राजनीति


ओलीले माहोल सुधारेको सूचनापछि आकस्मिक रूपमा झापा फर्किए बालेन

ओलीले माहोल सुधारेको सूचनापछि आकस्मिक रूपमा झापा फर्किए बालेन

उजिर कार्की
फागुन १०, २०८२ आइतबार २२:५२, काठमाडौँ

यसअघिका निर्वाचनमा आफ्नो क्षेत्रका केही ठाउँमा भाषण गरेर देशभरि डुल्ने एमाले अध्यक्ष केपी शर्मा ओली यसपालि चुनावी रणनीति बदल्न बाध्य छन्। बुधबार दिउँसो मात्रै काठमाडौँ फर्किएका उनले बिहीबार पार्टीको घोषणा पत्र सार्वजनिक गरे। शनिबार त उनी झापा फर्किहाले। 

त्यसपछि आफ्नै क्षेत्रमा उनी व्यस्त छन्। 

यसपालि ओलीलाई चुनाव आउनु पहिलेबाटै तनाव सुरु भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीको उम्मेदवार बनेर ओलीसँग भिड्न पुगेपछि तनाव थप बढेको एमाले नेताहरू स्वीकार गर्छन्। 

ओली प्रधानमन्त्री र बालेन काठमाडौँको मेयर हुँदै सुरु भएको उनीहरूबीचको दूरी बढेको बढ्यै भयो। जसले गदौ यी दुई धारबीच प्रतिष्ठाको लडाइँको केन्द्र बन्यो झापा–५। २०६४ सालको चुनावमा बाहेक नहारेका ओली यसपटक जितिँदैन कि भन्ने सोच्न बाध्य छन्। 

ओलीलाई जस्तै तनाव छ बालेनलाई। झापाका मतदाता कता ढल्किने हुन्, बडो धुकचुक छ। उम्मेदवारी घोषणा गर्नुपहिले नै त्यहाँको माहोल बुझेका बालेन मतदाताको मन परिवर्तन गर्न सकिने निष्कर्षमा पुगेर झापा हानिएका हुन्। 

‘हामीले सर्वे गरेका थियौँ। ओलीलाई हराउन सकिन्छ भनेर नै यहाँ आउने निर्णय लिइएको हो,’ बालेनको टिमका एक सदस्यले भने, ‘पछि झनझन् माहोल बन्दै गयो। अब यस्तै मेहनत गरिराख्यौँ भने चुनाव जितिन्छ। तर, यसका लागि बालेनले पनि यो क्षेत्र छाड्नु हुँदैन।’

रास्वपाका देशभरका उम्मेदवारले आफ्नो क्षेत्रमा बालेन र रवि पुगिदिऊन् भन्ने चाहेका छन्। उम्मेदवारी दर्ता गरेर बालेन आफ्नै क्षेत्रमा सीमित छैनन्। बरु उनकी पत्नी सविना काफ्लेसहितको टिमले झापा छाडेको छैन। 

बालेनको प्रभाव बढ्दै गएपछि एमालेले पनि चुनाव जित्न कठिन रहेको निष्कर्ष निकाल्यो। यसअघि एमालेलाई मत दिएकाहरू नै घण्टीतिर ढल्किन थाले। त्यसपछि एमाले सोच्न बाध्य भयो। 

‘हामीले मसिनो गरी कुरा बुझ्न थाल्यौँ। कार्यकर्ता नै असन्तुष्ट रहेको पायौँ। उनीहरू बालेन रोजेर भन्दा पनि एमालेसँग रिसाएर हिँड्न खोजेको हामीलाई लाग्यो। त्यसपछि हामीले फरक हिसाबले काम गर्न थाल्यौँ,’ एमालेका एक पदाधिकारीले भने, ‘त्यसपछि मतदाताको गुनासो सिधै ओलीलाई सुनाउने र सम्बोधन गर्ने गरी कार्यक्रम अगाडि बढायौँ, कार्यकर्ताका पनि गुनासो सुन्दै र सम्बोधन गर्दै लगेका छौँ।’

उनका अनुसार झापाका मतदाताहरू एमालेका जिल्लास्तरीय नेताहरूसँग खुसी छैनन्। उनीहरू आफ्नो गुनासो ओलीलाई नै सुनाउन चाहन्थे। त्यसपछि एमालेले ओलीलाई घरघरै डुलाउने र मत माग्ने नीति लियो।

ओलीको चुनावी टिमका एक सदस्यका अनुसार दमकका केही वडाबाहेक अधिकांश ठाउँमा पहिलो चरणको घरदैलो कार्यक्रम सकिएको छ। सोमबार भोलेन्टियर्स फोर्सको कोसी प्रदेश भेला झापा ५ मै गरेपछि दोस्रो चरणको अभियान सुरु गर्ने तयारी छ। सँगै मत तान्ने अरु रणनीतिक काम पनि भइरहेका छन्।

यी दुई उम्मेदवारले यो क्षेत्रमा अरुलाई प्रतिस्पर्धी नै ठानेका छैनन्। बरु तिनका पार्टीसँग डिल गर्दै मत तान्ने प्रयास गरिरहेका छन्। 

बालेन माघ ६ गते उम्मेदवारी दर्ता गर्न झापा पुगे। त्यसबाट उत्साहित हुँदै देश दौडाहमा निस्किएका थिए। इलाम, ताप्लेजुङ, उदयपुर, ओखलढुंगा, रामेछाप फन्को मारेर मधेस पुगे। कर्णाली हुँदै सुदूरपश्चिम भ्याएर ठूला सभामा केन्द्रित हुन थालेका थिए। 

ठूला सभामा बोल्दैनन् भन्ने आरोप चिर्न झापा पुग्नुपहिले नै बालेनले जनकपुरको सभालाई सम्बोधन गरेका थिए। पछिल्ला सभाहरूमा पनि छोटा भाषण गरिनै रहेका छन्। रास्वपाले बालेन र रवि लामिछानेलाई एक साथ सभामा उतारेर माहोल तताउने रणनीति लिइरहेको थियो। तर बालेन गएको बिहीबार सुर्खेतबाट एकाएक काठमाडौँ हानिए। 

आफूलाई धपेडी बढी भएको बताउँदै निकटस्थ कुमार बेनसँग उनी काठमाडौँ फर्किए। आफ्नो टोलीलाई भने झापा गएर सविनासहित घरदैलोमा केन्द्रित हुन भने।

बालेनको मुख्य चुनावी रणनीति नै भाषणभन्दा घरदैलो हो। रास्वपाका उम्मेदवारहरूलाई पनि उनले यही सल्लाह दिएका छन्। लामो भाषण र अनावश्यक वाचा नगर्ने, मतदाताको कुरा सुन्ने। आफ्नो क्षेत्रमा आइदिन आग्रह गर्ने रास्वपाका उम्मेदवारलाई उनले यही कुरा सुझाएका छन्। 

तर, उनको फरक रणनीतिले मात्रै रास्वपाका ठूला सभा स्थगित भएका होइनन्। बालेननिकट ती नेता भन्छन्, ‘झापामा माहोल बिग्रियो भन्ने सुनेपछि हामी फर्किएको हो। सुरुमा हाम्रो माहोल उत्साहजनक थियो। तर, एमालेले विस्तारै प्रभाव बढायो, बालेन नहुँदा एमालेको माहोल सुध्रिएको सुनेपछि हामी झापाकेन्द्रित हुन थालेको हो।’

बालेन देशदौडाहमा भए पनि झापा ५ लाई लक्षित गर्दै उनको टिमले घोषणा पत्र तयार गरिरहेको थियो। शनिबार झापा फर्किएपछि टिमले तयार गरेको घोषणा पत्र बालेनले हेरे, तर चित्त बुझाएनन्। 

त्यही कारण आइतबार बिहानै सार्वजनिक गर्ने भनिएको घोषणा पत्र साँझसम्म पनि सार्वजनिक हुन सकेन। घोषणा पत्र तयार भएपछि भिडिओ रेकर्ड गर्ने र सार्वजनिक गर्ने बालेनको तयारी छ। 

ओलीले भने यसअघि नै आफ्नो घोषणा पत्र सार्वजनिक गरिसकेका छन्। ओलीले झापामा घोषणा पत्र सार्वजनिक गर्दा बालेन पश्चिम नेपालमा अर्कैका लागि मत माग्दैथिए। लगत्तै उनी एकाएक पूर्व फर्किने निर्णयमा पुगे। 

बालेन अस्वस्थ छु भन्दै काठमाडौँ फर्किएपछि रास्वपाले भैरहवा र पोखरामा तय गरेको सभा स्थगित गर्‍यो। तर, सभा स्थगित गरेको भोलिपल्टै बालेन आफ्नो क्षेत्र फर्किएर चुनावी अभियानमा लागे। आइतबार पनि आफ्नो सानो टिमसहित उनले घरदैलो गरेका छन्। प्रायः बालेन आफ्नो सानो टिमसँग हिँड्न रुचाउँछन्। रास्वपाका स्थानीय नेताहरूलाई आफ्नै हिसाबले लाग्न भनेका छन्। 

अब बालेन आफ्नै क्षेत्रमा केन्द्रित हुने उनको टिमको दाबी छ। 

‘अब धेरै अन्त लाग्नुहुन्न। एक दिन, दुई दिन जाने कुरा फरक हो, नभए झापामै रहने र घरघर पुगेर मतदाता भेट्ने कुरा छ,’ उनले भने। 

उता ओलीले भने कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरीगन्ज गाउँपालिकामा एक चरण घरदैलो गरिसकेका छन्। अब दमकका बाँकी वडा सकिएपछि दोस्रो चरणको अभियान थाल्ने तयारीमा छन्। सोमबार कोसी प्रदेशस्तरीय भोलेन्टियर्स फोर्सको भेला हुँदैछ। दमकमा हुने त्यो भेलालाई भव्य आमसभामा परिणत गर्ने तयारी एमालेको छ।

झापा फर्किएकै दिन उनले निजी क्षेत्र (हिसान) को आयोजनामा अन्तरसंवाद गरे। आइतबार पत्नी राधिका शाक्यको पुस्तक ‘अनुभूति’को अन्तरसंवाद गरे। पहिल्यै सार्वजनिक भइसकेको यो पुस्तकमा जेनजी आन्दोलनमा भएका घटनाहरू समेटेर पुनः प्रकाशन गरिएको हो। 

आफूसँग जोडिने सबै कार्यक्रम झापाबाटै सञ्चालन गरिरहेका ओलीको पहिलो रणनीति पार्टीको मत जोगाउने छ। उनले हरेक वडाका कार्यकर्तालाई भेट्ने, फोनमा कुरा गर्ने र चुनावमा सक्रिय बनाउने रणनीति लिएका छन्। झापामा आफ्नो पार्टीको मत ३७ हजार रहे पनि अहिले दबाबमा रहेको एमाले नेताले बताए। 

‘झापामा हाम्रो मत ३७ हजार हो। त्यसमा दुईचार हजार मत नआउन सक्छ। त्यसो भयो भने ३२ हजारजति हिसाब गरेका छौँ। केही नयाँ मत हामीले तानेका छौँ त्यसो गर्दा ४०/४२ हजार मत ल्याएर जित्छौँ भन्ने विश्वासमा छौँ,’ ओलीको निर्वाचनमा खटिरहेका एक केन्द्रीय नेताले भने, ‘रास्वपासँग त्यत्रो मतको आधार छैन। अहिले हिँडिरहेका मान्छे बाहिरका बढी छन्। कांग्रेस, माओवादी र राप्रपाको मत रास्वपालाई गयो भने पनि ३० हजारभन्दा माथि मत नजाला। चुनाव दुई वटा पोलमा हुने हो। बाँकी दललाई २० हजार जति मत बाँडिएला जस्तो छ।’

एमालेले आफ्नो मत सुरक्षित गर्दै बालेनलाई रोक्न कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र राप्रपाको मत तान्ने रणनीति लिएको छ। यसका लागि एमाले कांग्रेस र राप्रपासँग माथिल्लो तहमा संवादमा छ। अहिलेको चुनावमा कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा समूह असन्तुष्ट रहेको र ओलीप्रति सकारात्मक रहेकाले सो समूहको मत आफूलाई आउने विश्वासमा ओली छन्। 

यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई झापा ३ मा सहयोग गरेर भए पनि राप्रपाको साथ लिने कसरत एमालेले गरिरहेको छ। एमालेले अन्तिममा यस्तो चलखेल गर्ने र आफूलाई हराउन पुराना सबै दल एकजुट हुनेमा आफूहरू ढुक्क रहेको बालेननिकट नेता बताउँछन्।

‘यो सामान्य चुनावभन्दा माथिको लडाइँ भयो। त्यसकारण बालेनलाई हराउनका लागि सबै कुरा हुन्छ। माहोल देखेर आत्तिएका छन्, अब जे पनि गर्न सक्छन् भन्ने कुरामा हामी सचेत छौँ,’ उनले भने, ‘यही अवस्था होल्ड गर्न सकिए हामी १०/१५ हजार मतान्तरले चुनाव जित्छौँ।’

ओली एमालेबाट र बालेन रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार घोषणा भइसकेका छन्। तर, प्रधानमन्त्रीका दाबेदार भएकाले यी दुईको टक्कर परेको होइन। ओली जेनजी आन्दोलन गराएको र सिंहदरबार जलाएको आरोप बालेनलाई लगाउँछन्। जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिएर बालबालिकाको हत्या गराएको आरोप बालेनले ओलीलाई लगाएका छन्।

यी घटनाका सम्बन्धमा दुवैसँग बयान लिएर जाँचबुझ आयोगले प्रतिवेदन तयार गरिरहेको छ। तर, चुनावअघि प्रतिवेदन सार्वजनिक भए माहोल बिग्रने निष्कर्षसहित सरकारले गौरीबहादुर कार्की नेतृत्वको म्याद नै चुनाव पछिसम्मलाई धकेलिदिएको छ। प्रतिवेदन आउनुपहिले नै ओली र बालेन भने चुनावी नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad