कोशी


करोडौँ लगानीमा बनेको ‘चिया परीक्षण केन्द्र’ होटल चलाउन निजी क्षेत्रलाई जिम्मा

करोडौँ लगानीमा बनेको ‘चिया परीक्षण केन्द्र’ होटल चलाउन निजी क्षेत्रलाई जिम्मा

सुमन सुस्केरा
बैशाख ३, २०८३ बिहिबार १५:१३, विराटनगर

नेपालको मुख्य चिया उत्पादक क्षेत्र इलामको सूर्योदय नगरपालिकास्थित कन्याममा करिब १३ करोड ९० लाखको लागतमा निर्मित अत्याधुनिक चिया परीक्षण, प्रवर्द्धन तथा अनुसन्धान केन्द्र होटलका नाममा लिजमा दिने सम्झौता भएको खुलेको छ। 

चियाको गुणस्तर परीक्षण गरी अन्तर्राष्ट्रिय बजारसम्म नेपाली चियाको साख बढाउने उद्देश्यले निर्माण गरिएको यो संरचनालाई अहिले स्थानीय तहले व्यापारिक स्वार्थका लागि निजी क्षेत्रलाई सुम्पेपछि विवाद उत्पन्न भएको हो।

​सूर्योदय नगरपालिका–७ कन्याममा निर्मित यस संरचनामा अत्याधुनिक चिया परीक्षण प्रयोगशाला (ल्याब)सँगै अन्तर्राष्ट्रिय खरिदकर्ता (बायर्स) हरूलाई राख्नका लागि सुविधा सम्पन्न ‘होटल शैली’ को गेस्ट हाउस निर्माण गरिएको छ। संरचना भित्रका कोठाहरूमा डबल बेड, एटाच्ड बाथरुम, फल्स सिलिङ र रिसेप्सन लगायतका उच्चस्तरका सुविधाहरू छन्।

यद्यपि, प्रदेश सरकारको ठूलो लगानीमा बनेको यो सम्पत्तिलाई चिया प्रवर्धनमा लगाउनुको साटो स्थानीय सूर्योदय नगरपालिकाले वार्षिक भ्याट बाहेक २५ लाख रुपैयाँ मात्रै बुझाउने गरी १० वर्षका लागि निजी फर्मलाई लिजमा दिने सम्झौता गरेको छ। यस विषयमा कोसी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीले चासो दिँदै यो प्रक्रिया गलत भएको टिप्पणी गरेका छन्।

​चिया परीक्षणका लागि आवश्यक पर्ने सम्पूर्ण उपकरणहरू प्रयोगशालामा जडान गरिसकिएको र ती सामानहरू ‘स्विच’ थिच्ने बित्तिकै चल्ने भनिएको थियो। तर, प्राविधिक जनशक्तिको अभाव देखाउँदै कर्मचारी र केही प्रशासनिक निकायको उदासीनताले लिजमा दिइएको हो।

ल्याब सञ्चालन नहुँदा साना किसानहरूले आफ्नो चियाको गुणस्तर मापन गर्न पाएका छैनन् भने अर्कोतर्फ त्यही बहानामा आवासीय भवनलाई होटलको रूपमा सञ्चालन गर्ने तयारी छ।

मन्त्री मन्सुरीले यस विषयमा गम्भीर चासो देखाउँदै लिज प्रक्रिया रोक्न र ल्याबलाई तत्काल सञ्चालनमा ल्याउन दबाब बढाएका छन्। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र हात्तीसारस्थित प्राविधिक विज्ञहरूले जनशक्ति उपलब्ध गराउने प्रतिबद्धता जनाउँदा जनाउँदै पनि पालिकाले लिजमा दिन सम्झौता गरेकोप्रति उनले असन्तुष्टि जनाए।

‘मेसिनरी सामान र पूर्वाधार तयार छ, त्यसलाई सञ्चालन नगरी होटल बनाउन खोजिनु दुर्भाग्यपूर्ण हो,’ मन्त्री मन्सुरी भन्छन्,‘यो ल्याब सञ्चालनमा आए चिया र कफी खेतीबाट यो प्रदेश समृद्ध बन्न सक्छ, तर कर्मचारीतन्त्र र स्थानीय तहको कार्यशैलीले किसानको हितभन्दा व्यापारिक स्वार्थलाई प्राथमिकता दिएको देखिन्छ।’

यत्तिको ठूलो लगानी रहेको संरचनाको महत्त्वलाई बेवास्ता गरेर पालिकाले निजी कम्पनीलाई पोस्ने गरी जिम्मा लगाउने अवस्थामा पुगेको हो।

चिया परीक्षण प्रवर्द्धन तथा अनुसन्धान गर्न बनेको संरचनालाई भाडामा दिए बापत प्रदेश सरकारले आम्दानीको ४० प्रतिशत र स्थानीय तहले ६० प्राप्त गर्ने कार्यविधि बनेको छ। त्यही कार्यविधिलाई टेकेर अहिले संरचना नै लिजमा दिन लागिएको हो।

२०७७ मङ्सिर १८ गते नेपाली चियाको उत्पादन, प्रशोधन र बजारीकरणको प्रवर्द्धन गर्ने उद्देश्यले इलाममा चिया अध्ययन तथा परीक्षण केन्द्र निर्माण भएको हो। सूर्योदय नगरपालिका इलामको ३० प्रतिशत र प्रदेश सरकारको ७० प्रतिशत लगानीमा सो केन्द्र निर्माण सुरु भएको थियो। तत्कालीन मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका थिए।

गत २०८१ मङ्सिर २७ गते कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले केन्द्रको उद्घाटन गरेका थिए, केन्द्रभित्रको मेसिनरी र चिया परीक्षणका उपकरणहरू भने चल्न सकेका छैनन्।

सूर्योदय नगरपालिका कार्यवाहक मेयर दुर्गाकुमार बरालले केन्द्र सञ्चालनका लागि उत्तम प्रगति कन्स्ट्रक्सन प्रालि फिक्कलसँग ठेक्का सम्झौता भइसकेको बताए। उनले यहाँबाट ल्याब परीक्षण गर्ने तयारी भएको जानकारी दिए।

चिया परीक्षण केन्द्र कन्यामको चिया बगानसँगै रहेको ११ रोपनी क्षेत्रफलमा रहेको छ। ५ वटा भवन लिजमा लिएर सञ्चालन गर्ने सम्झौता भएको कम्पनीले जनाएको छ। कम्पनीका सञ्चालक उत्तम प्रधानका अनुसार, स्थानीय उत्पादनको प्रदर्शनी केन्द्रलाई केन्द्रकै रूपमा चलाउने, गेस्ट हाउसलाई होटलका रूपमा बनाउने र चिया परीक्षण गर्ने काम समेत कम्पनीबाट नै गर्ने गरी नगरपालिकासँग सम्झौता भएको छ।

प्रवक्ताको दोधारे कुरा
प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता पशुपति पोखरेलले उक्त भवन निर्माणमा कुल १३ करोड ९० लाख रुपैयाँ खर्च भएको दाबी गरे। जसमा १० करोड १ लाख रुपैयाँ सशर्त वित्तीय हस्तान्तरणमार्फत प्रदेश सरकारले उपलब्ध गराएको हो भने बाँकी रकम स्थानीय पालिकाले व्यहोरेको उनले बताए। खर्च मुख्यतः भवन निर्माण र आवश्यक फर्निसिङमा गरिएको छ।

सुरुवाती अवधारणा अनुसार अन्तर्राष्ट्रिय स्तरको परीक्षण प्रयोगशाला स्थापना गर्ने योजना रहे पनि त्यसका लागि थप ४–५ करोड रुपैयाँ लागत लाग्ने, उच्च दक्ष जनशक्ति आवश्यक पर्ने र त्यसरी गरिएको परीक्षणले अन्तर्राष्ट्रिय मान्यता नपाउने सम्भावना रहेकाले उक्त योजना कार्यान्वयनमा नल्याइएको स्पष्ट उनले बताए।

‘हाल निर्माण गरिएको संरचना प्रयोगशालाभन्दा पनि बहुउद्देश्यीय केन्द्रका रूपमा विकास गरिएको छ,’ उनले भने, ‘जहाँ चियासम्बन्धी नमूनाहरू सङ्कलन गर्ने, स्वाद परीक्षणका आधारमा मूल्य निर्धारण गर्ने, तथा निजी क्षेत्रको सहभागितामा व्यापार प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ।’

कृषि मन्त्रालयका अनुसार उक्त भवनको डिजाइन नै बहुउद्देश्यीय रूपमा गरिएको थियो, जसमा चिया सङ्ग्रहालय, कन्फ्रेन्स हल र आवासका लागि कोठाहरू समेत निर्माण गरिएका छन्। नगरपालिकाले ती संरचनाहरूको मर्मत सम्भार र सञ्चालन खर्च धान्न कठिन हुने भन्दै कार्यविधि बनाएर निजी क्षेत्रलाई जिम्मा दिएको दाबी गरेको छ।

​सरकारी बजेटमा बनेको यति ठूलो संरचनालाई व्यावसायिक प्रयोजनका लागि निजी क्षेत्रलाई सुम्पिँदा त्यसले चिया किसान र उत्पादकलाई कस्तो लाभ दिन्छ भन्ने विषय भने अझै प्रस्ट हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad