
फलानाको पार्टीको हुन नसक्दा,
पारिबाट लछारपछार सहँदै
ब्ल्याकमा किनेको महङ्गो मलले
भाडाको जग्गामा फलाएको काउली
अहिले काउलीको हाल कस्तो छ?
सुन्दै छु
तिम्रा बन्दा, तिम्रा टमाटर
बिचौलियाको अमिलो डकारले
मूल्य नपाई मिल्केका छन् रे
किसान!
जब म उपभोक्ता भएर सोच्छु
काउलीलाई खुच्चिङ भन्न खोज्छु
हिजोसम्म टुप्पिएर भाउ खाको
आज बजार मूल्य नपाको!
फेरि म मान्छे भएर सोच्छु
मिटर ब्याजको पारो घटाउन
मल र जलको मूल्य तिर्न
तिम्रो काउलीको ल्याकत छ कि छैन?
तिम्रो तरकारी
हाम्रो भान्सासम्म आउन
थुप्रै भञ्ज्याङ छिचोल्नु पर्ने
ठालुका भुँडी भर्न
तिमीले भोकै बस्नु पर्ने
बिचौलिया उग्राएर बसेको बेला
तिम्रो तरकारीले मूल्य नपाउने!
त्यसैले आऊ किसान!
कोदाली चलाउनेहरू मिलेर
ढाल्देऊ नयाँ बर्लिनको पर्खाल
र खोज आफ्नो पसिनाको मूल्य
खुला बजार र उपभोक्ता अधिकारका कुरा
फुर्सदमा गरौँला।
१० माघ २०८१
बर्दिबास, महोत्तरी।
Shares

प्रतिक्रिया