ad ad

कोशी


घोरेपानी-पुनहिललाई बिर्साउने ‘एभरेस्ट दुधकोसी सांस्कृतिक पदमार्ग’

घोरेपानी-पुनहिललाई बिर्साउने ‘एभरेस्ट दुधकोसी सांस्कृतिक पदमार्ग’

अच्युत रेग्मी
पुस ४, २०८० बुधबार १३:१९, सोलुखुम्बु

बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्।
यी हातले सधैँसधैँ नेपाल लेख्न पाइयोस्।।

वरिष्ठ गायक रामकृष्ण ढकालको स्वरमा गुन्जिने यो गीतलाई सोलुखुम्बु जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित माप्य दुधकोसी गाउँपालिकामा भर्खरै शुभारम्भ गरिएको ‘एभरेष्ट दुधकोसी सांस्कृतिक पदमार्ग’ले पूरा गरिदिएको छ।

माप्य दुधकोसी गाउँपालिका-५ स्थित सिलगुडी डाँडाबाट बिहान उठ्नेबित्तिकै विश्वको सर्वोच्च शिखर सगरमाथासहित दुई दर्जनभन्दा बढी हिमाल देख्न सकिन्छ। गाउँपालिकाले ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र नेपाल पर्यटन बोर्डको सहकार्यमा गत शुक्रबारदेखि सुरु गरेको ‘एभरेष्ट दुधकोसी सांस्कृतिक पदमार्ग’का अधिकांश स्थानबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल हेरेर आनन्द लिन सकिन्छ।

आँखाको सामुन्ने टलटल टल्किने हिमालले यस पदमार्गमा जोडिने जोकोहीलाई स्वर्गीय अनुभूति त हुन्छ नै, त्यो भन्दा बढी यस पदमार्गलाई उपयोग गरी आर्थिक समृद्धिको बाटो पहिल्याउन ढिला गरिएकोमा पछुतो लाग्छ। तीन हजार छ मिटर उचाइमा रहेको सिलगुडी डाँडाबाट सुरु भएको पदमार्ग विभिन्न १४ प्रजातिका लालीगुँरास फुल्ने दाप्सा सामुदायिक वनको जङ्गलैजङ्गल हुँदै करिब चार घण्टामा घुम्ने मेरा भन्ने स्थानमा पुगिन्छ। घुम्ने मेरामा पुगेर शेर्पा समुदायको स्याब्रु नाचको मज्जा पनि लिन सकिन्छ।

शेर्पा समुदायको संस्कृतिसँग जोडिएको उक्त पदमार्ग ‘कुधाम भ्यु पोइन्ट’ पुग्छ। उक्त भ्यु पोइन्टमा राति बस्नका लागि वासस्थान निर्माणको कामलाई गाउँपालिकाले अगाडि बढाएको छ। तीन हजार १६८ मिटर उचाइमा रहेको कुधाम भ्यु पोइन्टबाट विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र सहजै देख्न सकिन्छ।

उक्त डाँडाबाट ८,८४८ मिटर उचाइमा रहेको सगरमाथासहित बाताङ्गा (५०७७), चोयम (४७१३), विगफेरा (६६००), नुम्बुरचुली (६९६०), कार्लुङ (६५११), कोङदेरी (६१८७) देख्न सकिन्छ। यस्तै, खुङ्वाकाङ (७७४३), ग्यानचोङकाङ (७९५२), चुम्बु (६८५९), लोबुचे (६९९५), काङ्तेका (६७८३), क्यासार (६७६९), मेरापिक (६४७६), चाम्लाङ (७३१९), नौलेख (६३६३), पाङ्वो (६३९०) लगायत २७ हिमाल देख्न सकिन्छ।

उक्त डाँडाबाट लुक्ला विमानस्थलमा जहाज अवतरण गरेको र नाम्चे बजारको मनोरम दृश्यसमेत देख्न सकिन्छ। कुधामबाट अर्को दिन योतेल्मे पुग्न सकिन्छ। योतेल्मे गाउँपालिकाले पर्यटकलाई खान र बस्न मिल्ने गरी गोठ निर्माण गरेको छ। योतेल्मेबाट दुधकोसीको किनारा सगरमाथा जाने सडक अधेँरीखोला पुग्न सकिन्छ।

यही गाउँपालिका-२ मा पर्ने अँधेरीखोला, डाँडागाउँ घुमेपछि मगर खालिङ राईको सङ्ग्रहालय हेर्न सकिन्छ। उक्त वडामा राईको बसोबास भएकाले साकेला, भूमे नाचको मज्जा समेत लिन सकिन्छ। हिमाल, वन, चराचुरुङ्गी, विभिन्न किसिमका लालीगुराँस हेर्न पाइने भएकाले ‘एभरेस्ट दुधकोसी सांस्कृतिक पदमार्ग’को पर्यटन विकासमा ठूलो सम्भावना रहेको पर्यटन व्यवसायी पासाङ शेर्पा बताउँछन्।

‘एभरेस्ट दुधकोसी सांस्कृतिक पदमार्ग’ सञ्चालनका लागि टान र माप्य दुधकोसी गाउँपालिकाबीच गत वर्ष सम्झौता भएको थियो। टानले गत वर्ष अध्ययन गरेर नक्सासमेत तयार गरिसकेको छ।

टानका अध्यक्ष निलहरि बाँस्तोला सोलुखुम्बुमा भर्खरै शुभारम्भ गरिएको यस सांस्कृतिक पदमार्ग म्याग्दीको घोरेपानी-पुनहिललाई बिर्साउने पदमार्ग भएको बताउँछन्। ‘तीन हजारभन्दा बढी उचाइमा रहेको उक्त पदमार्गबाट हिमाल, लालीगुराँस र चराचुरुङ्गीको मिठो आवाजसँगै शेर्पा, राई, तामाङ र विभिन्न समुदायको संस्कृति थाहा पाउने भएकाले उत्कृष्ट गन्तव्य बन्नेछ’, बाँस्तोला भन्छन्।

जनकपुर र हलेसी दर्शनका लागि आएका पर्यटकलाई ‘एभरेस्ट दुधकोसी सांस्कृतिक पदमार्ग’मा लैजान सकिए सोलुखुम्बुको पर्यटन क्षेत्रले कोल्टे फेर्ने अध्यक्ष बाँस्तोलाको कथन छ।

विश्वमै पदयात्राका लागि आकर्षक गन्तव्यमा पर्ने नेपालमा पछिल्लो समय सम्भावना धेरै देखिएका छन्। नेपाल आएका पर्यटकमध्ये करिब ३० देखि ४० प्रतिशत पदयात्रामा जाने गरेको तथ्यांकले देखाउँछ।

नेपाल पर्यटन बोर्डका सूचना अधिकारी मणिराज लामिछाने नेपालको पदयात्रा पर्यटन प्रवर्धनका बोर्डले लामो समयदेखि काम गर्दै आएको बताउँछन्। ‘जतिसक्दो धेरै पर्यटक भित्र्याउनका लागि पर्यटन बोर्ड लागिपरेको छ,’ लामिछाने भन्छन्। आगामी दिनमा माप्य दुधकोसी गाउँपालिकासँग मिलेर ‘एभरेस्ट दुधकोसी सांस्कृतिक पदमार्ग’को पर्यटन प्रवर्धनमा लाग्ने सूचना अधिकारी लामिछानेको भनाइ छ।

कोसी प्रदेशका पूर्वमन्त्री एवम् प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पर्यटन क्षेत्रको विकासलाई प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेको बताउँछन्। ‘सगरमाथा क्षेत्र घुम्न आएका पर्यटकलाई माप्य दुधकोसी गाउँपालिकामा भित्र्याउन सके यस क्षेत्रको पर्यटनले गति लिन सक्थ्यो,’ राजभण्डारीको कथन छ।

टानका महासचिव विनोद सापकोटा पछिल्लो समय स्थानीय सरकारले जथाभावी रूपमा मोटरबाटो खन्दा पदमार्गहरू मासिँदै गएको बताउँछन्। ‘स्थानीय सरकारले जथाभावी रूपमा मोटरबाटो खन्दा धेरै पदमार्ग मासिँदै गएका छन्, यसलाई जोगाउँदै नयाँ पदमार्ग निर्माणका लागि टान लागेको छ,’ सापकोटाले भने।

टानले यसबाहेक गोरखाको बारपाक-सुलिकोट गाउँपालिकादेखि अजिरकोट गाउँपालिका, लमजुङको दुधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका हुँदै मर्स्याङ्दी गाउँपालिका जोड्ने ‘बुद्ध हिमाल-हिमचुली ग्रेट लेक सर्किट ट्रेल’ निर्माण गर्न लागेको छ। उक्त पदमार्ग १८ दिनको हुनेछ।

यसैगरी काभ्रेपलाञ्चोकको चौँरी देउरालीमा तिमालबाट चौँरी देउराली हुँदै सैलुङ जोड्ने पदमार्गको विकास र प्रवर्धन गर्नका लागि टानले उक्त नगरपालिकासँग सम्झौता गरेर काम अगाडि बढाइसकेको छ। माप्य गाउँपालिकाका वरिष्ठ पर्यटन व्यवसायी चोलेन्द्रबहादुर कार्की प्रकृति र संस्कृति दुवै हेर्नका लागि ‘एभरेस्ट दुधकोसी सांस्कृतिक पदमार्ग’को परिकल्पना गरिएको बताउँछन्। ‘सगरमाथा हेर्न चाहेका तर थोरै समय भएका पर्यटकलाई लक्षित गरी उक्त पदमार्ग निर्माण गरिएको हो,’ कार्की भन्छन्। टानका पूर्वउपाध्यक्ष कार्कीले उक्त पदमार्गको समय बढाउन सकिने बताए।

यस पदमार्गबाट सिलगुढी, घुम्ने मेरा, कुधम, योतेल्मे, राप्छा, माझगाउँ, खास्ताव, भुमेथान, पास्दा झरना, महभीरलगायतको स्थान हेर्न सकिन्छ। त्यसबाहेक उक्त पदमार्गबाट दुधकुण्ड हिमाल, सगरमाथा, मेरापिक क्षेत्रमा समेत जान सकिन्छ। नयाँ निर्माण भएको पदमार्गमा फुर्वा शेर्पा र किरण तामाङले साइक्लिङसमेत गरेका थिए।

माप्य दुधकोसी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई पालिकाले आगामी दिनमा सातै वडालाई जोड्ने गरी नयाँ पदमार्ग निर्माण गर्ने बताउँछन्। अघिल्लो कार्यकालमा समेत पालिकाको अध्यक्ष रहेका राई पालिकाले पर्यटनको विकासलाई विशेष प्राथमिकतामा राखेर सात वर्षदेखि बजेट विनियोजन गर्दै आएको बताए। ‘गाउँपालिकाले वार्षिक कुल बजेटको २० देखि २५ प्रतिशत रकम पर्यटन विकासका लागि विनियोजन गर्दै आएको छ,’ अध्यक्ष राईले भने।

गाउँपालिकाले उक्त पदमार्गको पर्यटन विकासका लागि होमस्टे (घरवास पर्यटन) निर्माण, कुक तालिम, गोठ निर्माण, टेन्ट क्याम्पिङको व्यवस्थापन गर्दै आएको छ। सो गाउँपालिकाले आइतबार मात्र वडा नं. ५ स्थित महभिरमा ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरेको छ।

विश्व कीर्तिमानी सगरमाथा आरोही कामिरिता शेर्पा स्वदेशी तथा विदेशी पर्यटकलाई लुकेको कुरा देखाउन सके पर्यटन क्षेत्रको विकास सहज रूपमा गर्न सकिने बताउँछन्। ‘पर्यटकले नयाँ कुरा हेर्न चाहेका हुन्छन्, नयाँ कुरा देखाउन सकिए मात्र पर्यटन क्षेत्रको विकास हुन्छ,’ आरोही शेर्पाको कथन छ।

अक्टोबर, नोभेम्बर, डिसेम्बर, जनवरी, फेब्रुअरीमा मनोमोहक दृश्य देखिने भएकाले साहसिक पर्यटकका लागि आकर्षक हुन्छ। सगरमाथा आधार शिविर, अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्गा क्षेत्र पदयात्राका लागि राम्रा गन्तव्य हुन्। नेपालमा वार्षिक रूपमा स्वदेशी तथा विदेशी दुई लाखभन्दा बढी पर्यटकले पदयात्रा गर्ने गरेको पाइन्छ।

ब्याक प्याकर्स एडभेन्चरका सञ्चालक एवं पर्यटन व्यवसायी दुर्गाप्रसाद (कृष्ण) रेग्मी संसारको सबैभन्दा राम्रो पदयात्रा गन्तव्य नेपाल भएको बताउँछन्। नेपालमा धेरै ट्रेकिङ क्षेत्र भए पनि सञ्चालनमा भने कमै आएको उनको तर्क छ। नेपालमा अन्नपूर्ण, सगरमाथा, लाङटाङ, मुस्ताङ, डोल्पालगायत आकर्षक गन्तव्यका रूपमा चिनिन्छ। विश्वका विभिन्न ट्राभल एडभाइजरहरूले पनि नेपालका विभिन्न पदयात्रा मार्गलाई विश्वकै उत्कृष्ट गन्तव्यस्थलको रूपमा व्याख्या गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .