कविकै कविता त हो
कवि कविता च्यात्न खोजिरहेछ
आफ्नै सन्तानजस्तो प्रिय कविता
किन च्यात्छ कवि कविता?
के कविमा वैराग्य आएको हो?
हैन
उसको कवितालाई अपमानित गरिएको छ
उसको मन दुखाइएको छ
सगरमाथा जस्तो उँचो शिर
उसलाई शिर झुकाउन बाध्य बनाइएको छ।
कविता आगो जस्तो दन्किरहेकै छ
कविता हिमाल जस्तो अग्लिरहेकै छ
तापनि तिमीहरु
कविता कमजोर भयो भन्छौ किन?
आरोपित गरे जस्तो
कविता कमजोर नहुनु पर्ने
कविता कसरी कमजोर हुन सक्छ?
कवितामा अलिकति जीवन छ
कवितामा अलिकति मृत्यु छ
कवितामा अलिकति संवेदना पनि त छ।
दुःखका चौतारीहरु पार गरेर
सन्तमान परेदशबाट गाउँ फर्किएको छ
के उसको आगमनको कथा
सुन्दर कविता बन्न सक्दैन र?
नारकीय जीवनको जञ्जिर चुँडालेर
नरमाया घर फर्कनु
के आफैँमा एउटा संघर्षको कविता हैन र?
स्कुल जान नपाएको हरिशरणको कथा
एउटा सुन्दर कविता बन्दैन र?
अनेक विषयहरु छन्
कविलाई कविता लेख्नका लागि
कुन विषय कसरी उठान गर्ने?
कवि द्विविधामा छ
कवि कविताको मूल सूत्र खोजी रहेछ
उसले अब संवेदना र आर्तनादका कविता लेख्नु पर्छ
उसले अब जन्म र मृत्युको कविता लेख्नु पर्छ
मानिसहरु भोकले छट्पटिरहेका छन्
उसले अब भोकले अकाल मरिरहेका मानिसहरुको कविता लेख्नु पर्छ।
समय वेगवान् छ
समयलाई रोक्ने दुस्साहस नगर
तिमी प्रतिगामी बन्ने किन ?
छोडिदेऊ बादशाहका तिलस्मी कथाहरु
तिमीले अग्रगामी छलाङ मार्नु पर्छ
मौका आउँछ पर्खंदैन
बगेको खोलो फर्कंदैन
उसले कविता लेख्न छोड्यो भने
सुन्दर संसारको अन्त्य हुन्छ
तिमीलाई थाहै होला
कहिले मरेर बाँच्नु पर्छ
कहिले बाँचेर मर्नु पर्छ
कहिले रोएर हाँस्नु पर्छ
कहिले हाँसेर रुनु पर्छ
नियतिको खेल अनेक हुन्छ
कविले कविता च्यात्दै गर्दा
एउटा नरपशु हाँसिरहेको हुन्छ
जब कवि कविता लेख्छ
तब संसार मुस्कुराइरहेको हुन्छ।
उसको दुःखमा
साथ दिने कोही नभए पछि
सुख जति अर्कैलाई खोसाएर
उसको भागमा दुःखैदुःख मात्रै पर्न सक्छ
दुःखमा जिउन सिक
दुःखको कविता साँच्चै पीडादायी हुन्छ
कहाँ छन सम्पादकहरु?
कहाँ छन प्रकाशकहरु?
उसको कवितालाई स्तरहीनको बिल्ला भिराएर
तिनीहरु मुस्कुराइ रहेछन किन?
के युद्ध जित्यौ तिमीले?
एउटा कविलाई रुवाएर।
कवि शोकाकुल छ
कविता मारिए पछि
शोकसभा आह्वान गर्नु पर्ने हो उसले
तर टोलाइरहेछ कवि
बार, बार नजिस्काऊ कविलाई
उसको धैर्य टुट्न सक्छ
ऊ त आगो जस्तो कविता लेख्छ
आगोको गीत गाउँदै
आगोमै नाच्ने गर्छ
होस गर कायरहरु
कवि तिम्रो दुश्मन हो
तिमीलाई सजिलै बाँच्न कहाँ दिन्छ ?
तिमीले कति तड्पायौ कविलाई?
अब कविले तिमीलाई तड्पाउँछ।
नठान युद्ध जितेँ भनेर
युद्धको हार जित त नियमै हो
पासा पल्टेपछि
तिमीले युद्ध हार्नु पर्छ
भुसको चुल्होको काम नै के छ र
त्यसलाई जलाइ दिए हुन्छ
भुसको आगोसँगै तिमी खरानी भएपछि
कवि भावुक बन्छ
कविले दुःख प्रकट गर्दै
तिम्रो नाममा
एक मुठ्ठी मट्टी सहित
जब हार्दिक श्रद्धान्जली दिन्छ
तब मात्रै कविले निष्ठाको युद्ध जित्छ।
Shares

प्रतिक्रिया