ad ad

जीवनशैली


बाल्यकालको मोटोपन युवावस्थामा रोग : केटाकेटीलाई सिकाउनुहोस् यी राम्रा बानी

बाल्यकालको मोटोपन युवावस्थामा रोग : केटाकेटीलाई सिकाउनुहोस् यी राम्रा बानी

नेपालखबर
जेठ १२, २०८१ शनिबार १०:४,

विश्वमा सबैभन्दा धेरै मानिसको मृत्यु मुटुरोगका कारण हुने गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वभर मृत्युका शीर्ष १० कारणहरूको सूची बनाएको छ। शीर्ष ४ कारण मुटुसँग सम्बन्धित रोगहरू हुन्। धेरैजसो मुटुरोग मानिसको जीवनशैलीका कारण लागेको डब्ल्यूएचओको सर्वेक्षणले देखाएको छ। यसमा पनि मोटोपना, उच्च रक्तचाप र मधुमेहजस्ता रोग प्रमुख कारकका रुपमा देखिएका छन्। 

अमेरिकन जर्नल अफ हाइपरटेन्सनमा प्रकाशित भएको एक अध्ययनले सानै उमेरमा मोटोपन भएका बालबालिकामा यौवन अवस्थामा पुग्दा मुटु रोगको जोखिम २ देखि ३ गुणा बढी हुने देखाएको छ। उनीहरुमा उच्च रक्तचाप र अंगप्रत्यंग फेल हुने पनि उच्च सम्भावना रहने अध्ययनले पत्ता लगाएको छ। 

पछिल्ला केही वर्षयता मोटोपना सबैभन्दा छिटो बढिरहेको रोग हो। यो संसारभर समान रूपमा फैलिएको छ। मोटोपना ठ्याक्कै यही उमेरका मानिसमा मात्रै हुन्छ भन्ने अवस्था छैन। हरेक उमेर समूहका मानिसलाई मोटोपनाले सताएको छ। 

पहिले मोटोपना सामान्यतया वयस्क र वृद्धहरूमा बढी देखिन्थ्यो। अहिले बालबालिकामा पनि यो सामान्य बन्दै गएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२२ मा विश्वभर ५ वर्षमुनिका करिब ३.७ करोड बालबालिकाको तौल बढी थियो। 

सन् १९९० र २०२२ को बीचमा मोटोपनबाट पीडित किशोरकिशोरीको संख्या चार गुणाले बढेको छ। यही अवधिमा मोटोपन भएका वयष्कहरुको संख्या पनि दोब्बर भएको छ। मोटोपनको बढ्दो संख्या हेरेर विश्व स्वास्थ्य संगठनले यसलाई महामारी घोषणा गरेको छ। संसारको ठूलो जनसंख्या चाँडै नै मोटोपनाबाट प्रभावित हुने उल्लेख गरिएको छ।

मोटोपना यस्तो जीवनशैली रोग हो, जुन धेरै घातक रोगहरूको कारण बन्न सक्छ। यसले हृदयाघात र क्यान्सर जस्ता खतरनाक रोगहरूको जोखिम बढाउँछ। 

साना बालबालिकामा मोटोपन हुनुको कारण जे भए पनि बालबालिकालाई त्यसका लागि जिम्मेवार मान्न सकिँदैन। किनभने उनीहरूले बुझ्दैनन्– उनीहरू के गरिरहेका छन्, के खाइरहेका छन्, के पिइरहेका छन्। उनीहरुलाई कुन जीवनशैली मोटोपनको कारण बन्न सक्छ भन्ने पनि थाहा हुँदैन। साना बालबालिकाको मोटोपनको जिम्मेवार अभिभावक र वरपरको वातावरण हुन्छ।

बालबालिकामा मोटोपनाका कारण : बेबीफुड, जंकफुड र फास्टफुड
साना बालबालिकाका लागि बेबीफुड प्रशस्त मात्रामा उत्पादन गरिएका छन्। विज्ञापनमा चिकित्सकहरूले बट्टाको बेबीफुड सिफारिस गरेको देखाइन्छ। आमाबाबुले टीभीमा हेर्छन् र आफ्नो बच्चाको लागि त्यही ल्याउँछन्। वास्तवमा यी खाद्य पदार्थहरूको पोषण प्रशोधनको समयमा कम हुन्छ। यी खानामा मिसाइने मसला तथा केमिकलले बालबालिकाको आन्द्राको स्वास्थ्य बिगारिरहेको छ।

जंकफुड र फास्टफुड घरमा आमाबुवा वा ठूलाले खाने गर्छन्। बच्चाहरूले पनि उनीहरूबाट सिकेर त्यसको स्वाद मन पराउँछन्। फास्टफुडले दिउँसो र बेलुकाको खानालाई समेत प्रतिस्थापन गरेको अवस्था छ। प्याकेटमा आउने चिप्स, क्रिस्प र बिस्कुटले पनि स्वास्थ्यमा नकारात्मक असर गरिरहेका हुन्छन्। यसमा पाइने चिनी र नुनका कारण बालबालिकाको तौल बढ्दै गएको छ।

शारीरिक गतिविधि शून्य
पहिले खेल मैदान बालबालिकाका लागि मनोरञ्जनको माध्यम थिए। अहिले यो ठाउँ मोबाइल फोन र अन्य ग्याजेटहरूले कब्जा गरेको छ। विद्यालयमा राम्रो प्रदर्शन र नतिजाको दबाबले पनि उनीहरूलाई खेल मैदानबाट टाढा राखेको छ। शारीरिक क्रियाकलापको कमीका कारण बालबालिकाको शरीरमा बोसो जम्मा हुन्छ, जुन उनीहरुको तौल बढ्नुको प्रमुख कारण हो।

हर्मोन परिवर्तन
जन्मदेखि २० वर्षको उमेरसम्म बालबालिकाको मानसिक र शारीरिक विकास तीव्र गतिमा हुन्छ। यस अवधिमा धेरै हर्मोनहरू सक्रिय हुन्छन्। यो पनि बालबालिकाको तौल बढ्नुको एउटा कारण हो।

चिन्ता र डिप्रेसन
साना बालबालिकाको तनावलाई प्रायः बेवास्ता गरिन्छ। उनीहरुलाई परिवर्तन भैरहेको आफू वरपरको वातावरणले प्रभाव पारिरहेको हुन्छ। उनीहरुलाई स–साना कुराले तनाव दिइरहेको हुन्छ। जसले उनीहरुलाई डिप्रेसनको अवस्थासम्म पु¥याउन सक्छ। चिन्ता र डिप्रेसन पनि मोटोपनाको कारण हो।

मोटोपनबाट कसरी छुटकारा पाउने?
चिकित्सक डा. अकबर नकवी भन्छन्, ‘हामीले अभिभावकत्व धेरै जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्छ। हाम्रो गल्तीले भविष्यमा बालबालिकालाई रोग लाग्न सक्छ।’

उनले सुझाएका उपाय यसप्रकार छन् :
बच्चाहरूलाई स्वस्थ जीवनशैली अपनाउन सिकाउनुहोस्।

उनीहरुलाई ग्याजेटको सट्टा खेल मैदानमा खेल्न प्रोत्साहन दिनुहोस्।

आहारमा स्वस्थ र फाइबरयुक्त खानेकुराहरू समावेश गर्न सिकाउनुहोस्।

टीभी वा स्क्रिन हेरेर खाना खाने बानी नगर्नुहोस्।

हरेक दिन ७ देखि ८ गिलास पानी पिउने बानी बसाल्नु जरुरी छ।

हरेक दिन आधा घण्टा शारीरिक क्रियाकलापको लागि उत्प्रेरित गर्नुहोस्।

(दैनिक भास्करबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .