'नागरिक बचाउ दल'का नेता दुर्गा प्रसाईं भेट्न बिहीबार साँझ काठमाडौँ जिल्ला प्रहरी परिसर पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर राणा नेतृत्वको टोली त्यसै फर्किएको छ।
राप्रपाका महामन्त्रीद्वय राणा र कुन्ती कुमारी शाहीसहितको टोलीले काठमाडौँ जिल्ला प्रहरी परिसरको हिरासतमा रहेका प्रसाईंलाई भेट्न खोज्दा प्रहरीले रोकेको हो।
बिहीबार साँझ करिब ५ बजे काठमाडौँ जिल्ला प्रहरी परिसर पुगेको राप्रपा टोलीमा सहभागी नेता सगुन सुन्दर लावतीले आफूहरूलाई दुर्गा प्रसाईंसँग भेट्न नदिइएको बताए।
‘दुर्गा प्रसाईं भेट्न भनेर महामन्त्रीद्वयसहित आज साँझ हामी १०/१२ जना प्रहरी परिसर पुगेका थियौँ तर प्रहरीले भेट्न मिल्दैन भनेर फर्काइदियो’, लावतीले नेपालखबरसँग भने।
आफूहरूसँग मुद्दा मिल्ने भएकाले प्रसाईंलाई भेट्न गएको उनले बताए। तर प्रहरीले रोकेका कारण त्यसै फर्कनुपरेको गुनासो उनले गरे।
‘परिवारका सदस्य र बहसमा सहभागी वकिलबाहेक अरूले भेट्न पाउने नीति छैन भनेर प्रहरीले फर्काइदियो’, उनले भने।
सार्वजनिक शान्तिमा खलल पुर्याएको आरोपमा प्रसाईंलाई प्रहरीले सोमबार राति पक्राउ गरी हिरासतमा राखेको हो।
Shares

प्रतिक्रिया