कोशी


विराटनगरको दशगजामा यसरी हुन्छ तस्करी- बाहिर होटल, भित्र भित्रै भारत छिर्ने बाटो

विराटनगरको दशगजामा यसरी हुन्छ तस्करी- बाहिर होटल, भित्र भित्रै भारत छिर्ने बाटो

सुमन सुस्केरा
चैत २६, २०८२ बिहिबार २१:०, ​विराटनगर

विराटनगरको रानी–जोगबनी नाका, जहाँबाट दैनिक हजारौँ मानिस र सामानको ओहोरदोहोर हुन्छ। यही भीडभाड र खुल्ला सीमाको फाइदा उठाउँदै तस्करीका लागि कस्ता–कस्ता जुक्ति लगाइन्छन् भन्ने कुराले स्वयं प्रशासनलाई समेत चकित तुल्याएको छ। पछिल्लो समय सीमा क्षेत्रमा बनेका भौतिक संरचनाहरू व्यापारका लागि मात्र नभई अवैध धन्दाका लागि ‘सुरक्षित सुरुङ’ जस्तै बनेका छन्। बाहिरबाट हेर्दा सामान्य देखिने चिया पसल वा सानो टहरोभित्र पसेपछि घरको अर्को ढोकाबाट सिधै छिमेकी मुलुक भारत पुगिने अनौठो र अवैध संरचना यहाँ भेटिएका छन्।
​मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल नेतृत्वको टोलीले बुधबार र बिहीबार गरेको अनुगमनका क्रममा विराटनगर–१६ को एक नम्बर ढाट आसपासका घरहरूमा यस्ता ‘तस्करी ढोका’ फेला परेका हुन्। इँटाको बलियो पर्खाल भएका घरहरूमा समेत भारततर्फ खुल्ने गरी फलामका गोप्य ढोकाहरू बनाइएको फेला परेको कटेलले बताए। 
उनले भने, ‘नेपालबाट घरभित्र छिरेपछि ती चोर ढोका हुँदै सजिलै भारत पुग्न सकिने र उताबाट अवैध सामान भित्र्याउन सकिने स्थिति छ।’
प्रहरी उपरीक्षक कबित कटुवालले यस्ता घरहरूलाई लागुऔषध र तस्करीका सामान ओसारपसार गर्ने मुख्य ट्रान्जिट प्वाइन्ट बनाइएको सूचनाका आधारमा खानतलासी गर्दा तस्करीको यो नयाँ मोडल थाहा  भएको बताए।
​यी घरहरूमा सञ्चालित साना होटल र पसलहरूमा दैनिक उपभोग्य वस्तुहरू जस्तै दाल, चामल, तेल र साबुन मात्र नभई ठुलो मात्रामा अवैध मदिराको कारोबार समेत हुने गरेको पाइएको छ।  
भारतबाट आउने ग्राहकलाई लक्षित गरी खोलिएका यस्ता होटलहरू दर्ता समेत नगरी सञ्चालन भइरहेका छन्। आन्तरिक राजस्व कार्यालयको सहभागितामा गरिएको अनुगमनमा दर्जनौँ पसलहरूले कानुनी प्रक्रिया पूरा नगरेको र राज्यलाई राजस्व छली गरिरहेको भेटिएपछि प्रशासनले उनीहरूलाई जरिवाना र दर्ता प्रक्रियामा ल्याउने कार्य सुरु गरेको छ।
​खुल्ला सीमाको ६३ किलोमिटर क्षेत्र ओगटेको मोरङमा यस्ता संरचनाहरू सुरक्षाका दृष्टिकोणले संवेदनशील रहेको प्रहरीले जनाएको छ। 
घरभित्रैबाट तस्करीको बाटो सिर्जना गरिएपछि प्रशासनले सीमा क्षेत्रका घरधनीहरूलाई भारततर्फ खोलिएका सबै चोर ढोकाहरू हटाएर इँटाको पर्खाल लगाउन सात दिनको म्याद दिएको छ। यदि तोकिएको समयभित्र ती अवैध ढोकाहरू बन्द नगरिए तथा दशगजा क्षेत्रका मापदण्ड विपरीतका संरचनाहरू नहटाइए प्रशासनले कडा कारबाही गर्ने चेतावनी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad