कोशी


मध्यरातमा कोसीका कानुनमन्त्रीको क्वार्टरमा छापा, प्रहरी भन्छ- फरार अभियुक्त खोज्दै पुगेका हौँ

मध्यरातमा कोसीका कानुनमन्त्रीको क्वार्टरमा छापा, प्रहरी भन्छ- फरार अभियुक्त खोज्दै पुगेका हौँ

नेपालखबर
असार ५, २०८३ शुक्रबार १४:२६, विराटनगर

कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ईन्द्रमणि पराजुलीको निवासमा प्रहरीले छापा मारेको छ।

धनकुटामा आयोजित एक कार्यक्रमका क्रममा रहेका कोसी प्रदेशका मन्त्री र उनको सचिवालयले मन्त्री नभएको बेला बिहीबार राति विराटनगरस्थित मन्त्री निवास (क्वार्टर) मा प्रहरीले छापा मारेको जनाएको हो।

राति करिब पौने १० बजेतिर मन्त्री क्वार्टरमा प्रहरीले खानतलासी गरेको खबर पाएपछि धनकुटामा रहेका मन्त्रीका इन्द्र पराजुलीले त्यसबारेमा मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालसँग जानकारी लिएका थिए।

मन्त्रीको सचिवालयका अनुसार मोरङ प्रहरी प्रमुखलाई सम्पर्क गर्दा सुरुमा उनले आफूलाई यसबारे जानकारी नभएको र बुझेर जानकारी गराउने बताएका थिए।

पछि एसपी आफैँ घटनास्थल पुगेर बुझ्दा, प्रहरी टोली अर्कै फरार व्यक्ति (अभियुक्त) को खोजीमा सो क्षेत्रमा पुगेको र सूचनाको गल्तीका कारण मन्त्री क्वार्टर आसपास ओहोरदोहोर हुन पुगेको भन्दै सचिवालयलाई जानकारी गराएको मन्त्रीको सचिवालयले नेपालखबरलाई जानकारी दियाे।

​विराटनगरस्थित मन्त्री निवास (क्वार्टर) आसपास बिहीबार राति प्रहरीले फरार प्रतिवादीको खोजी गरेको प्रहरीले जनाएको छ। मोरङ प्रहरी प्रमुख एसपी कटुवालले मन्त्रीको क्वार्टरमा छापा मारिएकाे विषयमा सत्यता नभई फरार प्रतिवादीको खोजीका क्रममा टोली त्यस क्षेत्रमा पुगेको बताए।

​उनले भने, `विशेष सूचनाका आधारमा प्रहरी टोली फरार प्रतिवादी विमल भट्टराईको खोजीका लागि मन्त्री निवास आसपासको क्षेत्रमा पुगेको थियो। भट्टराई त्यस क्षेत्रमा लुकेर बसेको भन्ने सूचना पाएपछि प्रहरीले निगरानी बढाए पनि उनी फेला परेनन्। प्रतिवादी नभेटिएपछि टोली रातिनै फर्किएको थियो।´

​घटनाका विषयमा बजारमा मन्त्रीको क्वार्टरभित्रै छापा मारिएको वा चोरी भएको भन्ने जस्ता अनेकौँ हल्ला फैलिएका थिए। तर प्रहरीले मन्त्रीको क्वार्टरभित्र प्रवेश गरेर कुनै प्रकारको खानतलासी वा छापा नमारेको स्पष्ट पारेको छ।

सूचना दिने व्यक्तिले प्रहरीलाई बाटो देखाउने क्रममा मन्त्रीको क्वार्टरतर्फ संकेत गरेपछि केहीबेर अन्योल सिर्जना भएको स्वीकार गरेको छ।

मन्त्री बस्ने निवास नजिकै फरार भनिएका विमल भट्टराईको बसोबास भएको हुन सक्ने भएकोले त्यहाँ प्रहरीले निगरानी बढाएको जनाएको छ। मन्त्रीको सचिवालयले भने निवासमा सहयोगी मात्रै रहेको बेलाभित्रै गएर खानतलासी गरेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad