जीवनमा खुसी हुन के चाहिन्छ? धेरै पैसा, असल साथीहरू, मायालु परिवार वा रोमान्टिक पार्टनर! निसन्देहः जीवनमा यी प्रत्येक चीजको आआफ्नै महत्त्व छ। तर, सबैभन्दा धेरै साथीहरु भएको धनी मानिस पनि खुसी नहुन सक्छ। मयालु परिवारमा बसेर पनि उसले आफूमा खुसी नभेट्न सक्छ।
हार्वड विश्वविद्यालयले १ सयवर्ष पहिलेदेखि खुसी कहाँ छ भन्ने विषयमा अध्ययन सुरु गरेको थियो। पुस्ता परिवर्तन हुँदै गयो, एकपछि अर्को पुस्ताका प्रोफेसरहरू आइरहेका थिए, तर अध्ययन भने जारी रह्यो। १० हजारभन्दा बढी परिवारमा करिब १ सय वर्षसम्म चलेको यो अध्ययनले अन्ततः जीवनमा खुसीको चाबी कहाँ छ भन्ने प्रश्नको जवाफ फेला पारेको छ।
अध्ययनमा भनिएको छ, ‘त्यो प्रेम र कृतज्ञतामा छ। खुसीको हार्मोन धन्यवाद भन्ने कला, आभारी हुने कलाबाट बढ्छ।’
त्यसैले आज यहाँ हामी कृतज्ञताको बारेमा कुरा गर्दैछौँ। धन्यवाद भन्नु र सुन्नुको महत्वका बारेमा पनि चर्चा गर्दैछौँ।
आध्यात्मिक गुरु तिक न्यात हन्हका अनुसार बुद्धले आफू हिँडेको भूमिप्रति पनि कृतज्ञता व्यक्त गरेका थिए। रुख, फलफूल, फूल र अन्नहरू उब्जाएको माटो, हावा र नदीहरूप्रति कृतज्ञता व्यक्त गरेका थिए।
खुसीसम्बन्धी अध्ययनको नेतृत्व गरेका हार्वर्डका प्रोफेसर डा. रोबर्ट वेल्डिंगर कृतज्ञता महसुस गर्नु र व्यक्त गर्नु सास फेनु जत्तिकै स्वाभाविक हुने बताउँछन्। एकदिन उनीकहाँ एक जना पुरुष आएका थिए। ती पुरुषसँग आफ्नी श्रीमतीप्रति थुप्रै गुनासा थिए। सबै गुनासा सुनेपछि वेल्डिंगरले ती पुरुषलाई आफ्नी श्रीमतीले गर्ने सबै कामको सूची बनाउन आग्रह गरे। जुन सूचीमा खाना पकाउनेदेखि लिएर उनको औषधि र कार्यालयका फाइलहरूको हेरचाह गर्नेसम्मका सयौँ कामहरू थिए।
सूची हेरेर उनले पुरुषलाई प्रश्न गरे, यी सबै काम नगरेको भए के हुन्थ्यो?
अन्ततः आफ्नो ब्लडप्रेसरको औषधि समयमै खान बिर्सिने, अफिसका फाइलहरू घरमै बिर्सिने र घरमा स्वस्थ खाना खानुको सट्टा बाहिर अस्वस्थ खाने कुरा उनले स्वीकार गरे।
वेल्डिंगरले भन्छन्, ‘उनको जीवनमा धेरै सुन्दर थियो। जुन सुन्दरता महसुस गर्न उनले आभारी हुन जान्नु पथ्र्यो। तर उनले ती कुरामा कहिल्यै ध्यान दिएनन्। यी साना कुराहरूको लागि आफ्नी श्रीमतीलाई कहिल्यै धन्यवाद दिएनन्। गुनासो मात्रै गरिरहे। उनले खुसी पाएनन्।
अब प्रश्न आउँछ, धन्यवाद दिनेबित्तिकै खुसीको ढोका खुल्छ त?
डा. मार्टिन सेलिगम्यान प्रसिद्ध अमेरिकी मनोवैज्ञानिक र पेन्सिलभेनिया विश्वविद्यालयमा मनोविज्ञानका प्राध्यापक हुन्। उनले खुसी र कृतज्ञताबीचको सम्बन्धबारे अनुसन्धान गरे। यो अनुसन्धानमा डा. मार्टिनले ४ सय ११ जनालाई सहभागी गराए। सहभागीहरुलाई नजिकका मान्छेलाई पठाउन धन्यवाद पत्र लेख्न भनियो। त्यसको कारणले उनीहरूको जीवनमा केही राम्रो परिवर्तन आएको थियो। तर सहभागीरुले खुलेर धन्यवाद नभनेका कारण खुसीको मात्रा कम देखिन्थ्यो। अनुसन्धानका क्रममा सहभागीहरुको कृतज्ञताको व्यक्त गर्दाको अवस्था हेरेर खुसीको हर्मोन पनि विभिन्न समयमा मापत गरिएको थियो।
धन्यवाद पत्र लेखेर आफ्नो प्रियजनलाई पढेर सुनाउँदा सहभागीहरूको आनन्दको तह बढ्दै गएको डा. मार्टिनले पाए। अर्थात्, धन्यवादको प्रत्यक्ष सम्बन्ध खुसीसँग उनको निष्कर्ष थियो। यो अवधिमा सहभागीहरूको तनाव हार्मोन कोर्टिसोलको स्तर २३ प्रतिशतले घटेको अध्ययनले बताएको छ।
धन्यवाद अरुलाई फाइदा आफूलाई!
हामीलाई कुनै व्यक्तिको बारेमा केही मनपर्छ वा उसले हाम्रो लागि केही राम्रो गर्छ भने, हामी उसलाई धन्यवाद दिन्छौँ। धन्यवाद भन्दा ती व्यक्ति खुसी पनि हुन्छन् र उसँगको सम्बन्ध पनि सुध्रिन्छ। तर, त्यसभन्दा बढी फाइदा धन्यवाद भन्नेलाई हुन्छ।
उदाहरणका लागि, एक दिन अफिसबाट फर्केपछि, आज तपाईंलाई कुन सहकर्मीले राम्रो व्यवहार गर्नुभयो भनेर एक्लै सोच्नुहोस् र त्यसपछि मानसिक रूपमा उहाँलाई यसका लागि धन्यवाद दिनुहोस्। सम्भव भए आफ्नो डायरीमा ‘धन्यवाद नोट’ लेख्नुहोस्। यसो गर्दा पनि हाम्रोभित्र खुसी हर्मोन उत्पादन हुन्छ।
हामी कसैप्रति कृतज्ञ छौँ, शब्दमा व्यक्त गरेका छैनौँ भने पनि त्यो भावले काम गर्छ। यद्यपि, सही व्यक्तिलाई सही समयमा सही शब्दहरूमा कृतज्ञता व्यक्त गर्नु राम्रो हुन्छ।
अमेरिकाकी प्रसिद्ध मनोचिकित्सक एमिली एच स्यान्डर्सका अनुसार प्रेम जति छ, त्यति नै महसुस हुनेछ। तर जब तपाईं आफ्नो पार्टनरलाई प्रेम व्यक्त गर्नुहुन्छ, उसले पनि थप माया देखाएर फिर्ता गर्नेछ। उनका अनुसार माया देखाउँदा विस्तारै बढ्दै जान्छ र कृतज्ञता यसका लागि राम्रो माध्यम बन्न सक्छ।
(दैनिक भास्करबाट)
Shares
प्रतिक्रिया