ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं ७ का बासिन्दाहरूले अस्पताल नबने भोट नहाल्ने अडान राख्दै प्रतिनिधि सभाको निर्वाचन प्रक्रिया नै पूर्ण रूपमा बहिष्कार गरे।
स्थानीय स्तरमा प्रादेशिक अस्पताल निर्माणका लागि प्रदेश सरकारलाई १६५ रोपनीभन्दा बढी जग्गा निःशुल्क उपलब्ध गराए पनि वर्षौँसम्म निर्माण प्रक्रिया अघि नबढेपछि आक्रोशित स्थानीयले २०८२ सालको प्रतिनिधि सभाको निर्वाचन नै बहिस्कार गरेका हुन्।
वडा सदस्य भीम बहादुर भुजेलका अनुसार, वडामा रहेका दुई वटा बुथमध्ये ७०१ जना मतदाता रहेको माथिल्लो भेगको सहिद स्मृति आबि सातसल्ले मतदान केन्द्रमा एक जनाले पनि मत नखसाली साँझ कर्मचारी फर्किएका छन्। सोही वडाको अर्को हर्कपुर मावि मतदान केन्द्रमा ५७६ मतदाता भएकोमा मतदान सफल भएको छ।

यो बहिष्कारको योजना फागुन १८ गते होलीको दिन औपचारिक निर्णय गरी मागहरू जिल्ला प्रशासन र निर्वाचन आयोगसम्म पुर्याइएको थियो। स्थानीयका अनुसार, विगतका चुनावहरूमा विभिन्न राजनीतिक दलका झन्डा बोकेर घरदैलो गर्ने र भोट माग्ने कार्यकर्ताहरू नै अहिले यो सामूहिक बहिष्कारको अग्रपंक्तिमा छन्। यस अभियानको नेतृत्व विगतमा नेपाली काँग्रेसमा रहेका कार्यकर्ताहरूले गरेको स्थानीय जनप्रतिनिधिहरू बताउँछन्।
स्थानीयको मुख्य गुनासो जग्गा प्राप्तिसँग जोडिएको छ।
‘हामीले अस्पताल बन्छ भनेर १६५ रोपनी जग्गा सरकारको नाममा पास गरिदियौँ, तर जग्गा सरकारको नाममा गइसक्दा पनि भवन निर्माणको एउटा इँटा समेत थपिएन’, एक स्थानीयले गुनासो गरे। सरकारको यही उदासीनताका विरुद्ध दबाब दिन यस पटक भोटलाई हतियार बनाएको उनीहरूको भनाइछ ।

प्रशासनको प्रयास असफल
स्थितिको गम्भीरतालाई बुझ्दै प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्राती र निर्वाचन आयोगको टोली घटनास्थल पुगेर स्थानीयलाई मतदान गर्न आग्रह गरेका थिए। प्रशासनले ५ बजेसम्म प्रयास गर्दा पनि स्थानीय मतदान गर्न नै गएनन्।
प्रहरी प्रशासनले मतदातालाई मनाउने प्रयास गरे तापनि स्थानीयहरू भने बाटो–बाटोमा समूह बनाएर बसे तर मतदान केन्द्र छिरेनन्।
कोही मतदान स्थलमा गइहाल्यो की भनेर वरिपरिबाट घुमेर हेरेका थिए। मतदान केन्द्रमा पार्टीका कुनै पनि दलका प्रतिनिधि नै नगएपछि मतदान गराउन गएका कर्मचारीहरूले स्थानीय जनप्रतिनिधिको रोहवर प्रतिनिधि बसेका थिए।
दलका प्रतिनिधिहरू नै नआएपछि पनि वैकल्पिक रूपमा स्थानीय जनप्रतिनिधिलाई रोहबरमा राखेर निर्वाचन गराउनको लागि सबै तयारी गरेर दिनभर बसेको निर्वाचन गराउन गएको टोली एक जनाले पनि मत नहालेपछि रित्तै फर्किएको प्रमुख जिल्ला अधिकारी मंग्रातीले बताए।
उनले भने, ‘हामीले मतदानको लागि आग्रह गरेका थियौँ, तर यहाँ कोही पनि मतदान गर्न नआएपछि मताधिकार उहाँहरूको पनि अधिकार भएकोले टोली ५ बजेसम्म पर्खिएर समयसम्म मतदान केन्द्रमा बसेर फर्किएको छ।’
Shares

प्रतिक्रिया