कोशी


प्रदेश योजना आयोगको सदस्य छाडेर समानुपातिकबाट सांसद

प्रदेश योजना आयोगको सदस्य छाडेर समानुपातिकबाट सांसद

सुमन सुस्केरा
चैत ३, २०८२ मंगलबार १५:११, विराटनगर

कोसी प्रदेश योजना आयोगको सदस्यबाट राजीनामा दिएर हालै प्रतिनिधि सभाको समानुपातिक सांसदमा निर्वाचित भएकी प्रमिला गच्छदारको परिचय फेरिएको छ। उनी अब एक नीति निर्माता र जन–प्रतिनिधिका रूपमा स्थापित भएको छ।

सुनसरीको बर्जुमा जन्मिएर हाल विराटनगर–४ मा बसोबास गर्दै आएकी गच्छदारको शैक्षिक र राजनीतिक यात्रा निकै सङ्घर्षपूर्ण र प्रेरणादायी देखिन्छ।

२०३२ साल मङ्सिर १३ गते सुनसरीको बर्जुमा जन्मिएकी गच्छदारले प्राथमिक तहको शिक्षा गाउँकै विद्यालयबाट पुरा गरेकी थिइन्। विराटनगरबाट एसएलसी उत्तीर्ण गरी विराट साइन्स क्याम्पसबाट आइएसी र महेन्द्र मोरङ क्याम्पसबाट बिएसी पूरा गरेकी उनले स्नातकोत्तर तहमा दुई वटा विषयमा डिग्री हासिल गरिन्। 

बोटनी (वनस्पति शास्त्र) र समाजशास्त्रमा स्नातकोत्तर अध्ययन पुरा गरेकी गच्छदारले वनस्पति शास्त्रमै विद्यावारिधि (पीएचडी) समेत गरेकी छन्।

राजनीतिक यात्रा र जिम्मेवारी
विगत दुई दशकभन्दा लामो समयदेखि राजनीतिमा सक्रिय गच्छदारले विसं २०६३ देखि साङ्गठनिक रूपमा विशेष परिचय बनाइन्।

तत्कालीन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) को केन्द्रीय सदस्य भइन्। उनी भ्रातृ सङ्गठन युवा फोरमको उपाध्यक्षको जिम्मेवारीसम्म पुगिन्।

पछि पार्टी एकताका क्रममा नेपाली कांग्रेसमा प्रवेश गरेपछि महाधिवेशन प्रतिनिधि र विभिन्न विभागहरूमा रहेर कार्यसम्पादन गरेको उनी सुनाउँछिन्। अहिले नेपाली कांग्रेस कोसी प्रदेशको सह–महामन्त्रीका साथै महासमिति सदस्यको भूमिकामा छिन्।

करिब १४ महिना कोसी प्रदेश योजना आयोगको सदस्यका रूपमा रहेर नीति निर्माणको क्षेत्रमा अनुभव बटुलेकी गच्छदार प्रदेश योजना आयोगको सदस्यमा रहँदा रहँदै राजीनामा दिएर उम्मेदवार बनेकी थिइन्। प्रदेश योजना आयोग सदस्यको पदबाट राजीनामा दिएर समानुपातिक सांसदमा उनी निर्वाचित भएकी हुन्। 

राजनीतिक यात्राका क्रममा आफूमाथि लाग्ने गरेका कतिपय व्यक्तिगत आरोप र चर्चालाई उनले पूर्णतः खण्डन गरेकी छिन्।

विशेष गरी पूर्वमन्त्री विजयकुमार गच्छदारको परिवारसँग जोडेर गरिने टिप्पणीका सम्बन्धमा उनले भनिन्, ‘थर एउटै हुँदैमा नाता जोडिने होइन। महिलाहरू नेतृत्वदायी पदमा पुग्न लाग्दा उनीहरूको क्षमता र दक्षतालाई ओझेलमा पार्न चरित्र हत्या गर्ने जुन प्रवृत्ति समाजमा छ, त्यसलाई चिर्नु जरुरी छ।’ 

उनका बुवा स्कुलको प्रधानाध्यापक थिए। अविवाहित रहेर पूर्ण रूपमा राजनीति र समाजसेवामा समर्पित गच्छदारले अबको आफ्नो कार्यकाल सुशासन र नीति निर्माणमा केन्द्रित गर्ने बताएकी छिन्। जनतामा रहेको असन्तुष्टि, भ्रष्टाचार र प्रशासनिक ढिलासुस्तीलाई हटाउन सामूहिक प्रयास गरिने उनको योजना छ।  

उनले भनिन्, ‘प्रदेश योजना आयोगमा रहँदाको अनुभवलाई सदनमा प्रयोग गर्दै जनअपेक्षा अनुसार नीतिगत सुधारका लागि आवाज उठाउने मेरो प्रतिबद्धता छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad