कोशी


माइती नेपालको रिपोर्टः १५ वर्षमा मोरङबाट ५६४ बालिका बेपत्ता

माइती नेपालको रिपोर्टः १५ वर्षमा मोरङबाट ५६४ बालिका बेपत्ता

नेपालखबर
पुस १६, २०८२ बुधबार १८:१८, ​विराटनगर

मोरङ जिल्लामा पछिल्लो डेढ दशकको अवधिमा बालिका बेपत्ता हुने दर भयावह देखिएको छ। माइती नेपाल विराटनगरले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०१० देखि २०२५ सम्मको अवधिमा मोरङ जिल्लाबाट कूल ६७१ बालिका बेपत्ता भएका छन्।

तीमध्ये हालसम्म १०७ जना मात्र फेला परेका छन् भने ५६४ बालिकाको अवस्था अझै अज्ञात रहेको छ

माइती नेपाल मोरङका संयोजक विनोद पोखरेलले जानकारी दिए। मानव बेचबिखन तथा ओसारपसार विरुद्ध माइती नेपालले गरेको कार्यबारे आज पत्रकारहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रममा यो तथ्याङ्क प्रस्तुत गरिएको थियो।

सन् २०२५ मा मात्रै मोरङबाट ४७ बालिका बेपत्ता भएकोमा १३ जना फेला परेका छन्, जुन संख्या पछिल्लो ९ वर्षयताकै उच्च हो। माइती नेपाल विराटनगरका संयोजक पोखरेलका अनुसार यसअघि सन् २०१६ मा सबैभन्दा धेरै ७० जना बालिका बेपत्ता भएका थिए भने सन् २०२२ मा सबैभन्दा कम एक जना बालिका हराएका थिए।

१५ वर्षको यस अवधिमा सीमानाकाबाट १ हजार ६५४ जनाको उद्धार गरिएको छ भने जबरजस्ती करणीका ५३ निवेदन र मानव बेचबिखनका १५ वटा मुद्दा दर्ता भएका छन्। यद्यपि, पछिल्लो ५ वर्षदेखि माइती नेपालबाट हुने मानव बेचबिखनको मुद्दा दर्ता प्रक्रिया भने शून्य अवस्थामा रहेको पाइएको छ।

​सन् २०२५ मा मात्रै रानी जोगवनी सीमा नाकाबाट मोरङसहित १९ जिल्लाका १०८ जनाको उद्धार गरी परिवारको जिम्मा लगाइएको छ। संयोजक पोखरेलका अनुसार उद्धार गरिएकामध्ये ७६ जना १८ वर्षभन्दा माथिका र ३२ जना १८ वर्षमुनिका रहेका छन्।

उद्धार हुनेहरूमा मोरङ, सुनसरी, झापादेखि अर्घखाँची र नुवाकोटसम्मका नागरिक रहेका छन्। पछिल्लो एक वर्षमा भारतबाट २ बालिकाको उद्धार गरिएको छ भने घरेलु हिंसाबाट पीडित ५४ जनालाई सहयोग पुर्‍याइएको मनोपरामर्शकर्ता गीताञ्जली शर्माले जानकारी दिए।

जोखिमपूर्ण यात्रामा निस्कनुका कारणहरू खोतल्दै शर्माले सन् २०२५ मा उद्धार गरिएका १०८ जनामध्ये कामको खोजीमा ४१, प्रेम विवाहको प्रलोभनमा २१, र साथीभाइको लहैलहैमा लागेर १९ जना भारत जान लागेको बताए।

त्यस्तै, सामाजिक सञ्जालको प्रलोभनमा ११, पारिवारिक कलहका कारण ९ र नेटवर्किङ व्यापारको पासोमा परेर ६ जना सीमा काट्न लागेको अवस्थामा भेटिएका थिए। माइती नेपालले मानव बेचबिखन नियन्त्रणका लागि जहदा, ग्रामथान र विराटनगरका विभिन्न वडाहरूमा स्थानीय तहका समिति तथा सञ्जाल समूह गठन गरी सक्रियता बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad