कोशी


बालेनले झापामा सार्वजनिक गरे ‘वाचापत्र’: राजनीतिलाई पेसा होइन, सेवा बनाउँछु

बालेनले झापामा सार्वजनिक गरे ‘वाचापत्र’: राजनीतिलाई पेसा होइन, सेवा बनाउँछु

नेपालखबर
फागुन ११, २०८२ सोमबार ८:३५, विराटनगर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन्द्र शाह (बालेन) ले सोमबार आफ्नो चुनावी प्रतिबद्धता पत्र (वाचापत्र) सार्वजनिक गरेका छन्।

रास्वपाका वरिष्ठ नेता उनले 'बेथिति र भ्रष्टाचारविरुद्ध संसदमा सशक्त रूपमा उभिने' मुख्य संकल्प गर्दै शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका छन्। ​शाहले आफ्नो वाचापत्रमा नीति निर्माण र कानुनी सुधारमा सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।

वाचापत्रमा बालेनले भनेका छन्, ‘राजनीतिलाई पेसा होइन, सेवा बनाउनेछु र जनताको विश्वासलाई काममा रूपान्तरण गर्नेछु।’

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउने कुरालाई उनले विशेष महत्त्व दिएका छन्। ​शिक्षा र स्वास्थ्यमा नयाँ योजना ​शिक्षा क्षेत्रमा "स्कुल रिटेन्सन प्रोग्राम"मार्फत विद्यालय छाड्ने दर शून्यमा झार्ने र सामुदायिक विद्यालयमा 'स्मार्ट क्लास' तथा प्रयोगशाला स्थापना गर्ने योजना उनले अघि सारेका छन्। 

यस्तै, स्वास्थ्य क्षेत्रमा विपन्न परिवारका लागि नि:शुल्क उपचारको ग्यारेन्टी, दमक अस्पताललाई ३०० बेडमा स्तरोन्नति गर्ने र `घर-घर स्वास्थ्य सेवा कार्यक्रम´ मार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने प्रतिवद्धता शाहकाे छ।

​झापा-५ को मुख्य आधार कृषिलाई आधुनिकीकरण गर्न 'कन्काई-रतुवा सिँचाइ योजना' विस्तार र 'एक पालिका, एक शीत भण्डार'को अवधारणा ल्याइएको छ। यस्तै, पूर्वाधारतर्फ दमक-रवि-चिसापानी सडकको पूर्णता, हुलाकी सडक र पुलहरूको समयमै निर्माण, दमकलाई 'स्मार्ट सिटी' का रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण गर्ने वाचापत्रमा छ।

​महिला उद्यमीका लागि सहुलियतपूर्ण ऋण, 'सेफ हाउस' को व्यवस्था र युवाहरूका लागि सीपमूलक तालिममार्फत स्वरोजगार सिर्जना गर्ने लक्ष्य राखिएको छ।

साथै, गौरादह कृषि क्याम्पसलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने र दमकलाई 'पर्यटन ट्रान्जिट हब' बनाउने योजना पनि वाचा पत्रमा समेटिएको छ।

भूमिहीन र सुकुमवासी समस्या समाधानका लागि कानुन निर्माण गर्ने र व्यवस्थित बसोबासको ग्यारेन्टी गर्ने वाचार गर्दै बालेनले `जनअपेक्षा अनुरूपको काम गर्न आएको हुँ, काम गर्न दिनुहोला´ भन्दै मतदातासँग अपिल गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad