कोशी


कोसीबाट एमाले सचिवको दौडमा शेरधन र हिक्मत, टोली मिलाउन ओलीलाई सकस

कोसीबाट एमाले सचिवको दौडमा शेरधन र हिक्मत, टोली मिलाउन ओलीलाई सकस

एमाले नेताहरु शेरधन राई (बायाँ) र हिक्मत कार्की


सुमन सुस्केरा
मंसिर २५, २०८२ बिहिबार १३:५६, विराटनगर

उनीहरु दुवैजना कोशी प्रदेशको मुख्यमन्त्री भइसकेका व्यक्ति हुन्। अझ एक जना त अहिले पनि मुख्यमन्त्री छन्। दुवै एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली निकट छन्। पछिल्लो समय उनीहरूबीच अर्को पनि समानता देखिएको छ- आगामी महाधिवेशनमा दुवै जना एउटै पद अर्थात सचिव पदका आकांक्षी हुन्।

हो, उनीहरू कोशी प्रदेशका एमाले नेता शेरधन राई र हिक्मतकुमार कार्की हुन्।

नेकपा एमालेको ११ औँ अधिवेशन मंसिर २७ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ। ३ दिनसम्म चल्ने भनिएको महाधिवेशनको लागि अहिले  उम्मेदवारका आकांक्षीहरूले आफ्नो इच्छाएको पदबारे बताइरहेका छन्। 

अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलकाबीचमा प्रतिस्पर्धा हुने लगभग निश्चित छ। अध्यक्ष बाहेकको पदाधिकारीहरूमा प्यानल बनाउन भित्री कसरतहरू भइरहेछन्।

यस्तोमा कोसी प्रदेशका दुई नेताहरू हिक्मतकुमार कार्की र शेरधन राई कता कुन समूहमा समेटिएलान् भन्ने चासो एमाले नेता, कार्यकर्तामा देखिन्छ। ओली समूहका विश्वास पात्रको रूपमा हेरिएका राई र कार्की सचिवको लागि प्रतिस्पर्धा उत्रने तयारी गरिरहेका छन्। 

पार्टीको आसन्न महाधिवेशनलाई लक्षित गर्दै नेतृत्व चयन प्रक्रियामा राई र कार्कीबीच ‘आन्तरिक भिडन्त’ हुने भन्ने चर्चा अहिले सतहमा देखिएको छ। एमालेको अहिलेको विधानमा ७ जना सचिव रहने व्यवस्था रहेको छ। त्यसका लागि ओली र पोखरेल दुवै समूहबाट २४ जनाभन्दा बढी आकांक्षी देखिएका छन्।

ती मध्ये ओली निकट मानिने यी दुई नेता पनि हुन्।

कोसी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका राई सचिवको उम्मेदवारीबारे बाहिर प्रचार भएजस्तो भिडन्त नभएको बताउँछन्। ‘हाम्रो भिडन्त त हुँदैन,’ उनी भन्छन्, ‘नेतृत्वले जसलाई सचिव बनाउँछ, अर्को स्वतः ब्याक हुन्छ। भिड्ने खालको वातावरण हाम्रोमा हुँदैन।’

आफू लामो समयदेखि पार्टी संरचनामा माथिल्लो तहमा रहेका कारण कार्यकर्ताले पनि आफूलाई सचिव पदमा योग्य उम्मेदवारका रूपमा हेरेको राईको दाबी छ।

२०५६ सालदेखि सांसद, मन्त्री हुँदै कोसी प्रदेशको पहिलो मुख्यमन्त्रीसम्मको भूमिकाले आफूलाई स्वाभाविक रूपमा वरिष्ठ बनाएको उनको दाबी छ। ‘म भूगोलबाट आएको मान्छे, चार कार्यकाल जिल्ला प्रमुख, वैकल्पिक सदस्यदेखि स्थायी समिति सदस्यसम्म भएको तथा अखिलपछि पार्टी सम्हालेर यहाँसम्म आएको हुँ,’ राई भन्छन्। सहमति नभएमा निर्वाचनबाट टुङ्गिने कुरा सामान्य प्रक्रिया भएको उनको भनाइ छ। उनले भने, ‘सकेसम्म पदाधिकारीहरू सहमतिबाट चयन गर्ने हो। नभए चुनाव त विधानमै व्यवस्था भएको प्रक्रिया हो।’

शेरधन राईले आफू सचिव पदको बलियो दाबेदार रहेको बताई रहँदा उता कार्की पनि आफू सबैभन्दा बलियो उम्मेदवार रहेको दाबी प्रस्तुत गर्छन्। 

आसन्न महाधिवेशनमा सचिव पदका लागि आफू उठ्ने कुरा पक्का भएको कार्कीले नेपालखबरलाई बताए। यद्यपि उननले पदाधिकारी चयन प्रणालीमा आधारित हुने भएकाले व्यक्ति गौण हुने बताए। ‘उम्मेदवार बनाउँदा टिमको आधारमा अघि बढ्ने भएकोले व्यक्तिमा जोडेर हेर्नु पर्दैन,’ कार्की भन्छन्।

२०३६ सालको विद्यार्थी आन्दोलनदेखि निरन्तर राजनीतिमा लागेको, २०५५ सालमा अखिल केन्द्रीय अध्यक्षको जिम्मेवारी निर्वाह गरी पार्टी र संगठनलाई बलियो बनाएको,  २०७१-२०७३ सालसम्म मेची अञ्चल समन्वय कमिटीको इन्चार्ज भएको, निरन्तर केन्द्रीय सदस्य तथा स्थायी समिति सदस्यमा रहेको कारण आफू पनि सिनियर नै रहेको कार्कीको भनाइ छ। 

अहिले मुख्यमन्त्री रहेका कार्की कोसी प्रदेशमा लगानी सम्मेलन गरेको, कोसी पर्यटन वर्ष, प्रदेश सरकारको मन्त्रालय घटाएर सकारात्मक सन्देश दिने काम गरेको भन्दै सचिवमा दाबेदारी गरिरहेका छन्। 

यद्यपि, उनले पनि आफूहरु दुई जनाबीच प्रतिस्पर्धा नरहेको बताए। ‘हामी एउटै टिम हो, व्यक्तिमा जोडेर जानु हुँदैन,’ कार्की भन्छन्, ‘हामी आफ्नो-आफ्नो ठाउँमा उम्मेदवार हुने र हामी दुवै जनाले जित्ने हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad