प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई अपमानजनक शब्द प्रयोग गरी गाली गरेको आरोपमा पाँचथरमा एक युट्युबरलाई प्रहरीले पक्राउ गरेको छ।
'hades' नामक युट्युब च्यानलमार्फत प्रधानमन्त्री शाहलाई गालीगलौज गरेर कन्टेन्ट बनाएको भन्दै प्रहरीले स्थानीय युट्युबर रोशन पोख्रेललाई गिरफ्तार गरेको हो।
उनी फाल्गुनन्द गाउँपालिका ७ घर भई सदरमुकाम फिदिममा बस्थे।
प्रहरीका अनुसार उनले आफ्नो युट्युब च्यानलमा राजनीतिक व्यक्तिबारे टिकाटिप्पणी गर्ने गर्थे।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार, उनले सार्वजनिक रूपमा प्रधानमन्त्री तथा अन्य नेताहरूको बेइज्जत हुने सामग्री युट्युबमा हालेपछि सोधपुछका लागि नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार सामाजिक सञ्जाल र अनलाइन प्लाटफर्ममार्फत व्यक्तिको मानहानि गर्ने, गालीगलौज गर्ने तथा घृणा फैलाउने सामग्री प्रसारण गर्नु गैरकानुनी काम हो।
यस्तै गतिविधि गरेको आरोपमा पोखरेलविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐनअन्तर्गत साइबर अपराधमा जिल्ला अदालतबाट शुक्रबार नै १० दिनको म्याद थप गरिएको छ। उनलाई चैत २६ गते नै पक्राउ गरिएको थियो।
प्रहरीले यस्ता संवेदनशील सामग्री उत्पादन र प्रसारण गर्दा कानुनी परिधिभित्र रहेर जिम्मेवारपूर्ण अभिव्यक्ति दिन सबैमा आग्रहसमेत गरेको छ।
Shares

प्रतिक्रिया