फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि कोसी प्रदेश यसपटक देशकै चर्चाको क्षेत्र बनेको छ।
प्रमुख दलका शीर्ष नेता, स्थापित पद र नयाँ पुस्ताका चर्चित अनुहारहरू एउटै मैदानमा उत्रिएपछि कोसीको चुनावी तापक्रम ह्वात्तै बढेको छ। जसले तय गर्ने छ
विशेषगरी झापा, मोरङ र सुनसरीका ८ वटा निर्वाचन क्षेत्रमा ‘हाइप्रोफाइल’ भिडन्तले राष्ट्रिय राजनीतिको भविष्य कता मोडिनेछ भन्ने समेत निर्देशित गर्नेछ।
यसपटकको निर्वाचन दलहरूबीच मात्र नभई, परम्परागत विरासत र वैकल्पिक राजनीतिक शक्तिहरुबीचको प्रत्यक्ष टकरावले चुनावी कार्यक्रमहरु नै आक्रमक हुने देखिएको छ।
१. झापा-५ : प्रधानमन्त्रीका २ दाबेदारबीचको लडाइँ
राष्ट्रिय राजनीतिको अहिले सबैभन्दा धेरै ध्यान झापा-५ मा छ। यहाँ पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौँको मेयर पद त्यागेर रास्वपाबाट उम्मेदवारी दिएका बालेन्द्र (बालेन) शाहबीच भिडन्त हुँदैछ।
यो भिडन्तले मतदाता निक्कै अलमलमा देखिएका छन्। उम्मेदवारी दर्ता गर्नको लागि गएको बेलादेखि नै अब पासा कता पल्टिने भन्नेमा मतदाता अलमलमा देखिन्छन्।
यो क्षेत्रबाट ६ पटक निर्वाचित भइसकेका अनुभवी ओली र युवा पुस्तामाझ विद्रोही छवि बनाएका बालेनबीचको यो प्रतिस्पर्धालाई प्रधानमन्त्रीका २ सम्भावित दाबेदारको लडाइँका रूपमा हेरिएको छ।
यही क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीले युवा नेता तथा विद्यार्थीमाझ लोकप्रिय नेता रन्जित तामाङलाई अगाडि सारेको छ। यसले झापा– ५ अहिले देशको निर्वाचनको ‘इपिसेन्टर’ बनेको छ।
त्यसो त झापा–५ मा बालेन उम्मेदवार बन्छन् भन्ने कुरा केही दिनअघिसम्म धेरैलाई हल्लाजस्तो लाग्दै आएको थियो। ओलीको निर्वाचन क्षेत्र भएकाले यहाँको चुनावलाई सधै राष्ट्रिय राजनीतिसँग जोडेर हेरिन्छ । यसपटक बालेन मैदानमा उत्रिएसँगै यो चासो चरम सीमामा पुगेको छ ।
यो क्षेत्र परम्परागत रूपमा एमालेको बलियो किल्ला मानिन्छ। ओलीले २०४८ देखि २०७९ सम्म ६ पटक यही क्षेत्रबाट प्रतिनिधित्व गरिसकेका छन्। २०६४ मा मात्रै उनी तत्कालीन माओवादीका उम्मेदवारसँग पराजित भएका थिए।
२०७९ को निर्वाचनमा ओलीले ५२ हजारभन्दा बढी मत ल्याएर ठूलो मतान्तरसहित जितेका थिए।
त्यही निर्वाचनमा रास्वपा उम्मेदवार तेस्रो भए पनि समानुपातिकतर्फ रास्वपाले एमालेपछि दोस्रो ठूलो मत पाएको थियो ।
२. झापा-२ : सभामुख र उपसभामुखको भिडन्त
झापा-२ ले यसपटक दोस्रो चर्चामा रहेको निर्वाचन क्षेत्र हो। निर्वाचनले यहाँका मतदातालाई अर्को दुर्लभ दृश्य प्रस्तुत गरेको छ।
यहाँ निवर्तमान सभामुख देवराज घिमिरे (एमाले), उपसभामुख इन्दिरा राना (रास्वपा) र कांग्रेस नेतृ सरिता प्रसाईं आमने–सामने छन्।
अर्कोतर्फ, विगतमा एकअर्का विरुद्ध कलम चलाउने राप्रपाका स्वागत नेपाल र उनलाई टिकट दिने राजेन्द्र लिङ्देनको समीकरणले पनि यो क्षेत्रलाई चर्चामा ल्याएको छ।
यहाँ तीन प्रभावशाली महिला नेताहरू (इन्दिरा, सरिता र धर्मशीला चापागाईं) बीचको प्रतिस्पर्धा पनि निकै चाखलाग्दो देखिएको छ।
यस अघि निर्वाचित भएका देवराज घिमिरे आफ्नो संगठन संरचनाको कारण बलियो मानिन्छन् भनेँ सामाजिक क्षेत्रमा काम गरेको कारण इन्दिरा पनि यहाँका मतदाता माझ निक्कै चर्चामा छिन्।
३. मोरङ- ६ : शेखर कोइराला भर्सेस विनोद ढकाल
पारिवारिक बिरासतबाट नेपाली राजनीतिमा छिरेका डा शेखर कोइराला मोरङ-६ बाट उम्मेदवार बनेका छन् ।
कांग्रेसको संस्थापन इतर समूहका कोइराला र एमालेका जुझारु नेता विनोद ढकालबीच मोरङ-६ मा रोचक भिडन्त हुँदैछ।
शेखर कोइराला आफ्नो विरासत जोगाउँदै राष्ट्रिय नेतृत्वको यात्रा तय गर्न चाहन्छन् भने, ढकाल ‘विराटनगरको विकास’ को एजेण्डा लिएर स्थापित शक्तिलाई चुनौती दिइरहेका छन्।
माथिल्लो राजनितीमा मात्रै चर्चा कमाउन चाहने र मतादातामा कहिल्यै नपुग्ने नेता कोईरालालाई खासै यो पटक मतदाताले सकारात्मक लिएको देखिँदैन।
२०७९ सालको निर्वाचनबाट निर्वाचित भएर गएपछि कुनै पनि नागरिकका सवाल सदन र सरकारकामा नराखेको आरोप उनीमाथि लगाईँदै आएको छ। यो निर्वाचन क्षेत्र पनि निक्कै चर्चाको क्षेत्र हो।
४. सुनसरी-३ : गच्छदार र भगवतीको ‘चौथो वार’
सुनसरी-३ मा कांग्रेसका पाका खेलाडी विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीबीच पुनः प्रतिष्पर्धा हुँदैछ।
२०७९ को चुनावमा गच्छदारको अपराजित यात्रालाई ब्रेक लगाएकी भगवती आफ्नो जितलाई निरन्तरता दिने दाउमा छिन् भने, गच्छदार पुरानो विरासत फर्काउने अन्तिम कसरतमा छन्।
गच्छदार राजनीतिका चतुर खेलाडी हुन्। गच्छदारले नातामा पर्ने आफ्नै भतिजा दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदारलाई अन्तिम समयमा रोकेर भगवतीसँगको प्रतिष्पर्धा तय गरेका छन्।
यस अघि गच्छदारले २ पटक चौधरीलाई पराजित गर्दा एकपटक आफैँ पराजित भएका थिए। यो पटक चौधरी र गच्छदारको चौथो भिडन्त हो।
फरवार्ड माइक्रोफाइनान्सको सञ्जालबाट स्थानीयस्तरमा पुग्दै आएकी भगवती भने गच्छदारविरुद्धको जितलाई निरन्तरता दिनुपर्ने कठिन मोडमा पुग्ने छिन्।
सुनसरीका ४ वटा क्षेत्रमध्ये क्षेत्र नम्बर ३ बाहेक सवैमा उम्मेदवार छनोटमा विवाद भोगेको एमालेभित्र भगवती भने सुरक्षित रुपमा प्रतिष्पर्धामा छिन्।
यो क्षेत्रबाट रास्वपाका अशोक चौधरी पनि प्रतिस्पर्धामा छन्। रास्वपाका चौधरी यस अघि समानुपातिकबाट निर्वाचित भएका थिए।
५. मोरङ-२ : रिजाल भर्सेस बगडिया
कांग्रेसका बौद्धिक नेता डा. मीनेन्द्र रिजाल र एमालेका प्रभावशाली स्थानीय नेता दिलीप बगडियाबीचको प्रतिस्पर्धा नीति र विकासको लडाइँ बनेको छ।
अर्थशास्त्रका ज्ञाता रिजाल र स्थानीय तहमा लोकप्रिय छवि बनाएका बगडियाबीचको भिडन्तले मोरङको राजनीतिलाई तताएको छ।
रिजाल २०७० को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका नेता हुन्। क्षेत्र नम्बर २ भित्रै पर्ने रंगेली नगरपालिकामा अलग दुईवटा दलबाट लोकप्रिय मतसहित मेयर जितेका बगडियाको उपस्थितिले चुनावी चर्चा बटुल्ने भएको छ।
बगडिया स्थानीय राजनीतिमा गहिरो पकड भएका नेताका साथै आफ्नो क्षेत्रको विकासका काममा जिउज्यान दिएर काम गर्ने अभियन्ताका रुपमा समेत स्थापित छन्। उनी विकास, पूर्वाधार र रोजगारीका सवाल लिएर चुनावी मैदानमा छन्।
६. मोरङ-५ : शिवकुमार भर्सेस योगेन्द्र
एउटै जातीय क्लष्टर र फरक पृष्ठभूमिका दुई मण्डलहरूबीच मोरङ-५ मा भिडन्त हुँदैछ।
माओवादी पृष्ठभूमिबाट आएका चतुर राजनीतिज्ञ नेकपाका नेता शिवकुमार मण्डल र ‘जीवन विकास समाज’ सामाजिक संस्था मार्फत सामाजिक-आर्थिक पकड जमाएका योगेन्द्र मण्डलबीचको यो लडाइँ निकै कडा हुने देखिन्छ।
यही क्षेत्रमा जनता समाजवादी पार्टीले राजकुमार यादवलाई उठाएको छ। २०७९ सालको निर्वाचनमा शिवकुमारलाई उनी योगेन्द्र स्वतन्त्र उम्मेदवार भएर हराएका थिए।
योगेन्द्रले २१ हजार ८२० मत ल्याउँदा शिवकुमारले १७ हजार ४८६ मत ल्याएका थिए।
यही क्षेत्रबाट नेकपा एमालेले ब्यवसायी तथा युवा नेता मनोज अग्रवाललाई उम्मेदवार बनाएको छ।
अहिलेसम्म कुनै राजनीतिक लाभमा नपुगेका अग्रवाललाई स्थानीय जनताको उम्मेदवारको रुपमा लिइन्छ।
७. मोरङ-३ : शर्मा भर्सेस कार्की
नोबेल मेडिकल कलेजका सञ्चालक एवं कांग्रेस नेता डा. सुनील शर्मा र रास्वपाका प्रखर युवा नेता गणेश कार्कीबीचको भिडन्तले मोरङ-३ मा तरंग ल्याएको छ।
स्वास्थ्य सेवालाई चुनावी हतियार बनाएका शर्मा र सुशासन एवं परिवर्तनको मुद्दा बोकेका कार्कीमध्ये मतदाताले कसलाई रोज्छन् भन्ने चासोको विषय बनेको छ। यो चुनावलाई स्रोत साधनको प्रयोग वा दुरुपयोग र राजनीतिक प्रभावको टकरावका रूपमा हेरिएको छ।
डा. शर्मा नोबेल मेडिकल कलेजका सञ्चालक हुन्। आफ्नो क्षेत्रमा चुनावताका लगातार स्वास्थ्य शिविर सञ्चालन, नोबेल मेडिकल कलेजमार्फत निःशुल्क तथा सहुलियत उपचारको व्यवस्था गर्दै मतदाता फकाउने गरेका छन्।
अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवार भानुभक्त ढकाललाई फराकिलो मतान्तरले पराजित गर्न सफल भएका शर्मा कांग्रेसभित्र उदाएको वैकल्पिक युवा शक्ति निकट रहेका राजनीतिक अभियानमा छन्।
रास्वपाका कार्की पार्टी स्थापनाकालदेखि नै सक्रिय र प्रभावशाली युवा नेताका रूपमा परिचित छन्। सुशासन, पारदर्शिता र पुरानो राजनीतिक अभ्यासको विकल्प खोज्ने स्पष्ट बक्ताको छवि कार्कीमा छ।
यही क्षेत्रबाट नेकपा एमालेका इरान राई उम्मेदवार छन्। राई स्थानीय नागरिकका माझ निक्कै लोकप्रिय छ। विकास निर्माण, सामुदायिक बनमा लामो समयसम्म नेतृत्व गरेको तथा पर्यटन क्षेत्रमा लागेका राईलाई पनि यो पटक दरिलो उम्मेदवारको रुमा हेरिएको छ।
८. मेयर भर्सेस वडाध्यक्ष
सुनसरी-१ मा यसपटक रोचक भिडन्त हुँदैछ । धरानका चर्चित मेयर हर्क साम्पाङले प्रतिनिधि सभामा जाने आकांक्षा देखाइरहँदा, उनकै कार्यशैलीका कडा आलोचक सूर्यबहादुर भट्टराई उनको प्रतिस्पर्धी बनेका छन्।
भट्टराई दुई पटकसम्म वडा अध्यक्षमा निर्वाचित भएका नेता हुन्। माले, एमाले हुँदै नेकपा माओवादीबाट २०७४ र २०७९ सालमा दुई कार्यकाल वडा अध्यक्ष बनेका भट्टराई नेपाली कम्युनिष्ट पार्टीबाट प्रतिस्पर्धा गर्दैछन्।
फेसबुकबाट गतिबिधि गर्ने छवि बनाएका श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ ढुंगा बोक्ने संस्कृतिको विकास गरेको नेताका रुपमा चिनिन्छन् ।
यही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट सुनसरी-१ मा कोसी प्रदेशकी कार्यवाहक अध्यक्ष गोमा तामाङ (सरिन)ले दोस्रोपटक प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दर्ता गरेकी छन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा तामाङ सोही क्षेत्रबाट उम्मेदवार बनेकी थिइन्। उनले उनले १६ हजार ६०६ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेकी थिइन्। उनी एमाले-जसपा नेपाल गठबन्धनका उमेदवार जनता समाजवादी पार्टीका अशोककुमार राईसँग ४५३ मतको अन्तरले पराजित भएकी थिइन्।
Shares

प्रतिक्रिया