झापा क्षेत्र नं. ५ यस पटकको निर्वाचनमा देशकै ‘इपिसेन्टर’ बनेको छ। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह (बालेन्द्र) बीचको प्रतिस्पर्धाले यहाँको माहौललाई निकै तताएको छ।
दुवै उम्मेदवारले सार्वजनिक गरेका ‘प्रतिबद्धता पत्र’ र ‘वाचा पत्र’ले मतदातालाई कसरी हुन्छ आफ्नो पक्षमा पार्ने प्रयास गरेका छन्। यी दुवैको एजेन्डामा विकास र परिवर्तनका दुई फरक दृष्टिकोण देखिएका छन्।
‘विकासको निरन्तरता र राष्ट्रियता’
एमाले अध्यक्ष ओलीले आफ्नो क्षेत्रमा विगतमा सुरु गरेका ‘मेगा प्रोजेक्ट’हरूलाई पूर्णता दिने मुख्य संकल्प अघि सारेका छन्। उनको प्रतिबद्धता पत्रमा भौतिक पूर्वाधार र राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिइएको छ।
पूर्वाधारमा नेपाल–चीन मैत्री औद्योगिक पार्क, दमक भ्यू टावर र मदन भण्डारी रङ्गशालाको सञ्चालन र व्यवस्थापनका विषयहरू समावेश गरिएको छ। त्यस्तै दमक–रवि–चिसापानी सडक र हुलाकी मार्ग जस्ता ठूला सडक सञ्जालको विस्तार भएका कुराहरूलाई विकास मोडेलको रूपमा सार्वजनिक गरिएको छ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई सार्थक बनाउन राजनीतिक स्थिरता र बलियो सरकारको आवश्यकता रहेको औँल्याएका ओलीको प्रतिवद्धता पत्रमा अब पनि एमालेको नेतृत्वमा सरकार निर्माण र राष्ट्रियता मुद्दालाई बलियो बनाउने उल्लेख गरिएको छ।
सुशासन र प्रत्यक्ष सेवा
उनका एजेन्डाहरूले प्रत्यक्ष जनचासोका विषयलाई समेटेको देखिन्छ। सरकारी सेवामा ‘डिजिटल ड्यासबोर्ड’ र जग्गाको लगतलाई पूर्ण डिजिटल बनाउने भन्ने उल्लेख गरेको देखिन्छ। स्वास्थ्य र शिक्षामा ३०० बेडको दमक अस्पताल, १० प्रतिशत शय्या विपन्नलाई निःशुल्क र ‘स्कुल रिटेन्सन’ कार्यक्रममार्फत शिक्षामा सुधारका एजेन्डा सार्वजनिक गरेका छन्।
ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्य सेवा र महिला उद्यमीका लागि विशेष कर्जाका एजेन्डाहरू पनि उनले साझा गरेका छन्।
मतदाताका दुई विकल्प
दुई फरक दल त्यसमा पनि दुवै उम्मेदवार प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गर्दै आएकाहरूको बिचमा अहिले निकै प्रतिस्पर्धा हुने देखिएको छ। दुवै उम्मेदवारले झापाको चिरपरिचित सुकुम्वासी समस्यालाई समाधान गर्ने र लालपुर्जा वितरण गर्ने साझा प्रतिबद्धता जनाएका छन्।
त्यस्तै, कृषिमा आधुनिकीकरण र ‘कोल्ड स्टोरेज’ निर्माण गर्ने विषयमा पनि दुवैको मत एउटै देखिन्छ।
ओलीले ठूला भौतिक पूर्वाधार र राष्ट्रिय राजनीतिका योजनालाई मुख्य आधार बनाएका छन् भने शाहले प्रणालीगत सुधार र डेलिभरीलाई जोड दिएका छन्। एमालेले विकासलाई इँटा र सिमेन्ट (ठुला भवन र सडक) बाट हेरेको देखिन्छ भने रास्वपाले विकासलाई सेवा सुविधा र प्रविधि (डिजिटल सेवा र प्रत्यक्ष राहत) जस्ता लोकप्रिय कार्यक्रमहरू ल्याएको छ।
झापा–५ मा मतदातासामु एकातर्फ अनुभवी र शक्तिशाली नेतृत्व (ओली)को निरन्तरता रोज्ने चुनौती छ भने अर्कोतर्फ युवा उम्मेदवार (बालेन) को परिवर्तनको नारालाई खोज्ने भन्ने विकल्पहरू आएका छन्।
ठूला सपना र दैनिक जनजीवनका आवश्यकता बीचको यो प्रतिस्पर्धाले झापाको मात्र नभई राष्ट्रिय राजनीतिकै भावी दिशा तय गर्ने देखिन्छ। यो दौडमा बालेन अरू दलको मतबाट जित्ने कसरतमा देखिएका छन् भने ओली आफ्नो मत रक्षाको लागि निरन्तर क्षेत्रमा नै लागि परेका छन्।
Shares

प्रतिक्रिया