इटहरी उपमहानगरपालिकाले करदाताहरूलाई थप प्रोत्साहन दिने उद्देश्यले स्थानीय करमा अधिकतम २० प्रतिशतसम्म छुट उपलब्ध गराउने निर्णय गरेको छ।
उपमहानगरको आर्थिक ऐन २०८२ अनुसार, कर तिर्ने नागरिकलाई सहज र प्रोत्साहनयुक्त वातावरण बनाउने लक्ष्यसहित छुट तथा जरिवाना मिनाह सुविधा दिन लागेको हो।
उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर भट्टराईका अनुसार, समयमै कर बुझाउने करदाताहरूलाई यो वर्ष विशेष छुट लागू हुनेछ। विभिन्न स्थानीय कर शीर्षकमा छुटको दायरा बढाइएपछि उपमहानगरका करदाताहरूलाई प्रत्यक्ष आर्थिक राहत मिल्ने अपेक्षा गरिएको छ।
यसअघिको सूचना अनुसार पुस मसान्तभित्र कर बुझाउँदा १० प्रतिशत छुट व्यवस्था गरिएको थियो। तर करदाताको सुझाव, कर असुलीको अवस्था, करदाता कर तिर्न नआएपछि र नगरका महत्वपूर्ण आयोजना सञ्चालनका आवश्यकता मूल्यांकन गरेर उपमहानगरले छुटको दर २० प्रतिशतसम्म बढाउने तयारी गरेको उपमहानगरले जनाएको छ।
छुट सुविधा मुख्य रूपमा सम्पत्ति तथा भूमि कर, व्यवसाय कर र बहाल करमा लागू हुने भनिएको छ। साथै अघिल्ला वर्षका बाँकी करमा लाग्ने ब्याज, दण्ड र जरिवाना मिनाहा गर्ने नीति निरन्तर जारी रहनेछ। लामो समयदेखि बन्द भए–नभएका व्यवसाय नवीकरण तथा कर समायोजन गर्न सहज बनाउन व्यवसाय करमा छुटको दायरा अझ बढाइने तयारी पनि गरिएको उपमहानगरले जनाएको छ।
उपमहानगरले नगरवासीलाई समयमै कर बुझाएर छुट सुविधा लिन आग्रह गर्दै कर प्रणालीलाई नागरिकमैत्री, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता दोहोर्याएको छ।
इटहरी उपमहानगरले कर प्रशासनलाई सरल र डिजिटल बनाउँदै करदातासँगको दूरी अझ घटाउने योजना पनि सार्वजनिक गरेको छ।

प्रतिक्रिया