राजनीति


गगन थापाको नयाँ प्रस्ताव: कांग्रेसमा सबै क्रियाशील सदस्यले सभापति छान्ने व्यवस्था गरौँ

गगन थापाको नयाँ प्रस्ताव: कांग्रेसमा सबै क्रियाशील सदस्यले सभापति छान्ने व्यवस्था गरौँ

नेपालखबर
जेठ ३१, २०८२ शनिबार १२:३३, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति चयनको विषयमा नयाँ प्रस्ताव गरेका छन्। पार्टीभित्रको गुटबन्दी अन्त्य गर्न भन्दै उनले सबै क्रियाशील सदस्यले सभापति छान्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका हुन्। 

नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौंको तेस्रो  सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्रियाशिल सबै सदस्यहरुबाट सभापति चुन्ने व्यवस्था पार्टीको गुटबन्दी खत्तम गर्ने एउटा अचुक अस्त्र रहेको बताए।

‘सबै साथीहरु तयार हो भने पार्टीको गुटबन्दी खत्तम गर्ने एउटा अचुक अस्त्र छ। नेपाली कांग्रेसमा ८ लाख ६६ हजार क्रियाशिल सदस्य छौँ। यो पटक अलिकति रिन्यु गर्ने सबै गर्दा नयाँ थपिँदा मानौँ १२ लाख भयो रे ल। हाम्रो पार्टीको अधिवेशनमा के हुन्छ, १२ लाख क्रियाशील मान्छे एकै पटक जान्छ र बुथमा गएर हामी आफ्ना प्रतिनिधि छान्छौँ,' उनले भने, 'त्यो छानिएको प्रतिनिधिले अर्को प्रतिनिधि छान्दै छान्दै गएर काठमाडौँमा हामी ५ हजार मान्छेको महाधिवेशन गर्छौँ। १२ लाख मान्छेलाई यदी हामी बुथमा निकाल्छौँ र उसलाई हामी अधिवेशनमा टिक लगाउन दिन्छौँ भने यत्रो प्रविधिको जमाना छ किन त्यो १२ लाख मान्छेले अप्रत्यक्ष निर्वाचन गरेर प्रतिनिधि छान्ने? सिधै त्यो १२ लाख मान्छेले का|ग्रेसको सभापति छान्ने व्यवस्था गरौँ त ल। १२ लाख मान्छेबाट निर्वाचित भएको का|ग्रेसको सभापतिले जसले गुट बनायो त्यो ध्वस्त। त्यो सकियो। होइन भने गुट त बन्छ, जति भाषण गरे पनि।’

महामन्त्री थापाले माथिदेखि तलसम्म गुटले पार्टीलाई ध्वस्त बनाएको जिकिर गरे।

त्यस्तै थापाले २०८३ साल मंसिर भन्दा अगाडि नै पार्टीको महाधिवेशन हुने दाबी गरेका छन्।  
उनले ०८४ सालको आम निर्वाचनपछि अधिवेशन हुन्छ कि भन्ने आशंका भए त्यो भ्रमबाट बाहिर निस्किन आग्रह गरे। 

महाधिवेशन सार्न नेपाली कांग्रेस पार्टीले आफूले चाहेर मात्रै नहुने भन्दै अदालती समस्या हुने उनको भनाइ थियो। 

‘हामी २०८३ साल मंसिर भन्दा अगाडि नै हामीले अधिवेशन गरिसक्नुपर्छ। तपाईंहरु कसैको दिमागमा कहीँ कतै यो ०८४ सालको निर्वाचनपछि अधिवेशन हुन्छ भन्ने आशंका छ भने त्यो भ्रमबाट निस्किहाल्नुस्,' उनले भने, 'नेपाली कांग्रेस पार्टीले आफूले चाहेर, हामी सबै मिल्यौँ ल, पार्टी सभापति शेरबहादुर देउवादेखि अहिलेका भुतपूर्व पदाधिकारीहरु एउटा समूह बनेको छ, सबै मिल्यौँ ल, शेखर कोइराला, शशांक कोईरला, गगन थापा, विश्वप्रकाश शर्मा सबै मिलेर अधिवेशन सार्छु भन्यौँ भने पनि त्यो अदालतले लगेर देखाइदिन्छ, पाइँदैन। कोही कुनै पार्टीसँग मिलेर पनि पाइँदैन। नयाँ नाम फेरे पाइन्छ। अधिवेशनका बारेमा कोही पनि कन्फ्युजनमा नरहनु होला।'

उनले पार्टीको महाधिवेशन गराउने अन्तिम समय भनेको ०८३ को मंसिर भएको बताए।  'हामीसँग लास्ट डेट भनेको ०८३ को मंसिर हो। त्यहाँसम्म पुर्‍याउनु हुन्न। त्यसले हाम्रो स्थानीय चुनावलाई प्रभावित गर्दछ,' उनले भने, 'सकेसम्म अगाडि तान्नुपर्छ। तपाईंहरुले जति छिटो क्रियाशिल सक्याइदिनुहुन्छ, त्यति छिटो हामी अधिवेशनमा लिएर जानसक्छौँ।’

महामन्त्री थापाले भ्रातृसंस्थाहरुको अधिवेशन गर्न नसक्दा दुःख दिइरहेको बताए। नेविसंघ, तरुण दल, महिला संघलाई अधिवेशन गर्छु मात्रै भने पार्टीको पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए। अब भने पार्टीले नै जिम्मा लिएर अधिवेशन गराउनुपर्ने अवस्था रहेको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad