फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि कोसीमा चर्चा भएको निर्वाचन क्षेत्र मध्येको एक हो मोरङ- ६।
यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस भित्र कोइरालाको विरासत बोकेर बसेका डा. शेखर कोइरालाको उम्मेदवारी परेको छ।
संघीयता कार्यान्वयनमा आएसँगै २०७४ सालको निर्वाचनमा एमालेका नेता लालबाबु पण्डितसँग पराजय बेहोरेका शेखर कोइराला २०७९ सालको निर्वाचनमा भने उनै पण्डितलाई हराएका थिए।
आगामी फागुन २१ गते हुने निर्वाचनमा दलबाहिरका प्रतिस्पर्धीको चुनौती त उनलाई हुने नै छ। आफ्नै पार्टीका कार्यकर्ताको असन्तुष्टि व्यवस्थापन गर्न पनि अप्ठ्यारो हुनेछ।
नेपाली कांग्रेसका पालिका स्तरका एक नेताका अनुसार, नागरिकले यो क्षेत्रको समस्या प्रतिनिधि सभामा बोल्न भनेर आग्रह गर्दा समेत बोलेनन्।
पार्टीभित्रको आन्तरिक कलह र विगतका तीता अनुभवका कारण असन्तुष्ट बनेका नेता-कार्यकर्तालाई थुमथुम्याउन डा कोइराला यति बेला आन्तरिक छलफलमा व्यस्त छन्।
सार्वजनिक मञ्चहरूमा देखिनुअघि पार्टीभित्रको असन्तुष्टि मत्थर पार्ने रणनीतिअनुसार उनले वडा तहका अगुवा नेताहरूसँगको छलफललाई तीव्रता दिएको कांग्रेसका एक नेताले बताए।
डा शेखर कोइरालाको सचिवालयका अनुसार बुधबार विराटनगर महानगरपालिकाका ७ वटा वडा र बुढीगंगा गाउँपालिकाका नेताहरूसँग छलफल गरेका थिए।
बिहीबार सुन्दरहरैँचाका नगरपालिका भित्र पर्ने ६ वटा वडाका अगुवाहरूसँग संवादमा व्यस्त रहेका छन्। विशेष महाधिवेशन र पार्टीभित्रको आन्तरिक शक्ति संघर्षका कारण निराश भएका कार्यकर्ताहरूलाई एकजुट बनाउन उनले रणनीतिक गतिविधि गरिरहेको उनी निकट स्रोत बताउँछ।
‘पुराना कुरा बिर्सिएर चुनावमा केन्द्रित हुन आग्रह गरिरहनुभएको छ,’ उनी निकट स्रोतले भन्यो, ‘विगतका घटना सम्झिँदा पार्टी कमजोर हुने र त्यसले चुनावी नतिजालाई असर गर्ने भन्दै उहाँ कार्यकर्तालाई फकाउने प्रयास गरिरहनुभएको छ।’ पारिवारिक विरासतबाट नेपाली राजनीतिमा छिरेका कोइराला कांग्रेसको संस्थापन इतर समूहका नेता हुन्। 
२०७९ सालको निर्वाचनमा कोइरालाले ३५ हजार २१८ मत ल्याउँदा एमालेका पण्डितले २२ हजार ९३२ मत ल्याएका थिए। यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले ९ हजार ५७१ मत पाएका थिए।
यसपटक कोइरालाको प्रतिस्पर्धीमा एमालेका नेता विनोद ढकाल चुनावी मैदानमा उत्रिएका छन्। शेखर कोइराला आफ्नो विरासत जोगाउँदै राष्ट्रिय नेतृत्वको यात्रा तय गर्न चाहन्छन् भने, ढकाल ‘विराटनगरको विकास’ को एजेन्डा लिएर जित निकाल्ने दाउमा छन्।
कोइराला र ढकालसँगै यो निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुविना आचार्य लगायत १९ जना उम्मेदवार छन्।
Shares

प्रतिक्रिया