कोशी


राष्ट्रिय सभा निर्वाचन : कोसीमा ८ जनप्रतिनिधिको नाम मतदाता सूचीबाट हटाइयो, १८६ मतभार घट्यो

राष्ट्रिय सभा निर्वाचन : कोसीमा ८ जनप्रतिनिधिको नाम मतदाता सूचीबाट हटाइयो, १८६ मतभार घट्यो

सुमन सुस्केरा
माघ १०, २०८२ शनिबार २०:२०, ​विराटनगर

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोसी प्रदेशबाट ८ जना जनप्रतिनिधिको नाम मतदाता सूचीबाट हटाइएको छ। 

निर्वाचनको पूर्वसन्ध्यामा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख गरी ८ जनाको नाम मतदाता सूचीबाट हटाइएको छ, जसका कारण कोसी प्रदेशको कुल मतभार १८६ अंकले घटेको छ।

​प्रदेश निर्वाचन कार्यालयका अनुसार, आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका र अन्य प्राविधिक कारणबाट उनीहरूको नाम हटाइएको हो।

यसरी नाम हटेका जनप्रतिनिधिहरूमा राप्रपाका प्रदेश सभा सदस्य भक्ति सिटौला, धरानका प्रमुख हर्क साम्पाङ, रंगेलीका प्रमुख दिलिप बगडिया, सूर्योदयका प्रमुख रणबहादुर राई, थुलुङ दूधकोशीका अध्यक्ष असिम राई, लिम्बचुङबुङका अध्यक्ष मेजर राई र लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापाको नाम मतदाता सूचीबाट हटाइएको छ। यस्तै, भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह पनि मतदान प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

​कोसी प्रदेशमा रिक्त रहेका ३ सदस्य पदका लागि यो निर्वाचन हुन लागेको हो। खुल्ला तर्फका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेकाले अब २ जनाको लागि मतदान हुनेछ।

महिला र दलित सदस्य पदका लागि मात्रै मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जसमा कांग्रेस-एमाले गठबन्धन र नेकपाका उम्मेदवारहरूबीच मुख्य प्रतिस्पर्धा हुँदैछ। ८ जना मतदाता घटेपछि अब प्रदेशको कुल मतभार १० हजार १३५ कायम भएको छ।

आइतबार बिहान १० देखि ३ बजेसम्म प्रदेश निर्वाचन कार्यालय विराटनगरमा हुने मतदानका लागि सुरक्षा र व्यवस्थापकीय प्रबन्ध मिलाइसकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचनका लागि मतदान केन्द्र  प्रदेश निर्वाचन कार्यालयमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad