सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेसँग संसद् बैठक सञ्चालन हुन दिने सहमति गरेको भोलिपल्ट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज शनिबार बिहानै विराटनगर आइपुगे।
मोरङको उर्लाबारी र झापाको दमकमा हुने कार्यक्रममा सहभागी हुन उनी विराटनगर विमानस्थल हुँदै त्यसतर्फ जान आएका थिए।
पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अनुहार अरू बेलाजस्तो अलि उज्यालो देखिन्थेन। अलिक तनावमा जस्तो देखिन्थे।
विराटनगर विमानस्थलमा पत्रकारहरूले प्रश्न गर्दा पनि उनले अरू दिनजस्तो खुलेर कुरा गरेनन्। उनी अस्वाभाविक तनावमा रहेको भनेर नेता-कार्यकर्ता कुरा गर्दै थिए।
शुक्रबार प्रतिनिधि सभा बैठकको अवरोध हटाउन भन्दै माओवादी केन्द्रले शुक्रबार सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेससँग दुईबुँदे सहमति गरेपछि यतिबेला अध्यक्ष प्रचण्डविरुद्ध विभिन्न टिकाटिप्पणी भइरहेको छ। यो विषयले प्रचण्डलाई पार्टीभित्रै पनि समस्या भइरहेको कतिपय नेताहरूको दाबी छ।
तर विराटनगरमा प्रचण्डले भने, ‘जनताको बृहत् हितका निम्ति कहिले अघि बढ्ने, कहिले पछि हट्ने, कहिले सहमति गर्ने कहिले चाहिँ विद्रोह गर्ने यो सबै चलिराख्छ।’
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान राख्दै सदन अवरोध गरिरहेको माओवादी केन्द्र सहमतिमा आएपछि शुक्रबार सभामुख देवराज घिमिरेले बाँकी विपक्षी दललाई पेलेरै प्रतिनिधि सभाको बैठक चलाए।
माओवादी अध्यक्ष प्रचण्डले भने भिजिट भिसा प्रकरणमा एक महिनाभित्र समिति बनाएर जाने सहमति भएपछि अहिले सदन चालु गर्न मात्र सहमति गरेको दाबी गरे।
‘अहिले हामीले एकातिर संघीय निजामती ऐन छिटो भन्दा छिटो पारित गर्नु छ, लाखौँ शिक्षकहरूको मागलाई शिक्षासम्बन्धी ऐनलाई अन्तिम रूप दिनुपर्ने छ, टीआरसी सँग सम्बन्धित कैयौँ विषय अगाडि बढाउनु पर्नेछ, शनिबार विराटनगर विमानस्थलमा पत्रकारलाई जवाफ दिँदै उनले भने, उनले भने, त्यो सबैलाई हेरेर हामीले सहज बनाएका हौँ। केचैँ तपाईँहरू चाहनुहुन्थ्यो यो समातेर लगेको लगै गरेर सदन अवरुद्धै गर्दिएपछि देशको हित हुन्थ्यो?’
भिजिट भिसा प्रकरणमा अध्ययन, छानबिन गरेर आवश्यक नीतिगत संरचना सबै बनाउने र एक महिनाभित्र छानबिन समिति बनाउने भनेर संसद्मा गृहमन्त्रीले प्रतिबद्धता गरेपछि गरेको सहमतिलाई मुद्दा छाडेको भन्न नमिल्ने तर्क प्रचण्डले गरे।
तपाईँहरूका कारण गृहमन्त्रीले सदनबाट धम्क्याउने/तर्साउने काम गर्नुभयो नि भनी पत्रकारले गरेको प्रश्नमा उनले भने, ‘सदनमा उहाँले के के बोल्नुभयो त्यसको जिम्मेवार उहाँ (गृहमन्त्री) नै हो। हामीले भनेको के मात्रै हो भने छानबिन हुनुपर्छ। यो विषय धेरै गम्भीर छ। एउटा अहिलेको गृहमन्त्रीसँग मात्रै रिलेटेड पनि छैन, यो विषय यो धेरै पहिले देखिको अत्यन्त संवेदनशील विषयका रूपमा छ, त्यसकारण सुशासनका निम्ति यसको छानबिन हुनुपर्यो, अध्ययन गहिरो गरी हुनुपर्यो। सहमति बन्नु पर्यो भन्ने भएपछि अहिलेको आवश्यकताअनुसार देशको निम्ति जरुरी थियो।’
यस क्रममा उनले आफ्ना उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको हत्या मुद्दा मिलाउने सर्तमा कांग्रेस-एमालेसँग सहमति गरेको भन्ने आरोपलाई उनले वाहियात कुरा भने।
प्रचण्डले भने, ‘वाहियात कुरा मानिसहरूले प्रचार गर्ने गर्या छन्, त्यस्तो केही पनि होइन, यो कुरा र अग्नि (सापकोटा) को कुनै साइनो सम्बन्ध छैन।’
भिडिओ-
‘माओवादी सुतेको छैन’
नेकपा माओवादी त दुईबुँदे सम्झौता गरेर थाङ्नामा सुत्ने काम गर्यो नि भन्ने प्रश्नमा प्रचण्डले भने, ‘त्यो तपाईँहरूको बुझाइ सुत्या हो। केही सुत्या छैन। विगतमा पनि यसरी नै सहमति गर्ने गरिएको छ। प्रमुख सचेतकहरूले हस्ताक्षर गर्ने प्रचलन पहिला देखि पनि थियो। योचाहिँ छानबिन गर्ने कुरालाई गम्भीरता देखियोस्, संवेदनशील देखियोस् भनेर गरेको सहमति हो।’
उनले अहिलेको सहमति पालना नगरे एक महिनापछि पुनः संघर्ष सुरु गर्ने दाबी गरे।
उनले यो सहमति सोचीबुझीकन नै गरिएको पनि बताए।
अनि उनले अहिलेसम्म सदन अवरुद्ध गरेर गलत काम नगरेको समेत भन्न भ्याए।
‘गलत भएको थिएन, अवरोध गरेर विरोध गरेको हुनाले त छानबिन गर्नेमा सरकार आउन पर्यो, उनले भने, त्यो नगरेको भए सरकारले समिति बनाउने थिएन, त्यो हुने थिएन।’
उनले सहमतिसँगै सरकारमा जाने कुरा जोड्नु पनि गलत भएको टिप्पणी गरे।
भिजिट भिसाले काँग्रेससँग सम्बन्ध सुमधुर भयो हैन?
पत्रकारको प्रश्नमा उनले भने, ‘सुमधुर हुन्छ कि हुँदैन भोलिका दिनमा यो छानबिन अध्ययन कसरी जान्छ त्यसमा भर पर्ने कुरा हो।’
Shares

प्रतिक्रिया