ad ad

कारोबार


भोलिदेखि हुँदै ‘प्रथम नेपाल आँप फेस्ट’, १५ थरि स्वाद

भोलिदेखि हुँदै ‘प्रथम नेपाल आँप फेस्ट’, १५ थरि स्वाद

नेपालखबर
असार ६, २०८१ बिहिबार १५:४०, काठमाडौँ

काठमाडौंमा असार ७ गतेबाट ‘प्रथम नेपाल आँप फेस्ट’ हुने भएको छ। ‘नेपाली उत्पादनलाई समर्थन गरौं, ताजा र स्वादिलो आँपको आनन्द उठाऔं’ नाराका साथ हुने फेस्ट असार ९ गतेसम्म चल्नेछ।

यो फेस्ट किसान भेन्चर र काठमाडौं अर्गानिक्सको संयुक्त आयोजनामा आयोजनामा हुन लागेको हो। सर्लाही, सप्तरी, र सिराहाका ५० किसानहरूबाट प्रत्यक्ष खरिद गरेर ल्याइएका विभिन्न प्रजातिका आँपहरू यो मेलामा प्रदर्शनी गरिने आयोजकले जनाएको छ।

फेस्टमा माल्दा, जर्दा, बम्बै, गुलाब खास, अम्रपाली, कलकतिया, दसहरी लगायत १५ भेराइटीका आँपहरू उपलब्ध हुनेछन्। सबै आँपहरू सिधा किसानबाट खरिद गरेर ल्याइने हुँदा ताजा र सस्तोमा उपभोक्तासम्म पुर्‍याइनेछ। मेलामा प्राकृतिक रुपमा पाकेका र पकाइएका आँपहरू मात्र उपलब्ध हुनेछन्।

आँप फेस्टमा ग्राहकहरुले आँपको स्वाद चाखेर ५ र २० किलोको बक्समा आँप किन्न पाउने व्यवस्था मिलाइएको छ।

फेस्टको प्रमुख उद्देश्य भनेको नेपाली आँपको प्रचलन बढाउनु, नेपाली किसानहरूलाई प्रोत्साहन गर्नु र उपभोक्ताहरूलाई विषादीरहित स्वस्थ आँपको पहुँच पुर्‍याउनु हो।

फेस्टको उद्घाटन समारोह असार ७ गते पानीपाेखरीस्थित वालनट बिस्ट्रोमा हुनेछ। वालनटसहित काठमाडौं अर्गानिक्स, उत्पला क्याफे बौद्ध र द गार्डेन झम्सिखेलमा तीन दिननै आँप र आँपबाट बनेका विभिन्न उत्पादनहरु प्रदर्शनी एवं बिक्रीवितरण गरिनेछ।

फेस्टमा विभिन्न कम्पनीका १० वटा स्टलहरू रहनेछन्, जहाँ ग्राहकहरूले आँपका विभिन्न उत्पादनहरू जस्तै अचार, आँपको पाउडर, डिहाइड्रेड म्याङ्गो, जाम लगायतका वस्तुहरू पनि पाउन सक्नेछन्।

नेपालमा पछिल्लो समय भारतबाट आँपको अत्यधिक आयात भइरहेको छ। नेपाली आँपको सिजन ४५ दिन मात्र चल्छ र यस अवधिमा पनि हामी भारतबाट आँप आयात गर्न बाध्य छौं। विषादी प्रयोग गरिएका महँगा आँपहरू उपभोग गर्नुको सट्टा, यस फेस्टले नेपाली आँपको बारेमा जानकारी प्रदान गरी स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्य राखेको विज्ञप्तिमा उल्लेख छ। 

आँप फेस्टको दोस्रो दिन, शनिबार उत्पला क्याफेमा भब्य कार्यक्रम हुनेछ। जसमा ३५ सय जना आगन्तुकहरूको सहभागिता हुने अपेक्षा गरिएको छ। तीन दिनको अवधिमा २५ देखि ३० टन आँप विक्री गर्ने लक्ष्य राखिएको छ। फेस्टमा म्याङ्गो इटिङ कम्पिटिस' जस्ता रमाइलो कार्यक्रमहरू पनि समावेश गरिएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .