कोशी


पौने २ खर्ब भित्र्याउने लक्ष्यसहित कोसीमा लगानी सम्मेलन, यस्ता छन् शोकेस भएका ७१ परियोजना

२० विदेशी लगानीकर्ता पनि सहभागी
पौने २ खर्ब भित्र्याउने लक्ष्यसहित कोसीमा लगानी सम्मेलन, यस्ता छन् शोकेस भएका ७१ परियोजना

सुमन सुस्केरा
बैशाख १८, २०८२ बिहिबार १३:५४, विराटनगर

कोसी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलन विराटनगरमा सुरु भएको छ।

आज र भोलि दुई दिन चल्ने लगानी सम्मेलनमा देश तथा विदेशका लगानीकर्ताहरू सहभागी छन्।

७१ वटा परियोजनाको कुल १ खर्ब ७३ अर्ब ४९ करोड लगानी अनुमानसहित परियोजना सोकेससहित लगानी सम्मेलन सुरु भएको हो।

४५ जना विदेशी लगानीकर्तासँग छलफल गरिएकोमा २० जना विदेशी लगानीकर्ता लगानी सम्मेलनमा सहभागी भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको लगानी सम्मेलनमा विभिन्न ८ क्षेत्रका परियोजनाहरू सोकेस गरिएको छ।

पर्यटन, कृषि, उद्योग, ऊर्जा, पूर्वाधार, आईटी सेवालगायतका क्षेत्रमा महत्त्वपूर्ण परियोजनाहरू तयार पारिएको छ। 

सोकेसको लागि तयार पारिएका परियोजनाहरूमा ३२ अर्बभन्दा कमका छन्। उदयपुरमा निर्माण हुने उदयपुर क्लिङ्कर प्रोजेक्टको लागि ३२ अर्बको सबैभन्दा ठूलो लगानीको लागि परियोजना राखिएको छ।

त्यस्तै २६ अर्बको सुनसरीमा ग्रिन हाइड्रोजन एन्ड केमिकल फर्टिलाइजर परियोजना, ताप्लेजुङमा कनकाई–इलाम पोडवेका लागि २५ अर्ब लागतको परियोजना सोकेस गरिएको छ। त्यस्तै खोटाङको १० अर्बको हलेसी केबलकार पोडवे प्रोजेक्टको परियोजना पनि सोकेस गरिएको छ।

मोरङमा ३ अर्ब लागतको इलेक्ट्रिक सवारी उद्योग, उदयपुरमा २ अर्ब लागतको बायोइथानोल प्रोजेक्ट सोकेस गरिएको छ।  

मोरङमै १ अर्बको हर्बलको प्रोजेक्टको लागि परियोजना सोकेस गरिएको छ। यसबाहेक १ अर्ब १६ करोडको हर्बल प्रोसेसिङ प्रोजेक्ट, ५ अर्बको कोसी पोडवे, १ अर्ब ७५ लाखको पाँच तारे होटल परियोजना पनि परियोजना सोकेस गरिएको छ।

४ अर्ब ८० करोडको विराटनगर मल्टिपर्पोज कम्प्लेक्स सोकेसको लिस्टमा राखिएको लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा. सरोज कोइरालाले जानकारी दिए। 

त्यस्तै सुनसरीमा १ अर्ब ६० करोडको बर्जू सोलार पीभी प्रोजेक्ट, ४ अर्ब २८ करोडको सुनसरीको बर्जू ताल पर्यटन परियोजना, २ अर्बको कोसी रिफ्रेसमेन्ट सेन्टर र उदयपुरमा १ अर्बको स्टार लेभल रिसोर्ट एन्ड पार्क लिम्चुङबुङको लागि आएका परियोजनाहरू छन्।

५४ वटा परियोजनाहरूमध्ये १ अर्बभन्दा माथिका १८ वटा योजना रहेको लगानी प्राधिकरणले जनाएको छ। 

लगानी सम्मेलनको लागि प्रस्तावको रूपमा १० वटा परियोजनाबाट १२ अर्ब ५ करोडको प्रस्तावलाई पनि सोकेस गरेको छ।

आएका प्रस्तावित परियोजनाहरू स्वीकृत भई  सोकेस गरिएको लगानी प्राधिकरणले जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  केही वर्ष पहिला देखि नै लगानी सम्मेलन गर्ने तयारी गरिएको भए पनि कोभिडको कारण हुन नसकेकोले २०७९ को निर्वाचन पछि पनि आशातीत प्रगति गर्न नसकेको सुनाए ।

विगत २ वर्षको प्रयास पछि मात्रै लगानी सम्मेलन गर्न सकिएको उनको भनाइ छ। प्रदेशमा भएको सम्भावना पहिचान गरेर विभिन्न ८ वटा क्षेत्रमा ७१ वटा परियोजना १० करोड माथिका, स्थानीय तहको , प्रदेशको, नेपाल सरकार र निजी क्षेत्रले अघि सारेका योजनाहरूको बारेमा छलफल पछि निजी क्षेत्र उत्साहित देखिएपछि यो अवसर प्राप्त भएको मुख्यमन्त्री कार्कीले बताए।

एनआरएन, स्वदेशी तथा विदेशी लगानी कर्ताहरू लगानीको लागि रुचि देखाएपछि यो कामको लागि अघि सरेको बताए ।

‘सङ्घीय सरकारले पनि ऐन संशोधन गरिदिएपछि लगानी भित्र्याउन सहज वातावरण बनेको थियो’, उनले भने, ‘कोशी प्रदेश सरकारले पनि अध्यादेशको माध्यमबाट ८ वटा ऐन संशोधन गरेर लगानीकर्तालाई आकर्षित गर्ने काम गरेका छौँ ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad