ad ad

कोशी


राजनीतिक चलखेलले लथालिंग कोसी अस्पताल

मन्त्री परिवर्तनसँगै फेरिन्छन् मेसु
राजनीतिक चलखेलले लथालिंग कोसी अस्पताल

ध्रुव भट्टराई
फागुन १०, २०७९ बुधबार ७:२४, विराटनगर

अस्पताल भन्नेबित्तिकै स्वास्थ्य उपचार गर्ने ठाँउ भनेर बुझिन्छ, तर त्यही उपचार गर्ने स्वास्थ्य संस्थामा राजनीतिक हाबी भयो भने सेवा प्रवहा कस्तो होला? यस्तै नियतिको सिकार बनेको छ– विराटनगरस्थित कोसी अस्पताल। कोसी अस्पतालमा सरकार तथा मन्त्री परिवर्तन भएसँगै मेडिकल सुपरिटेन्डेन्ट (मेसु) फेरिने पुरानै रोग हो। २०६१ सालयता अस्पतालमा १७ जना मेसु परिवर्तन भइसकेका छन्। तर, कसैलाई पनि परिवर्तन हुनुको कारण पत्तो हुँदैन। अस्पताल विकास समिति र मेसु नियुक्तिमा सधैँको राजनीतिक चलखेलले अस्पताल नै लथालिङ्ग बन्न पुगेको छ। 

प्रदेश १ को राजधानी विराटनगरमा रहेको ठूलो सरकारी अस्पताल कोसी अस्पतालका मेसु अहिले रविराज सिंह छन्। डा. लक्ष्मीनारायण यादव ६ महिना नपुग्दै हटाइएपछि सिंह मेसु बनेका हुन्। 

तर अस्पतालमा मेसु पात्रो परिवर्तन भएझैँ परिवर्तन भइरहने हुँदा उनी पनि कति दिन पदमा रहन्छन्, टुंगो नभएको अस्पतालका चिकित्सकहरू नै बताँउछन्। २०१८ सालयता कूल ३३ मेसु परिवर्तन भइसकेका छन्।

२०६१ सालपछि १७ जना र २०७६ सालयता मात्रै ६ जना मेसु परिवर्तन भइसकेका छन्। 

२०७६ यता परिवर्तन भएका मेसुको सूची :
–२०७६ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन खड्का

–२०७६ भदौ १ मा डा. गुणराज लोहनी 

–२०७६ पुस २५ मा डा. संगीता कुशल मिश्र 

–२०७७ असार १ मा डा. चुमनलाल दास 

–२०७८ फागुन ५ मा डा. यादवराज खरेल 

–२०७८ भदौमा लक्ष्मीनारायण यादव 

–२०७९ फागुन २ मा रविराज सिंह 

हालका मेसु सिंह अस्पतालका जुनियर डाक्टर मानिन्छन्। अस्पतालको १०औँ तहको सर्जनलाई निमित्त मेसुको जिम्मेवारी दिइएको हो। एमाले नेताहरूको दबाबमा ११औँ तहको डाक्टर अस्पतालभित्रै हुँदाहुँदै पनि जुनियर डाक्टरलाई मेसुको जिम्मेवारी दिएपछि अस्पतालभित्र विवाद छ। नवनियुक्त मेसु सिंह भने मेसु परिवर्तन हुनु नियमित प्रक्रिया भएको तर्क गर्छन्।

‘मेसु परिवर्तनले अस्पतालको सेवा प्रवाहमा समस्या हुँदैन’, मेसु सिंह भन्छन्,  ‘कुनै पनि संस्थाको कार्यकारी प्रमुख परिवर्तनलाई सामान्य प्रक्रियाका रूपमा लिनुपर्छ।’ 

एक डाक्टर ५० जनाभन्दा बढी बिरामी हेर्न बाध्य 
अस्पतालमा दैनिक पाँच सयदेखि हजार जनासम्म बिरामीले उपचार सेवा पाउँछन्। तीन सय शय्याको अस्पतालमा दर्जनभन्दा बढी विभाग छन्। तर, दरबन्दीअनुसार चिकित्सक छैनन्। मेसुले न चिकित्सक दरबन्दीअनुसार नियुक्ति गर्छन्, न अस्पतालमा देखिएका समस्या समाधान नै।

अहिले अस्पतालमा १ जना चिकित्सकले दैनिक कम्तीमा ५० जना बिरामी हेर्नुपर्ने अवस्था छ। जसका कारण एकातर्फ चिकित्सकलाई बढी बिरामी हेर्नुपर्ने दबाब छ भने अर्कातर्फ बिरामीले डाक्टरको सेवा पाउन ३ घण्टाभन्दा बढी कुर्नुपर्छ। 

विराटनगरका राधेश्याम पण्डितले अस्पतालमा उपचार गराउन निकै सास्ती बेहोर्नुपरेको गुनासो गरे। ‘कोसी (अस्पताल) मा उपचारका लागि बिरामीले टिकटकै लागि एक/डेढ घण्टा लाइनमा बस्नुपर्छ’, पण्डितले भने, ‘त्यसपछि डाक्टरको सेवा लिन कम्तीमा ३ घण्टा कुर्नपर्छ।’

कोसी अस्पतालमा ल्याब, एक्सरेलगायत सबै सेवा पाउन कम्तीमा ३ दिन पर्खनुपर्ने अवस्था रहेको गुनासो उनले गरे। उनले डाक्टरको सेवाबल्लतल्ल पाइए पनि ल्याब र एक्सरेलगायत सेवा लिन ती उपकरण बिग्रिरहने कारण थप दुःख हुने गरेको बताए। अस्पतालमा जनशक्ति भए पनि दक्ष जनशक्ति अभावका कारण सेवा प्रवाहमा समस्या भएको डाक्टर रोशन खड्काले बताए। ‘अस्पतालमा ओपीडी सेवा लिन दैनिक १५ सयभन्दा बढी बिरामी आउने गरेका छन्’, डा. पोखरेलले भने, ‘बिरामीको चाप भएका कारण एकजना डाक्टरले कम्तीमा दैनिक ५० जनाभन्दा बढी बिरामी हेर्नुपरेको छ।’ 

१ सय ३२ वर्ष पुरानो अस्पतालले प्रदेश १ का १४ जिल्ला, मधेस प्रदेश र भारतको बिहार राज्यका बिरामीलाई समेत सेवा दिनुपर्ने भए पनि अस्पताल प्रशासनले जनशक्ति थप गर्नेतर्फ ध्यान नदिँदा समस्या भइरहेको डा. पोखरेलको गुनासो छ। उनले कतिपय अवस्थामा अस्पतालमा फेरिरहने मेसु र अस्पताल विकास समितिबीच समन्वय नहुँदा समेत अस्पतालमा समस्या हुने गरेको बताए। अस्पतालका वरिष्ठ नर्सिङ प्रशासक मञ्जु यादवले अस्पतालमा स्टाफ नर्सको चरम अभाव हुँदा ५० वर्ष उमेर काटेका नर्सहरूबाट सेवा दिनुपर्ने अवस्था रहेको बताइन्। 

‘अस्पतालमा रहेका नर्सहरू २४सै घण्टा खटिनुपर्छ। एकजना नर्सले १२ जनासम्म अप्रेसन गरेका बिरामीको हेरचाह गर्नुपर्छ। एउटा 
‘नर्सले कतिजना बिरामीको केयर गर्नुपर्ने हो’, उनको प्रश्न छ, ‘कोसी अस्पतालमा हामी नर्सहरूले मापदण्डअनुसार काम गर्छौँ भन्दा धर पाउँछौँ?’

उनले ३५० शय्याको अस्पतालमा स्वीकृत जनशक्ति नभएकाले काम गर्न समस्या भएको बताइन्। कोसी अस्पताल प्रसूति विभाग प्रमुख डा. अञ्जु देवले प्रसूतिको बेड संख्या घटाएका कारण प्रसूति भएकाहरूलाई भुइँमा राखेर उपचार गरिरहनुपरेको बताइन्। 

‘पहिला सय बेड क्षमता थियो। नयाँ भवन बनेपछि बेडको संख्या ७५ मा झारियो’, उनले भनिन्। प्रसूतिको चाप बढेका कारण काम गर्न समस्या भएको उनले बताइन्। ‘राजनीतिक दलका नेता र पहुँचवालाहरूले प्रसूति गराउन दबाब आउँछ’, उनले भनिन्, ‘भर्ना गरौँ बेड छैन, नगरौँ दबाब छ।’ 

प्रसूति विभागमा आवश्यक डाक्टर भए पनि स्टाफ नर्सको अभाव रहेको उनले बताइन्। ‘हामी काम गर्छौँ भन्दा पनि काम गर्ने वातावरण भएन, हामीले दबाबका बीचमा गरेको कामको समेत मूल्यांकन नहुँदा मनोबल गिरेको छ।’

अस्पतालका प्रशासन प्रमुख नवराज लुइँटेलले ११ सय २५ जनाको दरबन्दी स्वीकृतिका लागि पठाएको र सो दरबन्दी स्वीकृत भएर आए अस्पतालमा देखिएको जनशक्ति अभाव पूर्ति हुने बताए।

‘अस्पतालमा पुरानो दरबन्दीका चिकित्सक र स्वास्थ्यकर्मी मात्र छन्, कतिपय विभागका दरबन्दीको डाक्टर पनि छैनन्’, लुइँटेलले भने,  ‘हामीले पठाएको फाइल स्वास्थ्य मन्त्रालयबाट अर्थमा गएर अड्किएको छ।’ 

अर्थ मन्त्रालयलाई फाइल स्वीकृत गर्न विलम्ब गरेकाले समस्या भइरहेको उनले बताए।  अस्पताल प्रशासनका अनुसार कोसीमा सरकारी दरबन्दीका ८० र विकास समितिका २५ चिकित्सक कार्यरत छन्। सरकारी दरबन्दीका ७६ र समितिका ६५ स्टाफ नर्स सेवामा छन् । तर पनि अस्पतालका लागि जनशक्ति अपर्याप्त भएको प्रशासनको भनाइ छ। यो दरबन्दी २ सय ५० बेड स्वीकृत भएको समयको रहे पनि बिरामीको चाप बढेर हाल अस्पतालले ३ सय ५० बेड राखेको छ।

हाल भेन्टिलेटरसहित २४ वटा आईसीयू वार्ड,  ८ वटा डाइलासिस वार्ड सञ्चालन गर्दै अस्पतालले युरो र न्युरो सर्जरी सेवा दिइरहेको छ। उचित र न्यून शुल्कमा स्वास्थ्य सेवा पाउने आशामा सोलु, ताप्लेजुङलगायत हिमाली जिल्लाबाट धेरै बिरामी कोसी अस्पताल आउने गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .