कोशी


बालेनको चुनावी शैली :  समूहमा मात्रै भेटघाट, प्रत्येक टोलीलाई १० मिनेटको समय

बालेनको चुनावी शैली :  समूहमा मात्रै भेटघाट, प्रत्येक टोलीलाई १० मिनेटको समय

सुमन सुस्केरा
माघ ७, २०८२ बुधबार १२:४३, विराटनगर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं झापा-५ का उम्मेदवार बालेन शाहको चुनावी गतिविधिमा नयाँ शैली देखिएको छ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनावी मैदानमा उत्रिएका उनले मतदाता भेटघाटमा समूह मात्रै भेट्ने गरि अभियान चलाएका छन्। 

उनले समय ब्यवस्थापनमा विशेष कडाइ र नयाँ शैली अपनाएका छन्। बुधबार बिहानैदेखि उनले दमकमा घरदैलो र भेटघाट शुरु गरेका छन्। बालेनले व्यक्तिगत रूपमा भेट्न चाहनेहरूका लागि समूहमा मात्रै भेट्ने नियम बनाएका हुन्। अत्यधिक भिड र चापलाई मध्यनजर गर्दै उनको सचिवालयले प्रत्येक समूहका लागि बढीमा १० मिनेटको समय मात्र उपलब्ध गराएको छ।

दमकस्थित रास्वपा कार्यकर्ता लक्की सिटौलाको निवासमा बास बसेका बालेनलाई भेट्न बिहानैदेखि मतदाताहरूको ठूलो जमघट लागेको थियो। काठमाडौँ महानगरपालिकाका पूर्व मेयर समेत रहेका उनलाई भेट्न स्थानीयहरू उत्साहित भए पनि बुधबारका भेटघाटहरू केवल परिचयात्मक कार्यक्रममा मात्र सीमित रहेका छन्।

भेटघाटलाई व्यवस्थित बनाउन र धेरैभन्दा धेरै मतदातासँग संक्षिप्त संवाद गर्नका लागि यो समय सीमा र समूहगत प्रणाली लागू गरिएको उनका चुनावी अभियानका प्रतिनिधिले जानकारी दिएका छन्। 

रास्वपा क्षेत्र नम्बर ५ का क्षेत्रीय संयोजक भेषराज भट्टराईले अभियान शुरु भइसकेको जानकारी दिए। बालेनको हालसम्म आगामी चुनावी कार्यक्रमको विस्तृत तालिका सार्वजनिक भइसकेको छैन्।

यद्यपि, झापापछि पूर्वी नेपालको झापा, मोरङ, सुनसरी अनि पहाडी जिल्लाहरू इलाम, पाँचथर र ताप्लेजुङसम्म पुगेर चुनावी अभियान सञ्चालन गर्ने तयारी गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad