ad ad

जीवनशैली


नवजात शिशुको स्याहार, के गर्ने, के नगर्ने : डा. निभा राजभण्डारी (भिडिओ)


समृद्धा केसी
चैत १८ , काठमाडौँ

नवजात शिशुको पालनपोषण र हेरचाहका विषयमा काठमाडौं थापाथलीस्थित ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा कार्यरत बाल रोग विशेषज्ञ डा. निभा राजभण्डारी श्रेष्ठसँगको कुराकानीः
 

पहिलो पटक आमाबुबा बनेकाले नवजात शिशुको स्याहार कसरी गर्ने? 
नवजात शिशु भन्नाले जन्मेदेखि २८ दिनसम्मको बच्चा भन्ने बुझिन्छ। जब बच्चा जन्मिन्छ, अभिभावकहरुले सबैभन्दा पहिला थाहा पाउने कुरा भनेको बच्चालाई धेरै लुगाहरु नलगाइदिने र स्तनपान गराउने हो। बच्चा जन्मिएर जब हामी अभिभावकलाई दिन्छौँ, तेल लागाइदिने चलन छ, त्यस्तो गर्नु हुँदैन। 

बच्चालाई दुई–दुई घण्टाको फरकमा दूध खुवाउनु पर्छ। कतिपय अभिभावकहरुले बच्चा रुनेबित्तिकै र पिसाब फरेपिच्छे दूध खुवाउने गर्नु हुन्छ, तर त्यस्तो गर्नु हुँदैन। दुईदुई घण्टाको फरकमा मात्र दूध खुवाउनु पर्छ। 

अहिले धेरै देखिने समस्या भनेको पहिलो पटक आमा बनेकाहरुको एकदुई दिनसम्म दूध नआउने हो। त्यस्तो बेलामा फर्मुला दूध (बट्टाको दूध) खुवाउनु पर्छ। तर समाजमा बट्टाको दूध खुवाउनु हुँदैन भन्ने भनाइ छ। आमाको दूध राम्रोसँग नआउँदा पनि जसरी भए पनि आउने गराएर आमाकै दूध खुवाउनुपर्छ भनेर बसियो भने बच्चाको सुगर घट्ने र इन्फेक्सन हुने डर बढ्छ। 

आमाको दूधजस्तै फर्मूला दूध पनि हरेक दुई दुई घण्टामा खुवाउनु पर्छ। बच्चा सुतिरहेको छ भने उठाएर भए पनि खुवाउनु पर्छ। र रातको समयमा तीनतीन घण्टाको फरकमा खुवाउनु पर्छ। 

नवजात शिशुको आँखा, कान र नाकमा तेल लगाएर मसाज गर्ने चलन छ खासमा यो गर्न हुन्छ कि हुँदैन? र, कुन तेल लगाउँदा राम्रो हो? 
हामीसँग धेरैथरीका तेलहरु हुन्छन्। पहिले–पहिले तोरीको तेल घरमै बनाएर लगाइन्थ्यो, जुन धेरै शुद्ध थियो होला। तर अहिले हामीले तोरीको तेल लगाएको बच्चाहरुमा धेरै एलर्जी भएको देखेका छौं। तोरीको तेल लगाएका बच्चाहरुमा एकदमै धेरै खटिराहरु आएको देखिन्छ। खटिरा आउँदा पनि कतिपय परिवारले नमानेर तोरीको तेल नै लगाइदिँदा त्यो पाकिसकेपछि हामीकहाँ ल्याउनु हुन्छ। 

सबैको आ–आफ्नै धारणा हुन्छ। म चाहिँ बच्चा जन्मेको २८ दिनसम्म तोरीको तेल नलगाउन सुझाव दिन्छु। २८ दिनसम्म चाहिँ तोरीको तेल लगाउनै हुन्न। बरु बेबी प्रडक्ट लगाउनु भन्छु।

तेल लगाउँदा पनि एकदमै कडा हातले जोडले मसाज गर्नु हुँदैन २८ दिनसम्म। एकदमै हलुका मसाज गर्नु पर्छ। किनभने त्यो बेलासम्म बच्चाको शरीर कमलो नै हुन्छ। त्यसैले शरीरमा बिस्तारै मसाज गर्दै तेल लगाउनु पर्छ।

त्यो बाहेक बच्चाहरुको कान, आँख, नाक, नाइटो र छोराको पिसाब फेर्ने ठाउँमा तेल लगाएर स्किन तान्दिने चलन छ, त्यस्तो गर्नु हुँदैन। र, अर्को भनेको धेरैले बच्चाहरुको निप्पल निचोर्ने गर्नु हुन्छ। त्यो पनि गर्नु हुँदैन त्यस्तो गर्दा इन्फेक्सन हुने सम्भावना धेरै हुन्छ। नाक र कानमा तेल लगाउँदा पनि पाक्न सक्छ। 

धेरैले नाकमा तेल लगाइलियो भने सिंगान बाहिर निस्कन्छ र त्यसले नाक बन्द हुने समस्या हराएर जान्छ भन्ने चलन छ तर त्यस्तो हुँदैन। झन् त्यसले इन्फेक्सन गराउने सम्भावना बढाउँछ।

बच्चाहरुको नाक बन्द हुने धेरैमा देखिने समस्या हो। जुन बच्चाहरुलाई चार देखि ६ महिनासम्म रहन सक्छ। त्यो बिस्तारै आफैँ कम हुँदै जान्छ। यदि बच्चाको नाक धेरै बन्द हुन्छ भएको छ भने नाक खोल्ने औषधिहरु र साधारण नुनपानीले सफा गर्न सकिन्छ। 

बच्चालाई तोरीको तेल लगाउनै नहुने कारण के हो? 
बच्चालाई तोरीको तेल लगाउँनै हुँदैन भन्ने चाहि होइन। तर २८ दिनसम्म चाहिँ सकभर नलगाएकै राम्रो हो। तोरीको तेलले फोहोर पनि पार्छ। बच्चा जन्मिएको पाँच दिनदेखि १४ दिनसम्म जन्डिस देखिरहेको हुन्छ र कहिलेकाहिँ तोरीको तेलले त्यो बढेको जस्ता देखिन्छ। र अभिभावकहरु आत्तिन्छन्। 

अर्को भनेको तोरीको तेल लगाएर बच्चालाई घाममा राख्दा सनबर्न बढी भएर उनीहरु छिटो डढ्छन्। र, तोरीको तेलमा कुनै एउटा चिज छ जसले इन्फेक्सन भएर छालामा फोकाहरु ल्याउँछ, जुन अन्य तेलको तुलनामा तोरीको तेलमा बढी हुन्छ। तोरीका तेलभन्दा बेबी तेल, ओलिभ तेल र नरिवलको तेलमा सनबर्न हुने जोखिम पनि कम छ र खटिरा आउने जोखिम पनि कम छ। 

दुख्दा वा समस्या पर्दा बच्चाहरु बोल्न सक्दैनन् र उनीहरु रोएर आफ्नो कुरा व्यक्त गर्छन् भनिन्छ। खासमा बच्चाको रुवाइलाई कत्तिको सामान्य मान्ने?
धेरै अभिभावकले बच्चा रुने बित्तिकै भोकाएर होला भन्दै दूध खुवाइहाल्ने गर्छन्। जति पटक बच्चा रुन्छ, त्यति नै पटक दूध खुवाइहाल्ने बानी हुन्छ तर त्यस्तो गर्नु हुँदैन किनभने उनीहरुलाई धेरै दूध भएर पेटमा ग्यास बढेर पनि रोएका हुन् सक्छन्। 

अर्को भनेको आमाहरुको दूध नआएर भोको भएर पनि रोएको हुन सक्छन्। बच्चाले आमाको दूध चुसिरहेको हुन्छ र धेरैले बच्चाले दूध आएरै चुसेको छ भन्ने सोच्छन्। जब बच्चाले दूध चुस्छ र आउँदैन त्यो बेला उनीहरुको पेटमा हावा मात्र गइरहेको हुन्छ। हावा पेटमा गएर भरिन्छ र कोलिक पेन हुन्छ। 

सबैभन्दा बढी बच्चा रुने भनेको माथि भनिएका समस्याले गर्दा हो। यो समस्या बच्चा जन्मिएको दुईतीन दिनदेखि देखिन थाल्छ र यो समस्या धेरै बच्चाहरुमा देखिन्छ। त्यो बाहेक बच्चाले पिसाब फेरेपछि रुने हो। 

हरेक आमाले सबैभन्दा पहिला के बुझ्नुपर्यो भने आफ्नो दूध कति आइरहेको छ या छैन भनेर थाहा पाउनु पर्छ। त्यो बाहेक बच्चाले हरेक पटक पिसाब फेर्दा बच्चाको पेट खाली हुँदैन त्यसैले पिसाब फेर्ने बित्तिकै बच्चालाई दूध खुवाइहाल्नु पर्दैन। 

बच्चा जन्मिएको दिनदेखि एउटा रुटिन फलो गर्नु पर्छ। हरेक दिन दुई–दुई घण्टाको फरकमा दूध खुवाउँदा बच्चामा देखिने धेरै समस्या कम भएर जान्छन् र उनीहरु रुन पनि कम गर्छन्।

बच्चाले दूध खाने बित्तिकै उल्टी गर्ने समस्या पनि धेरैमा हुन्छ। त्यसलाई कसरी कम गर्ने?
स्तनपान गराइसकेपछि हरेक समय ढ्याउ गराउन धेरै आवश्यक हुन्छ। दूध खुवाउनेबित्तिकै बच्चालाई काँधमा राखेर ढाडमा बिस्तारै मसाज गर्नु पर्छ त्यसो गर्दा बच्चाले ढ्याउ गर्छ। कुनैकुनै बच्चालाई ढ्याउ गर्न धेरै समय लाग्ने गर्छ त्यो बेला बिस्तारै पल्टाएर टाउकोमा सिरानी राखेर टाउकोमाथि र पेट तल गरेर सुताउँदा पनि बच्चाले ढ्याउ गर्छ। 

त्यस्तै आमाहरुले बच्चालाई दूध खुवाउनेबित्तिकै फोहोर भयो भनेर न्यापी चेन्ज गर्ने, सफा गरिदिने, बच्चालाई धेरै हल्लाउने गर्दा बच्चाले उल्टी गर्छ। त्यसैले बच्चाले दूध खाने बित्तिकै चलाउनु हुँदैन। 

बच्चालाई दूध खुवाउने बित्तिकै सिधा उत्तानो पारेर सुताउनु हुँदैन। त्यसो गर्दा बच्चाले उल्टी गर्दा सर्किने डर हुन्छ। त्यसो भए फोक्सोमा पुगेर निमोनिया हुने सम्भावना बढ्छ। त्यसैले बच्चालाई दूध खुवाउने बित्तिकै कोल्टे सुताउनु पर्छ।

बच्चाका लागि आमाको दूध कति आवश्यक छ? 
बच्चाका लागि आमाको दूध अमृत समान हुने भएकाले त्यसको महत्व धेरै छ। सबै आमाको दूध आउँछ भन्ने हुँदैन केही दूध नै नआउने समस्या हुन्छ। केहीको कम दूध आउँछ तर हाम्रो समाजमा आमाको दूध नआउँदा विभिन्नथरी कुरा सुनाएर धेरै नै तनाव दिने गर्छन्। जसले गर्दा आइरहेको दूध पनि कम हुन्छ।

आमाको दूधले बच्चालाई नपुगेको खण्डमा फर्मूला दूध खुवाउनु पर्छ। यो आमाको दूध जस्तो पोषिलो त पक्कै पनि हुँदैन। तर गाई भैँसीको दूधको तुलनामा भने राम्रो मानिन्छ।

गाउँघरतिर वा सहरतिर पनि आमाको दूध नआउदा गाई, भैँसीको दूध खुवाइन्छ तर त्यो स्वस्थकर होइन। किनभने गाईभैँसीको दूध त उनीहरुको आफ्नो बच्चाका लागि हो। मानिसको बच्चाको लागि होइन। हाम्रो समाजमा बच्चा दुई वर्ष नपुग्दासम्म गाईभैँसीको दूध खुवाउनु हुँदैन भने कुरा बुझाउन धेरै आवश्यक छ।

बट्टाको दूधमा बच्चाको स्वास्थ्यका लागि चाहिने भिटामिन, क्यालोरी सबै कुरा मिलाएर अड्कलेर राखिदिएको हुन्छ। तर गाईभैँसीको दूधमा त्यो हुँदैन। अझ कतिपयले त गाईभैँसीको दूधमा पानी पनि नहाली दिने गर्छन्। त्यसो गर्दा बच्चालाई अझ बढी असर पुग्छ। बच्चाको मिर्गौलालाई छान्न गाह्रो भएर समस्या देखिन सक्छ। गाईभैँसीको दूध खुवाउँदा मिर्गौला र आइरनको कमी देखिन सक्छ। 

बच्चा जन्मिनेबित्तिकै आमाको दूध आएन भने बोटलबाट नखुवाएर चम्चाको सहायताले खुवाउनु पर्छ जसले गर्दा पछि गएर बच्चाले आमाको दूध चुस्न अल्छी गर्दैन। 

नवजात शिशुलाई स्वस्थ राख्न अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ? 
सबैभन्दा पहिलो कुरा भनेको आमाको दूध खुवाउने र खोप लगाउने हो। बालबालिकालाई भविष्यमा लाग्न सक्ने विभिन्न रोगबाट खोपले बचाउँछ। 

बच्चालाई बिहानको ९ बजेदेखि दिउँसोको २ बजेसम्म करिब एक घण्टा घाममा राख्नु पर्छ। धेरै घाम लागेको छ भने बच्चालाई डढ्ने गरिराख्नु हुँदैन। बच्चालाई धेरै कपडा लगाएर गुटुमुटु पारेर पनि राख्नु हुँदैन। 

त्यस्तै अभिभावकहरुले बच्चाहरुलाई फोन देखाएर खाना खुवाउने र भुलाउने काम गरिरहेको धेरै देखिन्छ। जसले गर्दा उनीहरुमा विभिन्न खाले समस्याहरु देखिरहेको छ। मोबाइल हेर्दाहेर्दै उनीहरु बोल्नै बिर्सिसकेका छन्। 

नयाँ आमाहरुले जति थकाइ लागे पनि जे भए पनि आफू सुतेर दूध नखुवाउनु होला। किनभने सुतेर दूध खुवाउँदा दूध बगेर बच्चाको कानमा पस्छ र कान पाक्ने समस्याले जीवनभर सताउँछ। कहिलेकाहिँ सुतेर दूध खुवाउँदा आफ्नै दूधले थिचेर बच्चा निसासिएर पनि मृत्यु भएको देखिन्छ। राम्रोसँग आनन्दले बसेर दूध खुवाउनु पर्छ। 

त्यस्तै बच्चालाई दूध खुवाउँदा एउटा दूध हल्का भएको छैन भने अर्को दूध खुवाउनु हुँदैन। किनभने सुरुमा आउने दूध निकै पातलो हुन्छ त्यसले बच्चाको पेटमा ग्यास भरिन्छ। पछाडि आउने दूधमा फ्याटको मात्रा बढी हुन्छ र बच्चाको पेट भरिन्छ र ग्यास पनि कम हुन्छ। त्यसैले एउटा दूध हल्का नभएसम्म अर्को दूध खुवाउनु हुँदैन। 

बच्चा जन्मिनेबित्तिकै आमाको हर्मोन पनि परिर्वतन हुने भएकाले बच्चासँगै घरपरिवारले आमाको स्वास्थ्यको ख्याल पनि उत्तिकै राख्नु पर्छ। 

तस्बिर-भिडिओ : सरोज नेपाल/नेपालखबर

चैत १८, २०७९ शनिबार १७:५०

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .