कोशी


एमाले महाधिवेशनः कोसीका मुख्यमन्त्री पदाधिकारीमा, मन्त्री-सांसदहरू केन्द्रीय सदस्यमा भिड्दै

एमाले महाधिवेशनः कोसीका मुख्यमन्त्री पदाधिकारीमा, मन्त्री-सांसदहरू केन्द्रीय सदस्यमा भिड्दै

सुमन सुस्केरा
मंसिर २६, २०८२ शुक्रबार २१:३५, विराटनगर

नेपाल एमालेको एघारौँ केन्द्रीय महाधिवेशन शनिबारदेखि काठमाडौँमा सुरु हुँदैछ। महाधिवेशनमा योपटक यसअघि नउठेका अनुहारहरू केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा देखिएका छन्। प्रदेशका मन्त्री र सांसदहरूको लर्को केन्द्रीय सदस्य र पदाधिकारी हुनेमा देखिएको छ।

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की केन्द्रीय पदाधिकारीमा लड्ने तयारीमा छन्। मुख्यमन्त्री कार्कीले नेपालखबरसँग कुरा गर्दै भनेका छन्, ‘एघारौँ महाधिवेशनमा म केन्द्रीय सचिवको दाबीसहित प्रतिस्पर्धामा अघि बढेको छु।’

पार्टी कमिटी पुनर्गठन प्रक्रियालाई लिएर कोसी प्रदेशका मन्त्री र सांसदहरूको सक्रियता यतिबेला चर्चामा छ। एमालेबाट कोसी प्रदेश सरकारमा जिम्मेवारी सम्हालेका सबै मन्त्रीसहित प्रदेश सांसदहरू समेत केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्न राजधानी काठमाडौं पुगेका छन्।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्की र सामाजिक विकास मन्त्री पाँचकर्ण राई (पीके राई)ले पहिलोपटक केन्द्रीय सदस्यमा आफ्नो दाबी प्रस्तुत गरेका छन्। आफूलाई महाधिवेशनबाट केन्द्रीय नेतृत्वमा स्थापित गर्ने उनीहरूले बताएका छन्। 

लामो समय एमाले सुनसरीको नेतृत्व सम्हालेका भण्डारी जिल्ला कमिटीमा सदस्य, उपसचिव, सचिव हुँदै दुई कार्यकाल जिल्ला अध्यक्ष बनेका थिए। संविधानसभा सदस्यसमेत रहिसकेका उनले औपचारिक रूपमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन्।

यसैगरी, संविधानसभा सदस्य तथा खोटाङबाट निर्वाचित प्रदेश सांसद पाँचकर्ण राईले पनि केन्द्रीय सदस्यका लागि दाबी गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राज्यमन्त्री रहेकी सिर्जना राईले पनि उम्मेदवारी दिन लागेको जानकारी दिएकी छन्।

राज्यमन्त्री राई महिला संघ कोसी प्रदेशको अध्यक्ष हुन्। यसअघि केन्द्रीय सदस्य रहेका राम राना पुन दोहोर्‍याउने दाउमा छन्। पूर्वराज्यमन्त्री अम्बिरबाबु गुरुङ पनि ओखलढुंगाबाट केन्द्रीय सदस्यको आकांक्षा लिएर काठमाडौं पुगेका छन्। 

केन्द्रीय सदस्यको दौडमा सांसद
मन्त्रीहरू मात्र होइन, कोसी प्रदेशका धेरै प्रदेश सांसदहरू यसपटक केन्द्रीय कमिटीमा प्रवेश गर्नका लागि प्रतिस्पर्धामा छन्। मुख्यमन्त्री र मन्त्री मात्र होइन एमाले कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक पनि केन्द्रीय सदस्यको दौडमा छन्। 

संखुवासभा १(२) बाट निर्वाचित संसदीय दलका प्रमुख सचेतक विदुर लिङ्थेप काठमाडौंमा केन्द्रीय सदस्य बन्नका लागि लबिङ छलफल र भेटघाटमा छन्। हुने यसपटक केन्द्रीय सदस्यका लागि आफूले दाबी प्रस्तुत गरेको र अर्कोपटकदेखि कुनै पनि पदमा नउठ्ने बताउँछन्। मादी नगरपालिकाका पूर्वमेयर लिङ्थेप विद्यार्थी राजनीतिबाटै चर्चित नेता मानिन्छन्।

झापाका प्रदेश सांसद चिन्तन पाठकले पनि केन्द्रीय सदस्यका लागि पहिलोपटक उम्मेदवारी घोषणा गरेका छन्। उनी यसअघि झापा जिल्ला कमिटीको अध्यक्षसमेत भइसकेका छन्। पाठक कोसी प्रदेश कमिटीको सचिवको भूमिका समेत निभाइसकेका व्यक्ति हुन्। झापाकै अर्का सांसद होमबहादुर थापा पनि केन्द्रीय सदस्यका लागि दौडमा छन्।  

झापा ५ (२) बाट निर्वाचित प्रदेश सांसद थापा कोसी प्रदेश सभामा प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिका सभापति हुन्। उनी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रका सांसद हुन्। ओलीका विश्वास पात्रको रूपमा समेत उनलाई लिइन्छ।

सोलुखुम्बुबाट २०७४ र २०७९ मा लगातार प्रदेश सभा सदस्य जितेका बुद्धिकुमार राजभण्डारी पनि यसपटक केन्द्रीय सदस्यका आकांक्षी बनेका छन्। सामाजिक विकास मन्त्रीसमेत भइसकेका राजभण्डारी प्रदेश संसदीय दल कोशीका पहिलो कार्यकालका प्रमुख सचेतकसमेत हुन्।

कोशी प्रदेशका मन्त्री, प्रमुख सचेतक र सांसदहरू एकपछि अर्को गर्दै केन्द्रीय कमिटीमा प्रतिस्पर्धामा उत्रिएसँगै एमालेको आन्तरिक निर्वाचन कोशी केन्द्रित हुँदै गएको देखिएको छ। 

वर्तमान मुख्यमन्त्री मन्त्री र सांसदहरू मात्र होइन पूर्व मुख्यमन्त्री मन्त्री र सांसद तथा नेताहरूको पनि आकांक्षा उच्च देखिएको छ। प्रतिस्पर्धामा संस्थापक मुख्यमन्त्री शेरधन राई, वर्तमान मुख्यमन्त्री हिक्मत कुमार कार्की, तत्कालीन सामाजिक विकासमन्त्री जीवन घिमिरेले केन्द्रीय सचिवमा दाबी गरेका छन्।

त्यस्तै एमाले सल्लाहकार परिषद् सदस्य विनोद ढकालले समेत केन्द्रीय सचिवमा आफ्नो दाबी रहेको र चुनावी प्रतिस्पर्धामा जाने बताउँदै आएका छन्। ढकाल एमालेको केन्द्रीय सदस्य तथा मोरङ जिल्लाको अध्यक्ष भइसकेका व्यक्ति हुन्।

उनले कोसी प्रदेशको अधिवेशनमा केन्द्रीय सदस्यबाट राजीनामा दिएर प्रदेश अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए। उनी झिनो मतले मात्र पराजित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad