झापाको भद्रपुरमा दुई नाबालिकालाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका वडा नम्बर ५ बस्ने २१ वर्षीय अक्षय सापकोटा र वडा नम्बर ३ बस्ने २३ वर्षीय विवेक राई रहेका छन्।
प्रहरीका अनुसार, साङ्केतिक नाम ब–१ (१५ वर्ष) र भ–१ (१३ वर्ष) गत मंसिर २७ गते घरबाट हिँडेका थिए। परिवारले खोजी गर्ने क्रममा मंसिर २९ गते उनीहरू फेला परेका थिए।
फेला परेका नाबालिकाहरूले आफन्तसँगको सोधपुछका क्रममा मंसिर २८ गते भद्रपुर बजारमा मेला घुम्न गएका बेला सापकोटा र राईले ललाई फलाई गरी अक्षय सापकोटाको घरमा पुर्याएको बताएको प्रहरीले जनाएको छ।
सोही दिन राति उनीहरूलाई छुट्टाछुट्टै कोठामा राखी जबरजस्ती करणी गरिएको पीडितहरूले जाहेरीमा उल्लेख गरेका जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक सुमन बानियाँले जानकारी दिए।
उनका अनुसार, पीडित पक्षको उजुरीका आधारमा प्रहरीले तत्काल उनीहरूलाई नियन्त्रणमा लिएको हो। साङ्केतिक नाम ब–१ लाई करणी गरेको आरोपमा विवेक राईलाई पुस १ गते पक्राउ गरिएको हो। त्यस्तै साङ्केतिक नाम भ–१ लाई करणी गरेको आरोपमा अक्षय सापकोटालाई पुस २ गते पक्राउ गरिएको हो।
पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी जबरजस्ती करणी सम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। मुलुकी अपराध संहिता अनुसार १८ वर्ष मुनिका बालबालिकासँग सहमतिमै गरिएको शारीरिक सम्पर्कलाई पनि जबरजस्ती करणी मानिने प्रावधान रहेको छ।
Shares

प्रतिक्रिया