कोशी


कोसीमा कांग्रेसको निर्वाचन समीक्षा- ‘आफ्नैले अन्तर्घात गरे’

कोसीमा कांग्रेसको निर्वाचन समीक्षा- ‘आफ्नैले अन्तर्घात गरे’

नेपालखबर
बैशाख ९, २०८३ बुधबार २२:०, ​विराटनगर

नेपाली कांग्रेसले कोसी प्रदेशको राजधानी विराटनगरबाट आफ्नो चुनावी समीक्षा हुँदै गर्दा यसको कारण पार्टी नै भएको निष्कर्ष निकालेको छ।

निर्वाचनमा प्राप्त परिणामको उत्खनन् गर्न भेला भएका नेताहरूका बिचमा एकातिर पराजयको पीडा र अन्तर्घातको आक्रोश देखियो भने अर्कोतिर पार्टीलाई प्रविधिमैत्री र आधुनिक बनाउने सङ्कल्प पनि उद्घोष भयो। बुधबारको यो भेला चुनावी अङ्कगणितको जोड घटाउमा मात्र सीमित रहेन, आगामी दिनमा कांग्रेस कसरी अघि बढ्ने भन्ने विषयमा पनि छलफल भयो।

​कार्यक्रममा सबैभन्दा बढी आक्रोश ओखलढुङ्गामा मात्र ५ मतले पराजित कुमार लुइँटेल र मोरङ क्षेत्र नम्बर ५ का उम्मेदवार फूलकुमार लालबानीमा देखियो। लुइँटेलले आफ्नो पराजयको कारण बाह्य शक्ति नभई आफ्नै पार्टीभित्रको ‘घेराबन्दी’ र ‘अन्तर्घात’ भएको दाबी गरे।

उनले पूर्व केन्द्रीय सदस्यले विपक्षीसँग हात मिलाउँदा झिनो अन्तरले पराजित हुनुपरेको गम्भीर आरोप लगाए। यता लालबानीले पार्टीको पद र मन्त्रीको स्वाद चाखिसकेकाहरूले नै रुख छोडेर घण्टीमा भोट हालेको भन्दै त्यस्ता अन्तर्घातीहरूलाई हलबाट निस्किएर बाहिर जान चुनौती दिए।

यही तिक्तताका बिच सभापति गगन थापाले भने पार्टीलाई पुरानो ढर्राबाट बाहिर निकालेर आधुनिक र प्रविधिमैत्री बनाउने एजेन्डा अघि सारेका छन्। उनले पार्टीमा अब ६० वर्ष नाघेका अनुभवीहरूका लागि ‘विजडम काउन्सिल’ र ३० वर्ष मुनिका युवाहरूका लागि ‘युथ काउन्सिल’ गठन गर्ने नयाँ अवधारणा सार्वजनिक गरे।

क्रियाशील सदस्यहरूको सामान्य सम्पर्क विवरण समेत नहुनु विडम्बनापूर्ण रहेको स्वीकार्दै थापाले अब सदस्यता नवीकरण र व्यवस्थापनलाई पूर्णतः डिजिटल बनाउने घोषणा गरे। कतार वा दुबईमा पसिना बगाइरहेका श्रमिकले पनि मोबाइलबाटै पार्टीको सदस्यता व्यवस्थापन गर्न सक्ने व्यवस्थाले काँग्रेसलाई आधुनिक युगसँग जोड्ने उनको विश्वास छ।

पार्टीको सरकार फेर्ने तयारी र कोसी प्रदेशमा हुनसक्ने नेतृत्व परिवर्तनको सङ्केतले पनि कार्यक्रममा चर्चा पायो। थापाले केही दिनभित्रै प्रदेशहरूमा कांग्रेसको नेतृत्वमा नयाँ समीकरण सहितको सरकार बन्न सक्ने सङ्केत गर्दै कार्यकर्तालाई निराश नहुन आग्रह गरे। 

अर्का नेता ज्ञानेन्द्रबहादुर कार्कीले हारबाट विचलित नहुन आग्रह गर्दै कांग्रेसको ऐतिहासिक योगदान र गगन थापा जस्ता युवा नेतृत्वप्रति जनताको अझै भरोसा रहेको तर्क गरे। उनले २०४८ सालदेखिको निर्वाचन इतिहास स्मरण गर्दै एकताबद्ध काँग्रेस नै शक्तिशाली कांग्रेस हुनेमा जोड दिए।

यद्यपि, समीक्षामा सहभागी अन्य नेताहरूको स्वर भने फरक-फरक थियो। महामन्त्री प्रदीप पौडेलले समाजको बदलिँदो संरचना र असङ्गठित क्षेत्रलाई सम्बोधन गर्न नसक्दा काँग्रेस पछि परेको बताए। 

सहमहामन्त्री डा. डिला सङ्ग्रौलाले पहिचानको मुद्दा, कृषिका समस्या र नयाँ पार्टीहरूप्रति युवाको आकर्षणबारे गम्भीर समीक्षा गर्नुपर्ने धारणा राखिन्। 

नेता मिनेन्द्र रिजालले त ‘जय नेपाल’ भन्नेहरूले नै हाँस्दै हाँस्दै घण्टीमा भोट हालेको भन्दै मतदाताको मनोविज्ञान बदलिएको तर्फ सचेत गराए।

विराटनगरको यो समीक्षा कार्यक्रमले काङ्ग्रेसभित्र दुई वटा स्पष्ट धार देखाएको छ। एउटा धार, जो निर्वाचनको हारका लागि अन्तर्घात र आन्तरिक षड्यन्त्रलाई मुख्य दोषी मान्दै कारबाहीको माग गरिरहेको छ। 

अर्को धार, जो पार्टीको परम्परागत संरचना बदल्दै प्रविधि र नयाँ पुस्तालाई समेटेर अघि बढ्न चाहन्छ। यी दुई धारबिचको सन्तुलन मिलाएर आफूले लैजाने सभापति थापाको प्रतिबद्धता छ । 

थापाले प्रदेश र स्थानीय तहमा कांग्रेसको बलियो उपस्थिति रहेको उल्लेख गर्दै जनताका अपेक्षा पूरा गर्न नेतृत्व परिवर्तन आवश्यक हुन सक्ने धारणा राखे।

‘हामी प्रदेश र स्थानीय निकायमा सबैभन्दा बढी छौँ, कतिपय प्रदेशमा नेतृत्व कांग्रेसको हातमा छ, बाँकी ठाउँमा पनि केही दिनमै हुने छ,’ उनले भने। 

उनले कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने स्पष्ट पार्दै सरकारका कामकारबाहीप्रति कडा निगरानी राख्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad